कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ–गाउँमा संक्रमित, जोखिममा बालबालिका

मेनुका ढुंगाना

अछाम — अछामका गाउँ–गाउँमा कोरोना संक्रमण फैलिएपछि वैशाख १९ मा निषेधाज्ञा जारी भएसँगै विद्यालय बन्द छन् । विद्यालय बन्द भए पनि बालबालिका गाउँमा घरबाहिर निस्कने र साथीभाइसँग जम्मा भएर खेल्ने गरेका छन् । जिल्लाका मुख्य बजारहरू बन्द रहे पनि गाउँमा बालबालिका र सर्वसाधारणको चहलपहल घटेको छैन ।

गाउँ–गाउँमा संक्रमित, जोखिममा बालबालिका

मंगलसेन नगरपालिका–३ की मुना साउँदलाई लकडाउनका बेला तीन छोराछोरीलाई सम्हाल्न गाह्रो भएको छ । दिनभर आफू खेतबारीको काममा जाँदा छोराछोरी गाउँ डुल्ने गरेको उनले बताइन् । ‘छोराछोरीलाई सम्हाल्नै सकिएको छैन । दिनभर आफू काममा जान्छु । छोराछोरीलाई घरमा बस भन्दा मान्दैनन् । आफ्नो उमेरका केटाकेटी जम्मा भएर गाउँ डुल्न थाल्छन्,’ उनले भनिन्, ‘अहिले भारतबाट आएका धेरैमा कोरोना देखिएको छ । गाउँ झनै जोखिममा छ । यस्तो बेला साह्रै तनाव हुन्छ ।’

मंगलसेन–५ का सिद्ध विष्टका चार छोराछोरी छन् । यो बेला केटाकेटीको पढाइ रोकिएसँगै समुदायमा संक्रमण फैलिएपछि छोराछोरीलाई सम्हाल्न नसकेको चिन्ताले उनलाई सताउन थालेको छ । ‘पहिले त भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर गाउँ पठाउँथे । अहिले त को कताबाट आउँछन्, उनीहरूको स्वास्थ्य अवस्था के हो भन्नेबारे कसैलाई वास्ता नै छैन,’ उनले भने, ‘यस्तो बेला जताततै संक्रमित छन् । केटाकेटीलाई घरमा बस भनेर सम्हाल्न सकिएको छैन । कतिखेर कहाँ जान्छन् पत्तो छैन ।’

वडाका सबै गाउँमा भएका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नसकिएको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए । ‘गाउँमा कोरोना संक्रमणको जोखिम बढेको छ । वृद्धवृद्धा, बालबालिकालाई मध्यनजर गर्दै अहिले सचेतना गराइरहेका छौं,’ उनले भने, ‘नगरपालिकाका १४ वटै वडामा युवा परिचालन गरेर संक्रमणबाट बच्ने उपाय र सावधानीबारे जानकारी गराइरहेका छौं ।’ जाल्पा आधारभूत विद्यालयकी शिक्षका दिलु बोहरा लकडाउनमा बालबालिका जोखिममा मात्रै नभएर पढाएको समेत बिर्सने गरेको बताउँछिन् ।

प्रकाशित : वैशाख २६, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?