कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

जनप्रतिनिधिलाई प्रश्नै प्रश्न

‘पाइप हालेर खानेपानी घरमा पुग्यो तर केही दिनमै पाइप काटियो । यसको रेखदेख वडाले किन गर्न सकेन ?’

अछाम — स्थानीय तहको निर्वाचन भएको झन्डै चार वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिले घोषणापत्रअनुसार काम गर्न सकेनन् । काम नभएपछि नागरिकको गुनासो प्रतिदिन बढेको छ ।

राजनीतिक आस्थाका आधारमा कार्यसम्पादन गरेको आरोप जनप्रतिनिधिलाई छ । बिहीबार अछामको मंगलसेन नगरपालिका–३ मा आयोजित सार्वजनिक सुनुवाइमा यस्तै देखियो । वडामा छुट्याइएका योजनामा सन्तोष हुने भन्दा गुनासो गर्ने धेरै देखिए । वडा कार्यालयमा एक पसलबाट चिया लैजानेदेखि ठूलो रकम भएको उपभोक्ता समिति गठनमा आफ्ना मान्छे नसमेटिएको गुनासो स्थानीयले गरे ।

‘अध्यक्षज्यूलाई मेरो सुझाव, वडा कार्यालयमा चिया नास्ता एकै पसलबाट मात्रै लैजाने गरेको मलाई ठीक लागेको छैन । कहिलेकाहीँ हाम्रो दोकानबाट पनि लैजाने गर्नुहोस्,’ मंगलसेन नगरपालिका–३ की भजन विष्टले वडाध्यक्ष पदमसिंह भाटलाई प्रश्न गर्दै भनिन्, ‘ व्यापार एकै जनाले गरेर सबैको गुजारा चल्दैन । सबैलाई समान व्यवहार गरियोस् ।’ वडाध्यक्ष भाटले यस्ता प्रश्नको भने अपेक्षा गरेका थिएनन् । तर उनलाई स–साना प्रश्नको जवाफ फर्काउनै सकस भयो । उमेरले ६० वर्षमाथि पुगेका अध्यक्ष भाट साइनोअनुसार सहभागीलाई सम्बोधन गर्दै वातावरण शान्त बनाउन थाले ।

मंगलसेन–३ का रमेश साउँदले पनि भजनले जस्तै प्रश्न गरे । ‘मेरो प्रश्न वडाध्यक्षलाई छ । खानेपानीको योजना सम्पन्न भयो । पाइप हालेर घरमा पानी पुग्यो । तर केही दिनमै पाइप काटियो । यसको रेखदेख वडाले किन गर्न सकेन ?’ उनले थप प्रश्न गर्दै भने, ‘योजना सम्पन्न भएपछि त्यसको अवस्थाबारे पनि अनुगमन गरिदिन पर्‍यो, अहिले बाँसको टुक्रा हालेर गुजारा चलाएका छौं ।’

सार्वजनिक चासोका विषयभन्दा व्यक्तिगत योजना र चासोमा बढी केन्द्रित भएकाले काम गर्न असहज भएको वडाध्यक्ष भाट बताउँछन् । ‘उपभोक्ता समिति गठन केका लागि हुन्छ ? वडाले योजनाका लागि बजेटको व्यवस्था गर्ने हो । आफ्नो जिम्मेवारी के हो भन्ने पनि नबिर्सनुस्,’ वडाध्यक्ष भाटले जवाफ फर्काउँदै भने, ‘हामीलाई खबरदारी गर्ने झकझकाउने सचेत नागरिक पनि आफ्नै कुरा मात्रै राख्छन् । दोष जति जनप्रतिनिधिलाई मात्रै दिन्छन् ।’

मंगलसेन नगरपालिका–३ की लक्ष्मी बोगटीले आफूलाई खानेपानी निर्माण उपभोक्ता समितिमा नराखेको गुनासो व्यक्त गर्दै वडाध्यक्षलाई भनिन्, ‘मैले उपभोक्ता समितिको उपाध्यक्षमा बस्न खोजेकी थिएँ । राजनीतिक आस्था फरक भएका कारण मलाई हटाइयो । के म समितिमा बस्न योग्य छैन ?’ अध्यक्ष भाटले सबैको चित्त बुझाउन नसकेको बताए ।

मंगलसेन नगरपालिकाको केन्द्रसम्म पुगेर गुनासो गर्न नसक्ने नागरिकका लागि वडावडामा सार्वजनिक सुनुवाइ गरिएको नगर प्रमुख पदमबहादुर बोहराले बताए । ‘स्थानीयको आवश्यकताका आधारमा योजना विनियोजन गरिएका छन् ।

गाउँ ठाउँको विकास के कसरी हुन्छ भन्ने चिन्ता कसैलाई देखिँदैन, मेराले पाएनन् भन्ने गुनासा बढी आउन थाले,’ नगर प्रमुख बोहराले भने, ‘मैले, वडाध्यक्षले, हाकिमले घरजग्गा बेचेर बजेट विनियोजन गर्ने होइन । आएको बजेटलाई सही ढंगले सही ठाउँमा लगानी लगाउने हो ।’

प्रकाशित : वैशाख ११, २०७८ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?