परीक्षण नगरी सिधै घर- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षण नगरी सिधै घर

अहिले क्वारेन्टाइन र आइसोलेसन नहुँदा संक्रमितलाई राख्न सकिएको छैन – स्थानीय तह
मनोज बडू

दार्चुला — भारतसित सीमा जोडिएको दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट नाका भएर घर फर्किनेलाई एन्टिजेन परीक्षण गरेर सोझै घर पठाउने गरिएको छ । एन्टिजेन परीक्षणबाट कोरोना पोजिटिभ देखिएकालाई अक्सिजनको मात्रा कम भएमात्र जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना पोजिटिभका सामान्य अवस्थाका संक्रमितलाई भने घरमै आइसोलेसन बस्न सल्लाह दिएर स्वास्थ्यकर्मीले पठाउने गरेका छन् । जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भारतबाट आउने जतिको पुलघाटमा एन्टिजेन परीक्षण भइरहेको छ । उनले भने, ‘केही स्वास्थ्य समस्या आए अस्पताल र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनी सम्झाएर घर पठाइँदै छ ।’ सामान्य समस्या आए पनि १० दिन घरमा अलगै बस्न सुझाइएको र पालिकाहरूलाई निगरानी राख्न भनिरहेको उनले बताए ।

एन्टिजेनमा पोजिटिभ आएपछि हेल्थ डेस्कले सम्बन्धित स्थानीय तहलाई संक्रमित जिम्मा लगाउने गरिएको हो । सबै स्थानीय तहमा कोरोना उपचार अस्पताल र आइसोलेसन वार्ड तयारी नभएकाले घर पठाउँदा कोरोना संक्रमण फैलिने सम्भावना अधिक रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

तीव्र गतिमा संक्रमण बढिरहेको भारतबाट फर्केका नेपालीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न नसकेकाले संक्रमण फैलिएको चिकित्सकको भनाइ छ । अहिले क्वारेन्टाइन र आइसोलेसन नभएकाले संक्रमितलाई राख्न नसकिएको स्थानीय तहले जनाएका छन् । महाकाली नगरपालिकाका स्वास्थ्यकर्मी मोहन महराले भारतबाट फर्केका नेपालीलाई क्वारेन्टाइनमा नराखेकाले संक्रमितको संख्या जिल्लाभरि ह्वात्तै बढेको बताए । ‘अझै पनि भारतबाट आएकाहरू सोझै घर जाने गरेका छन्, उनीहरूलाई क्वारेन्टाइनमा राख्ने तयारी नहुनु दुर्भाग्य हो,’ उनले भने, ‘यसले गाउँमा संक्रमण बढाउने सम्भावना धेरै छ  ।’

भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरे पनि नेपालकै कोरोना प्रभावित ठाउँबाट आएका मानिसलाई परीक्षण नगरिकनै घर पठाइरहेका छन् । शनिबार मात्र शैल्यशिखर–८ मा ३५ विद्यार्थी महेन्द्रनगरबाट परीक्षण नगरी सोझै घर गएका छन् । महेन्द्रनगर सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी कोरोना प्रभावित ठाउँ हो ।

भारतबाट सबैभन्दा बढी महेन्द्रनगरको गड्डाचौकी नाका हुँदै सुदूरपश्चिमका स्वदेश प्रवेश गर्छन् । कोरोनाको प्रभाव बढिरहेकै ठाउँबाट आएका मानिसलाई परीक्षण नै नगराई घर पठाइएको स्थानीयले गुनासो गरेका छन् । कोठा भाडामा बस्ने अधिकांश विद्यार्थी भए पनि प्रभावित ठाउँबाट आएका हुनाले परीक्षण हुनुपर्ने स्थानीय सहदेव बिष्टको भनाइ छ । स्थानीय तहले अझै क्वारेन्टाइनको व्यवस्था नगरेकाले समुदाय स्तरमा संक्रमण फैलिँदै गएको दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक नरेन्द्रराज अवस्थीले बताए । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ अझै हुन नसक्नु स्थानीय तह र स्वास्थ्य कार्यालयको कमजोरी रहेको उनको भनाइ छ । ‘होम आइसोलेसनमा बसेकालाई बेवास्ता गरिँदा मृत्यु हुनेको संख्या बढ्दै छ,’ उनले भने ।

प्रकाशित : वैशाख २६, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाटारमा संवैधानिक परिषद्को बैठक, सभामुख सापकोटा र कांग्रेस सभापति देउवा अनुपस्थित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभागी भएका छन् ।

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

सभामुख अग्नि सापकोटा र प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवा भने बैठकमा अनुपस्थित भएका छन् ।

देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा आफूले पनि भाग नलिने र अरु सदस्यलाई पनि भाग नलिन आग्रह गरेका थिए ।

त्यस्तै संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गएकाले त्यसैको निरन्तरता हुने बैठकमा सहभागी नहुने बताएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका थिए ।

प्रधानन्यायाधीशले जोगाउनुपर्ने संवैधानिक परिषद्को लाज

सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धीसहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।

उनले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिन लागेका छन्, हालकै अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन । यस्तो अवस्थामा उनले एक दिनअघि संवैधानिक निकायमा नियुक्तिका लागि बैठक डाकेका हुन् । बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका प्रमुख आयुक्त, आयुक्त तथा सदस्य सिफारिस गर्ने कार्यसूची रहेको छ

गत मंसिर ३० गते जारी गरिएकामा झैं यस पटकको अध्यादेशमा पनि संवैधानिक परिषद्को अध्यक्ष र तत्काल बहाल सदस्यहरूको बहुमत भए गणपूरक संख्या मानिने व्यवस्था छ । यसबाट प्रधानमन्त्रीसहित अरू दुई सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्नेछ । सर्वसम्मतिमा निर्णय हुन नसके प्रधानमन्त्रीसहित तत्काल बहाल सदस्यहरूको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

संविधानअनुसार, संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रमुख विपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख हुन्छन् । अहिले उपसभामुखको पद रिक्त छ । सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले साथ नदिने भएकाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको साथमा निर्णय गर्न प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७८ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×