कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गमका स्वास्थ्यकर्मी दबाबमा

मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–७ का धर्मराज जैसी दुई वर्षदेखि जिल्ला अस्पतालमा हेल्थ असिस्टेन्ट (एचए) पदमा कार्यरत छन् । काम सुरु गरेयताको धेरै समय उनले कोरोना संक्रमितको उपचारमा खटिएका छन् । 

दुर्गमका स्वास्थ्यकर्मी दबाबमा

पहिलो चरणको संक्रमण फैलिएका बेला उनी संक्रमितको उपचार गर्दागर्दै आफैं संक्रमित भएका थिए । अहिले पनि धर्मराज उपचारमा खटिरहेका छन् । जब उनलाई घरबाट फोन आउन थाल्छ, उनी झस्किन्छन्, एक्लो महसुस गर्छन् । ‘जागिर छोडेर घरमा आउ, त्यसरी काम गर्नै पर्दैन भनेर बुवाआमाको फोन जहिल्यै आउँछ । तर यस्तो बेलामा स्वास्थ्यकर्मी भइसकेपछि छोडेर घर बस्ने कुरा कहिल्यै आएन,’ धर्मराजले भने, ‘घरपरिवारलाई सम्झाइबुझाइ गरेर फोन राख्छु । तर आफ्नो मनमा भने डर लागिरहन्छ ।’

अन्य बिरामी र कोरोना संक्रमितको उपचारमा खटिँदा धेरै फरक महसुस भएको धर्मराजको अनुभव छ । ‘संक्रमितको उपचारमा खटिएपछि एक्लै बस्नुपर्ने, एक्लै खानुपर्ने जस्ता क्षणले झन् पीडा र एक्लोपनको महसुस हुँदो रहेछ,’ उनले भने, ‘मैले नै दोस्रो चरणमा ४५ जना संक्रमितको उपचार गरे । तीमध्ये २ जनाको मृत्यु भयो ।’ उनले यस्तो बेला साह्रै अत्यास लाग्ने रहेछ भन्दै आफूलाई संक्रमण भयो भने के गर्ने होला जस्ता कुरा मनमा खेलिरहने बताउँछन् । गत वर्ष संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिए पनि यो वर्ष त्यसबारे कुनै खबर नपाएको उनको भनाइ छ । ‘जोखिममा काम गरिरहेका छौं । स्वास्थ्यकर्मीको बिमा पनि हुनुपर्थ्यो । तर हामीलाई अघिल्लो वर्ष कोरोना संक्रमण भयो । बिमा गरेका थियौं । एक लाख दिने प्रावधान थियो । अहिलेसम्म दिएको छैन,’ उनले भने ।

जिल्लाकै पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी धौली रावल स्वास्थ्य सेवामा प्रवेश गरेको साढे ३ वर्ष भयो । अनमी रावल एक वर्षदेखि निरन्तर कोरोना संक्रमितको उपचारमा खटिएकी छन् । अघिल्लो वर्ष उपचारमा खटिएको क्रममा उनी पनि संक्रमित भइन् । त्यही बेलादेखि उनका बुबाआमाले जागिर छोडेर घरमा आउन पटकपटक दबाब दिएका छन् । ‘खेतबारीको काम गरेर गुजारा चलाउला, घरमा आइजा भनेर आमाले दिनदिनै फोन गर्नुहुन्छ,’ धौलीले भनिन्, ‘स्वास्थ्यकर्मी संक्रमित भएको, उपचारमा खटिएको बेला संक्रमण भएर मृत्यु भएको समाचार सुन्दा सबैभन्दा धेर्रै छटपटी स्वास्थ्यकर्मीको परिवारलाई हुने रहेछ ।’

पुरुष स्वास्थ्यकर्मी जस्तै मनोबल उच्च राखेर काम गर्न सकेकोमा उनी हर्षित छिन् । ‘अहिले त डर हराइसक्यो । संक्रमण भएर अस्पतालमा भर्ना भएकाहरू राति १/२ बजे फोन गर्छन् । कुनै संकोच नमानेर आउँछु,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २८, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?