कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

निषेधाज्ञामा पनि रोकिएन बलात्कार

चालु आर्थिक वर्षमा जबर्जस्ती करणीका ३२ वटा मुद्दामध्ये निषेधाज्ञाको अवधिमा ४ वटा
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–५ की एक किशोरीलाई सामूहिक बलात्कारको आरोपमा प्रहरीले शुक्रबार स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक जना फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

निषेधाज्ञामा पनि रोकिएन बलात्कार

बिहीबार दिउँसो किशोरीको घरनजिकै रहेको नर्सरीमा लगेर बियर खुवाएर दुवै जनाले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । शारीरिक अपांगता भएकी किशोरीलाई दुवै जनाले ललाइफकाई नर्सरीमा लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए । ‘नर्सरीमा बियर खुवाएर बलात्कार गरेको देखिन्छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

बलात्कार आरोपमा प्रहरीले वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको हो । सोही नगरपालिका–५ का अर्का युवक फरार रहेको प्रहरीले जनाएको छ । फरार युवक पीडित किशोरीका छिमेकी हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो घटना भएपछि साँझमात्रै प्रहरीकहाँ जानकारी आएको थियो ।

वेदकोट नगरपालिकाबाटै प्रहरीले गतसाता ५५ वर्षीय पुरुषलाई छोरी बलात्कारको आरोपमा पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई एक वर्षदेखि नियमित बलात्कार गरिरहेका उनलाई विभिन्न संघसंस्थाको पहलमा पक्राउ गरिएको हो । श्रीमती घरमा नभएका बेला उनले छोरीलाई धम्काएर करणी गर्ने गरेको प्रहरीले जनाएको छ ।

‘एक वर्षदेखि छोरीलाई नियमित बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डीएसपी थापाले भने, ‘बालिका पनि गर्भवती भएकी छन्, उनको पेटमा ७ महिनाको गर्भ छ ।’ उनका अनुसार अहिले बालिकालाई शान्ति पुनःस्थापना गृहको सेफ हाउसमा राखिएको छ ।

कोरोना संक्रमणका कारण वैशाख १६ देखि जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । संक्रमण तीव्र गतिमा बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञामा कडाइ गर्दै आएको थियो । यही अवधिमा यौनजन्य हिंसाका घटनासमेत बढेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निषेधाज्ञाकै अवधिमा जिल्लामा जबर्जस्ती करणीका ३ घटना बाहिर आएका छन् । ‘ब्रह्मदेवमा पनि पोल्ट्री फार्ममा काम लगाइदिने भन्दै जबर्जस्ती गरेको आरोपमा एक जना पक्राउ परेका छन्,’ डीएसपी थापाले भने, ‘निषेधाज्ञा सुरु भएको केही दिनमै उनलाई पक्राउ गरिएको हो ।’

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ४९ वर्षीय देवसिंह कार्कीले पोल्ट्री फार्ममा काममा लगाइदिने भन्दै १९ वर्षीयालाई बलात्कार गरेका हुन् । उनी अहिले प्रहरी हिरासतमै छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको र अब छिट्टै अदालतमा पेस गरिने डीएसपी थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको हालसम्म जबर्जस्ती करणीका ३२ मुद्दा दर्ता भएका छन्, जसमध्ये निषेधाज्ञाको डेढ महिनाका ४ वटा मुद्दा छन् । त्यस्तै, चालु आवमा दर्ता भएका जबर्जस्ती करणी उद्योगका १२ मुद्दामध्ये एउटा मुद्दा दर्ता निषेधाज्ञाको समयमा भएको डीएसपी थापाले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×