१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

‘छाक कसरी टार्ने ?’

मोहन बुढाऐर

धनगढी — धनगढीको पुरानो एयरपोर्टस्थित शिविरमा बस्दै आएका मुक्त कमैया परशु चौधरीलाई रोगको भन्दा भोकको चिन्ता छ । धनगढी बजारमा अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका उनलाई निषेधाज्ञा थेगिनसक्नुभएको छ । 

कैलालीमा वैशाख १६ देखि निषेधाज्ञा सुरु भएको हो । ‘अटोरिक्सा चलाएर साँझबिहानको छाक टर्थ्यो,’ उनले भने, ‘लकडाउन अझै थपिँदै गए त भोकले मरिन्छ ।’

उनले यो अवधिमा बचत गरेको रकम सकेर सापट माग्नुपरेको बताए । ‘लकडाउनमा घरमा बसीबसी खानु मात्रै पर्‍यो,’ उनले भने, ‘आपत्विपत्का लागि जोहो गरेर राखेको १५/२० हजार पनि सकियो । असारसम्म यस्तै रहे हामी मजदुरी गर्ने परिवार त भोकै मर्छ ।’ उनले जीवन धान्न सजिलो होस् भनेर किनेको अटोरिक्साको ऋण पनि तिर्न नपाएको बताए ।

एयरपोर्टकै शिविरका बिसनलाल चौधरीले गरिबका लागि रोगभन्दा भोकले बढी पिरोल्ने गरेको बताए । ‘कोरोना महामारीको डर दिन मजदुरी गर्नेलाई नलाग्ने होइन,’ उनले भने, ‘तर एक दिन पनि काम नपाए, साँझ के खाने समस्या हुन्छ,’ उनले गरिब मजदुरलाई लकडाउनमा राहतको व्यवस्था मिलाउनुपर्ने बताए ।

‘गत वर्ष कोरोना महामारी सुरु भएपछि करिब अढाई महिनामा लकडाउन खुलेको थियो,’ उनले भने, ‘दैनिक मजदुरी गर्ने गरिबी विपन्न परिवारलाई थोरै भए पनि संस्था र स्थानीय तहले खाद्यान्न दिने काम गरेको थियो । त्यो हाम्रा लागि राहत भयो ।’ यो डेढ महिना पूरा हुँदा पनि कहींकतैबाट राहत उपलब्ध नभएको उनको गुनासो थियो ।

धनगढी उपमहानगरपालिकाले कुहिएको चामल बाडेकोमा विवादित भए पनि विपन्न परिवारलाई अढाई करोडभन्दा बढीको राहत वितरण गरेको थियो । विभिन्न संघसंस्थाबाट पनि स्थानीय तहको माध्यमबाट र सिधै समुदायमा राहतका नाममा चामल दाल नुन तेलका प्याकेट वितरण गर्ने काममा प्रतिस्पर्धा नै भएको थियो । ‘यो लकडाउनमा विपन्न समूहलाई उस्तै समस्या छ,’ शिविरका मुक्त कमैया अगुवा सीतारामले भने, ‘गरिब मजदुर र विपन्न परिवारको चुलो बलेको छ/छैन कसैको ध्यान पुगेको छैन ।’ उनका अनुसार शिविरमा ६८ परिवार मुक्त कमैया दैनिक बजारमा ज्यालादारी मदजुरी गरेर जीविकापार्जन गर्दै आएका छन् । सरकारले उचित ठाउँमा बसोबासको व्यवस्था गराउन नसक्दा आफूहरूले एयरपोर्टको जग्गा कब्जा गरेर बस्नुपरेको उनीहरू बताउँछन् ।

निषेधाज्ञाका कारण मुक्त कमैया मात्रै होइन अन्य विपन्न परिवारमा पनि रोगको भन्दा भोकको समस्या देखिन थालेको छ । धनगढी–५ मा बस्दै आएका धनबहादुर विक बजारमा ठेलामा व्यापार गरेर जीविकापार्जन गर्दै आएका थिए । निषेधाज्ञाले २० हजार रुपैयाँ ऋण लागेको उनले बताए । अधिकांश मजदुर परिवारले निषेधाज्ञा थपिँदै गएमा ज्यालादारी मजदुर सबैको घरमा चुलो बल्न मुस्किल हुने बताउँछन् । उनीहरूले निषेधाज्ञा थप्ने हो भने मजदुरी गर्ने वर्गको समस्यालाई पनि सरकारले बुझ्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश राजधानी धनगढी, सुदूरको प्रमुख सहर र रोजगार गन्तव्य पनि हो । ‘लकडाउनले ती सबैलाई प्रभावित पारेको छ,’ सुदूरको रोजगारीसम्बन्धी अध्ययनकर्ता दीपेन्द्र साउदले भने, ‘महामारी नियन्त्रणका लागि लकडाउन एकमात्र विकल्पका रूपमा लिनु हुँदैन । यसले विपन्न परिवारमा रोगभन्दा भोकको समस्या सिर्जना गर्छ ।’

प्रकाशित : जेष्ठ ३०, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?