२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

परीक्षण किट अभाव

कोरोनाको मिल्दोजुल्दो लक्षण भएका बिरामीको परीक्षण हुन सकेको छैन
मनोज बडू

दार्चुला — कोरोना संक्रमणको दर बढ्दै जाँदा दार्चुलामा परीक्षण किट अभाव हुन थालेको छ । पीसीआर ल्याब जिल्लामा नहुँदा यहाँ एन्टिजेन किटबाट परीक्षण हुँदै आएको छ । जिल्लामा पछिल्लो समय एन्टिजेन किटको अभाव हुन थालेपछि परीक्षण प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

परीक्षण किट अभाव

सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको ९ सय ५० किटमध्ये एक सयको हाराहारीमा मात्रै मौजाद रहेकोले केही दिन यता परीक्षणको दायरा घटाइएको छ । स्थानीय तहभन्दा सीमा नाकाहरूमा परीक्षणका लागि मात्र किट रहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । प्रदेशबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराएको किट स्थानीय तहलाई समेत वितरण गर्नुपर्ने भएकोले जिल्लामा किट अभाव भएको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्सन वीरेन्द्रराज भट्टका अनुसार परीक्षण किट सकिन लागेको छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन भइहाले पनि परीक्षणका लागि जिल्लाबाहिर पठाउनुपर्ने र रिपोर्ट आउन ढिलो हुने गरेकोले ग्रामीण भेगमा परीक्षणका लागि एन्टिजेन किटको माग बढेको हो । जिल्लाका सबै स्थानीय तहमा संक्रमण फैलिएको अवस्थामा पीसीआर परीक्षण नहुँदा एन्टिजेन परीक्षणको भरमा संक्रमितको पहिचान भइरहेको थियो । एन्टिजेन किट सकिएपछि कोरोनाको मिल्दोजुल्दो लक्षण भएका बिरामीको परीक्षण हुन सकेको छैन । जनस्वास्थ्य अधिकृत भट्टका अनुसार स्थानीय तहहरूलाई पनि प्रदेश सरकारले दिएको आवश्यक किट वितरण गरिसकिएको छ । स्वास्थ्य कार्यालयले प्रदेश सरकारसंग किट माग गरे पनि आउने वा नआउने कुनै निश्चित नभएको बताएको छ ।

स्थानीय सरकारले हालसम्म एन्टिजेन किट खरिद नगरेकाले स्वास्थ्य कार्यालयबाट नै उपलब्ध भइरहेको थियो । अहिले स्वास्थ्य कार्यालय आफैंसँगै किट नहुँदा स्थानीय तहहरूमा किटको अभाव रहेको दुहु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिलीप महराले बताए । उनले भने, ‘गाउँमा कोरोनासित मेल खाने लक्षण भएका बिरामी धेरै छन् । परीक्षणका लागि किट छैन् । अहिलेसम्म स्वास्थ्य कार्यालयले जम्मा २५ किट मात्र उपलब्ध गराएको हो, त्यसमध्ये २२ किट प्रयोग भइसकेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयबाट उपलब्ध भएका किटहरू जिल्लाका विभिन्न स्थानीय तहलाई २५ देखि बढीमा १ सयसम्म वितरण गरिएको हो । प्रदेशबाट आएकामध्ये बाँकी सबै किट जिल्ला अस्पताल, पुलघाट नाकामा गरिएका परीक्षणका लागि प्रयोग गरिएको हो । जिल्ला सदरमुकाम र जिल्ला अस्पतालमा पनि किट अपुग हुँदा परीक्षणबिना नै बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ४३ पुगेको छ । संक्रमितमध्ये ४३ जना कोरोनामुक्त भएका छन् । केही स्थानीय तहहरूले पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरेका छन् । तर, स्वाबको रिपोर्ट ढिला आउने गुनासो स्थानीय तहको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?