कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीको एक मात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि सदूरपश्चिममा अक्सिजनको हाहाकार

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजनको हाहाकार भएको छ । सोमबार राति मालिका अक्सिजन
ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन पनि बन्द भएको छ ।

धनगढीको एक मात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि सदूरपश्चिममा अक्सिजनको हाहाकार

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको उद्योगका सञ्चालक विक्रम शाहले बताए । अत्यधिक तापका कारण प्लान्ट बिग्रिएको उनले बताए । ‘मर्मत गर्नका लागि भारतको दिल्लीबाट सामान र मिस्त्री ल्याएर आउनु पर्ने भयो, केही दिन लाग्ने जस्तो छ ।’

कोरोना संक्रमणका बिरामी बढेसँगै वैशाख सुरुदेखि नै अक्सिजनको संकट खेपिरहेको सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालनमा रहेको एउटा मात्रै उद्योग, त्यै पनि बिग्रिएपछि थप संकटको अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । ‘वैकल्पिक व्यवस्था नहुने हो भने वर्वाद हुन्छ,’ उनले भने, ‘धेरैजसो बिरामीहरु अक्सिजनकै सपोर्टमा बाँचिरहेका छन् ।’

यस उद्योगले दैनिक ४० सिलिण्डर अक्सिजन सेती प्रादेशिक अस्पतालमा आपूर्ति गर्दै आएको थियो । उद्योगले अन्य उत्पादन भने निजी अस्पतालहरुलाई दिँदै आएको थियो । सेतीलाई दैनिक कम्तिमा एक सय ५० सिलिण्डर अक्सिजनको आवश्यकता रहेको डा. पाण्डेले बताए । सेती प्रादेशिक अस्पतालमा रहेको आफ्नै प्लान्टले दैनिक सरदर ५० सिलिण्डर उत्पादन भइरहेको छ । ‘वैशाख पहिलो दिनदेखि अस्पतालको मेसिनसमेत एकछिन पनि रोकिएको छैन, अब कुन दिन हाम्रै मेसिन पनि बिग्रिन्छ, थाहा छैन,’ डा. पाण्डेले भने, ‘हामी निकै अप्ठ्यारोमा छौं ।’

मेडिकल सुपरिटेण्डेन्ट डा. पाण्डेले नेपालगञ्ज क्षेत्रका अक्सिजन उद्योगबाट दैनिक निश्चित परिमाणमा सुदूरपश्चिमले पाउन सकेमात्रै अहिलेको संकट घट्न सकने बताए । ‘प्रशासनिक तहबाट संवाद भएर सुदूरपश्चिमलाई निश्चित सिलिण्डर दैनिक तोकिदियो भने अलि सजिलो हुने थियो,’ उनले भने, ‘यसका लागि सबै क्षेत्रबाट पहलको खाँचो भयो ।’

प्रकाशित : वैशाख २८, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?