कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा प्री–बजेट प्रस्तुत

बजेट स्वास्थ्य संकटको सामना र गुणात्मक र सन्तुलित विकासमा बजेट केन्द्रित हुने

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ को पूर्वबजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्षको पूर्वबजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गरेका हुन् ।

सुदूरपश्चिममा प्री–बजेट प्रस्तुत

सरकारले एक सातापछि ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा राखिने बताएको छ । मन्त्री शाहले राज्यका दायित्वहरू पूरा गर्न आगामी वर्षको बजेट केन्द्रित हुने बताएका छन् ।

‘स्वास्थ्य संकटको सामना र गुणात्मक र सन्तुलित विकासमा बजेट केन्द्रित हुनेछ,’ मन्त्री शाहले पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै भने, ‘कृषि, शिक्षा, पूर्वाधार विकास, सामाजिक सशक्तीकरण र सामाजिक न्याय स्थापित गर्दै प्रदेश सरकारले अभिभावकीय भूमिका बढाउने योजनाहरूलाई प्राथमिकता दिइनेछ ।’

मन्त्री शाहले आगामी बजेटमा रोजगार गुमाएकाहरूलाई विशेष प्रोत्साहन तथा विशेष क्षेत्र विकासका कार्यक्रमहरू सञ्चालन गरिने बताए । सुदूरपश्चिमलाई लगानीको क्षेत्र विकास गर्ने उनको भनाइ छ । प्रदेश आयोजन बैंकको स्थापना गर्ने मन्त्री शाहले बताए । दुर्गम तथा पछाडि परेका जिल्लाहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गरिने उनको भनाइ छ । ‘भू–उपयोग नीति, सामूहिक खेतीलाई जोड दिइनेछ,’ मन्त्री शाहले भने, ‘सबै जिल्लामा कृषिका विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।’ मन्त्री शाहले पूर्वबजेट प्रस्तुत गर्नुअघि कांग्रेस सांसद भरतबहादुर खड्काले सभामुख समक्ष विशेष समय मागेर बोलेका थिए । त्यस क्रममा उनले विनियोजन विधेयक त्रुटिपूर्ण भएको जिकिर गरे । बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै पूर्वबजेट र नीति तथा कार्यक्रम पेस गर्नुपर्ने नियमलाई सरकारले अध्यादेशद्वारा संशोधन गरेर समयको सीमा हटाएको थियो । सांसद खड्काले भने, ‘संसद् सुरु भएको पहिलो दिन अध्यादेश सदनबाटै स्वीकृत गर्नुपर्ने हो । त्यसो नगरेर विधिहरू मिच्दै लगिएको छ ।’

सोमबार अपराह्न प्रदेशसभाको दोस्रो बैठक सञ्चालन भएको थियो । उक्त बैठकमा पूर्व बजेटमाथिको छलफल गरिएको छ । त्यस क्रममा आफ्नो धारणा राख्दै कांग्रेस सांसद भरतबहादुर खड्काले सरकारले प्रदेश संसद्लाई मनोरञ्जनको थलो बनाउन नहुने बताएका छन् । ‘कोभिडले संकटपूर्ण अवस्था छ, सिटामोल पाउने अवस्था छैन,’ सांसद खड्काले भने ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?