सुदूरपश्चिमको बजेट पारित- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिमको बजेट पारित

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सोमबार बहुमतबाट पारित भएको छ ।

सुदूरपश्चिम प्रदेशसभा बैठक । फाइल तस्बिर

सभामुख अर्जुनबहादुर थापाले आगामी आर्थिक वर्ष ०७८/७९ राजस्व र व्ययको वार्षिक अनुमान बजेट र उक्त बजेटसँग सम्बन्धित अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको ओली समूहले असहमति जनाएका थिए ।

बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको विषयगत मन्त्री र एकमुष्ट रूपमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले जवाफ दिएका थिए । बजेट तथा योजना विनियोजनमा बिचौलियाको चलखेल भएको र सेटिङ गरिएको भन्ने आरोपप्रति मन्त्री शाहले असहमति जनाए । ‘बजेटमा बिचौलियाको चलखेल भएको भन्ने आरोपमा मेरो गम्भीर असहमति छ,’ मन्त्री शाहले भने, ‘कसैले स–प्रमाण ल्याएमा त्यस्ता कार्यक्रम र योजना रोक्का र खारेज गर्न म प्रतिबद्ध छु ।’

उनले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजना तत्काल सच्याइने बताए । साथै उनले बजेट कार्यान्वयनप्रति शंका नगर्न पनि अनुरोध गरे । उनले भने, ‘योजनाहरूको कार्यान्वयन र उपलब्धिहरूको लेखाजोखा गर्न तेस्रो पक्षीय अनुगमन संरचना निर्माण गर्छौं ।’

आगामी आर्थिक वर्षको कुल बजेट ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको छ । पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार (५८ दशमलव २ प्रतिशत) र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार (३५ दशमलव १ चालु) विनियोजित छ ।

प्रकाशित : असार १४, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्‍चिम प्रदेश सभामा मन्त्री खड्काको ब्रिफिङ- ‘प्रदेशले खोप किन्‍न पाइन्‍न भन्यो’

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना विरुद्धको खोप किन्ने प्रदेश सरकारको योजनालाई संघ सरकारले कार्यान्वयन गर्न नमिल्ने बताएको जानकारी गराएका छन् ।

‘संघ सरकारबाहेक अन्य सरकारहरले प्रत्यक्ष खोप किन्न सक्ने प्रावधान रहेन छ,’आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले भने, ‘संघ सरकारका स्वास्थ्यमन्त्री र सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरुको जुम बैठकमा स्वास्थ्यमन्त्रीले संघ सरकार आफै खोप किन्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।’

संघ सरकारका मन्त्रीले असोजभित्र ४० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको मन्त्री खड्काले प्रदेश सभामा जानकारी गराए । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीविरुद्धको खोप खरिदलगायतका कार्यका लागि ९० करोड विनियोजन गरेको बताए ।

सुदूरपश्चिम प्रदेशसभा बोल्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्का ।


प्रकाशित : असार १३, २०७८ १८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×