कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बजेट आकर्षक नारा मात्रै’

‘हरेक वर्ष बजेट आउँछ, कति प्रयोग हुन्छ र कति फ्रिज हुन्छ लेखाजोखा हुन जरूरी छ’

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार पेस गरेको आगामी आर्थिक वर्षको बजेट आकर्षणयुक्त नारा र फुलबुट्टामात्रै भरेर ल्याइएको अर्थविद् तथा आर्थिक क्षेत्रका सरोकारवालाले प्रतिक्रिया दिएका छन् । बजेट वितरणमुखी, उपलब्धि नदेखिने, कनिका छरेको जस्तो योजनामा रकम मात्रै वितरण भएको र कार्यान्वयनमा समस्या हुने उनीहरूले बताए ।

‘बजेट आकर्षक नारा मात्रै’

अध्ययनबिनाका हचुवा योजनालाई नै निरन्तरता दिइएको, विगतमा प्रभावकारी नभएका योजना जस्तो ‘हेलो सीएम’ लगायत बजेटमा समावेश रहेको आर्थिक क्षेत्रका सरोकार पक्षले बताएका छन् । अर्थविद् शिवहरि मुडभरीले बजेटमा नयाँपन केही दिएजस्तो गरेको भए पनि बजेट प्रतिफल नदिने पुरानै ढर्राको भएको बताए । ‘युवाको जवानी प्रदेशको लगानी’ जस्ता आकर्षक नाराका बुट्टा भरेर ल्याएको बजेट सुन्दा राम्रो लाग्छ,’ उनले भने, ‘तर बजेट उत्पादकत्व बढाउन सकिने खालको छैन ।’ उनले विनियोजित रकम बालुवामा पानी खनाएजस्तै रहेको बताए ।

मुडभरीले कनिका छरेरको जस्तो गरी ल्याउने बजेट रकमको दुरुपयोग मात्रै हुने बताए । ‘विकास तथा पूर्वाधारमा गरिएको बजेट विनियोजनको धरातल पनि छैन,’ उनले भने, ‘जस्तो कृषि विकासमा पर्याप्त बजेट विनियोजित गरेको छु भन्दैमा हुँदैन । परम्परागत बालीनालीबाट विकास हुँदैन । कृषिबाट उत्पादित कच्चा पदार्थ खपत गर्ने उद्योगको स्थापना हुनुपर्‍यो । त्यसमा बजेट आउनुपर्‍यो र उद्योग स्थापना हुनुपर्‍यो ।’ उनले सासंद विकास बजेटलाई हटाएको भए त्यो रकमले एक ठूलो उद्योग सञ्चालमा ल्याउन सकिन्थ्यो भने । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले यो बजेट पनि विगतका तीनवटा बजेटकै निरन्तरता मात्रै भएको बताए ।

‘प्रदेश सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रका लागि निराशाजनक छ,’ उनले भने, ‘हामीले जुन रायसल्लाह दिएका थियौं ती कुरा समेटिएका छैनन् ।’ उनका अनुसार कोभिडको महामारीका कारण उद्यमी व्यवसायीले भोग्नुपरेको समस्यालाई मध्यनजर गरेर प्रदेश सरकारले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहित गर्न करमा छुट, सहुलियत कर्जा, पुनर्कर्जा , उद्यमशीलता गर्न चाहिने युवा वर्गलाई बिनाधितो कर्जा, दिन सक्नुपर्दथ्यो । ‘तर बजेटमा यो समेटिएको छैन,’ उनले भने । उनले पर्यटन कृिष र ऊर्जाका क्षेत्रमा छुट्ट्याएको बजेट पनि सरकारले कार्यान्यवन तिर लैजान सकेमा राम्रै हुने बताए ।

वृहस्पति रिसर्च एन्ड ट्रेनिड.सेन्टरका अध्यक्ष तथा सुदूरपश्चिम विकासका अध्ययनकर्ता वीरेन्द्र बमले विकासका दृष्टिकोणबाट छैटौं नम्बरमा रहेको यो प्रदेशमा गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र पूर्वाधार विकास केन्द्रित बजेट नै जरुरी भएको बताए । ‘हरेक वर्ष बजेट आउँछ, कति प्रयोग हुन्छ र कति फ्रिज हुन्छ लेखाजोखा हुन जरुरी छ,’ उनले भने ।

धनगढी–५ का उद्योग व्यवसायी सिद्धराज भट्टले औद्योगिक क्षेत्रको स्थापना बजेटमा परेको भए पनि समग्र उद्योग व्यवसायलाई प्रोत्साहित हुने बजेट नआएको बताए । धनगढी –४ का शिक्षक रतन चौधरीले यो सरकारले ल्याएको विगतका बजेट पनि सुन्दा राम्रा थिए तर कार्यान्वयन हुन नसकेको उल्लेख गरे । ‘विगतका तीनवटै बजेटमा परेको प्रदेश बस सेवा, सुपथ मूल्य पसल सञ्चालन, औद्योगिक ग्राम, किसान कल सेन्टर, जडीबुटी प्रशोधन केन्द्र, प्रदेश खाद्य डिपो, प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदानलगायत महत्त्वाकांक्षी थुप्रै योजना तथा कार्यक्रम कति कार्यान्वयनमा आएका छन र ?’ उनले भने, ‘बजेट राम्रो बनाउन राम्रा नारा समेट्नु र महत्त्वाकांक्षी योजना हाल्नु ठूलो होइन कार्यान्वयन ठूलो हो ।’ गैरसरकारी संस्थाका केन्द्रीय महासचिव धर्मराज पाठकले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार जनशक्ति व्यवस्थापन, सामग्री, औजार र जनशक्तिको क्षमता विकासमा बजेट आकर्षित भएर कार्यान्वयनमा जान सकेमा राम्रो मानिने बताए ।

प्रकाशित : असार ३, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?