कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्चा संकलन गर्न पाटनतिर

संकलकहरू घरमा ताल्चा लगाएर सपरिवार लेक उक्लन थालेपछि उत्तरी क्षेत्रका गाउँ सुनसान

बझाङ — कोरोना महामारीलाई बेवास्ता गर्दै बझाङमा यार्चा संकलन सुरु भएको छ । स्थानीय र अरू जिल्लाबाट आएका संकलकहरूको ओइरो पाटनतिर लाग्न थालेको छ । वैशाख पहिलो साताबाट सुरु हुने यार्चा संकलन लेकाली भेगमा हिमपात भएका कारण केही दिन ढिलो गरी सुरु भएको हो ।

यार्चा संकलन गर्न पाटनतिर

बझाङको सुर्मा, साइपाल, मस्टा, छविस पाथिभेरा गाउँपालीका र बुंगल तथा जयपृथ्वी नगरपालिकामा यार्चा संकलकहरू घरमा ताल्चा लगाएर सपरिवार लेक उक्लन थालेपछि उत्तरी क्षेत्रका गाउँहरू सुनसान हुन थालेका छन् । संकलकहरू ३ महिनाको लागी आवश्यक पर्ने खाद्यान्न लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीसहित यार्चा संकलन क्षेत्र जान थालेका हुन । भेडा, घोडा, खच्ड हुनेहरूले चौपायाबाट र नहुनेहरूले बोकेरै सामानहरू संकलन क्षेत्रमा पुर्‍याउने गर्छन् ।

हिमपातका कारण ढिलो पाटन उक्लेका धेरै जसो यार्चा संकलकहरूले लेकमा गएर तीन महिनासम्म बास बस्नका लागि पाल गाड्ने तथा दाउराको जोहो गर्ने काम गरेका छन् । पहिले नै पाटन पुगेकाहरू संकलनमा जुटिसकेको यार्चा संकलन क्षेत्रमा होटल सञ्चालन गरिरहेका खप्तड छान्नाका रणबहादुर खड्काले बताए । जिल्लाबाट काम विशेषले बाहिर गएका मानिसहरू पनि यार्चा संकलनका लागि बझाङ फर्किइसकेका छन् । यो अवधिमा अल्पकालीन रोजगारीका लागी भारतका विभिन्न ठाउँमा गएका स्थानीयहरू पनि घर फर्किएको सुर्माका शमशेर बोहराले बताए ।

देशका विभिन्न ठाउँमा भएको निषेधाज्ञाका कारण अन्य जिल्लाबाट यार्चा संकलनको लागि बझाङ आउनेको संख्या भने यो वर्ष घटेको छ । ‘बाहिर जिल्लाबाट पहिला जति मान्छे आएका छैनन्,’ बोहराले भने, ‘यो वर्ष निषेधाज्ञा भएकाले पनि धेरै मानिस आउन पाएका छैनन् । कोही कोही भने पास बनाएर गाडी बुक गरेर पनि आएका छन् ।’ उनले जिल्लाभित्रका संकलकहरू भने प्रायःजसो पाटन पुगिसकेको बताए ।

यार्चा संकलनको कारण पाटन क्षेत्रमा भीडभाड हुने र संक्रमणको जोखिम हुने भए पनि आफूहरूको आम्दानीको अरू विकल्प नभएका कारण जोखिम उठाएरै भए पनि जान लागेको संकलकहरूले बताएका छन् । ‘यार्चा टिप्न पाइएन भने वर्षभरि के खाएर परिवार पाल्नु ? रोगको डर मान्यौं भने भोकले पनि मरिने नै हो,’ साइपाल गाउँपालिका धलौनकी विमला बोहराले भनिन्, ‘भोकले मर्नुभन्दा रोगै सहौंला भनेर लेक हिँड्न लागेका छौं ।’

उत्तरी भेगका सबै गाउँका स्थानीयहरू वैशाखदेखि असार महिनासम्म यार्चा संकलन क्षेत्रमा बस्ने गर्छन् । गाउँमा अशक्त, वृद्धवृद्धा, नवसुत्केरी महिला, हिँडडुल गर्न नसक्ने बालबालिका मात्र हुन्छन् । संकलकहरूलाई रोक्न सक्ने अवस्था नभएकाले कुनै हस्तक्षेप नगरेको साइपाल गाउँपालिकाले जनाएको छ । ‘धेरैजसो लेक उक्लिसके । हामीले रोकेर सम्भव नै छैन,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘बाँकी रहेका केही परिवार पनि आजभोलि नै जाने तयारीमा छन् । यो महिनाको अन्तिमतिर सबै गाउँ खाली भइसक्छन् ।’ उनले गत वर्ष प्रहरी लगाएर पक्राउ गर्दा पनि संकलन रोक्न नसकेकाले यो वर्ष रोक्ने प्रयास नै नगरेको बरु संकलन व्यवस्थित गर्नेतर्फ गाउँपालिका लागेको बताए ।


यार्चा संकलन क्षेत्रमा जानेहरूबाट स्थानीय तहले प्रवेश शुल्कबापत राजस्व संकलन गर्ने तयारी गरिरहेका छन् । साइपाल गाउँपालिकाले स्थानीय तहभित्रका संकलकको लागि २ सय ५०, छिमेकी स्थानीय तहका संकलकका लागि ३ सय ५०, जिल्लाभित्रका अन्य संकलकका लागि ५ सय र जिल्ला बाहिरका व्यक्तिको हकमा १ हजार राजस्व संकलन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र धामीले बताए । उनले यार्चा संकलन क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षाको व्यवस्था पनि व्यवस्थित गरिएको बताए ।

यस वर्ष साइपाल गाउँपालिकाले यार्चा संकलन क्षेत्रमा फोहोर व्यवस्थापनका लागि फोहोर संकलन, चोरी सिकार नियन्त्रण र अव्यवस्थित जंगल फँडानी रोक्नका लागि पनि चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष धामीले बताए ।

अघिल्ला वर्षहरूमा प्रवेश शुल्क उठाएको सुर्मा गाउँपालिकाले भने यस वर्ष नलिने बताएको छ । यसअघि पालिकाको गाउँपालिकाभित्र बसोबास गर्नेबाट प्रतिव्यक्ति एक सय, गाउँपालिका बाहिरका संकलकबाट प्रतिव्यक्ति पाँच सय र बाहिरी जिल्लाका संकलकबाट एक हजार रुपैयाँ राजस्व संकलन गर्ने गरेको अध्यक्ष नरबहादुर बोहराले बताए ।

कोरोना महामारी फैलिन सक्ने भन्दै गत वर्ष जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गत वर्ष यार्चा संकलन कार्यमा रोक लगाएको थियो । वैशाख र जेठसम्म सरकारी निर्णयको पालना गरेका संकलकहरूले गत वर्ष असारमा प्रतिबन्ध उल्लंघन गर्दै असारमा यार्चा संकलन गर्न लेक पुगेका थिए ।

प्रकाशित : वैशाख २१, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?