‘पूर्णागिरि मेलाले समुदायमा संक्रमण फैलियो’

गड्डाचौकी नाकामा २ सय जनाको परीक्षण गर्दा २४ मा कोरोना पुष्टि
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका–९ को सीमा बजार ब्रह्मदेवका १४ व्यवसायीमा संक्रमण देखिएको छ । शुक्रबार ८९ जनाको परीक्षण गर्दा ६ र आइतबार ४३ को परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १ जना भारतीय नागरिक हुन् । 

‘पूर्णागिरि मेलाले समुदायमा संक्रमण फैलियो’

ब्रह्मदेवमा एक महिनादेखि लागेको पूर्णागिरि मेलाका कारण ब्रह्मदेव बजारका व्यवसायीमा धमाधम संक्रमण देखिएको हो । केही दिनयता मेलामा आउने दर्शनार्थीको संख्या कम भए पनि मेला भने रोकिएको छैन, जसबाट अझै बढ्न सक्ने खतरा छ ।

शुक्रबार ब्रह्मदेव बजारका २ सय व्यवसायीको एन्टिजेन परीक्षण गर्ने योजना थियो । तर व्यापारीहरू सबै भागेपछि ८९ जनाको मात्रै परीक्षण भयो । सशस्त्र प्रहरीले विभिन्न ठाउँमा लुकेर बसेको अवस्थामा फेला परेकालाई ल्याएर परीक्षण गरायो । दोस्रो दिन पनि थोरैले मात्रै परीक्षण गराए ।

‘ब्रह्मदेवमा समुदायमै संक्रमण फैलिएको अनुमान छ, तर स्थानीय परीक्षण गराउन चाहँदैनन्,’ सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले भने, ‘पूर्णागिरि मेलाका कारण यहाँ आउने भारतीय दर्शनार्थीबाट संक्रमण फैलिएको छ ।’ ब्रह्मदेव समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । गत साता २ विद्यार्थीमा समेत संक्रमण देखिएको थियो । अहिले पनि भारतीय दर्शनार्थी आउने क्रम जारी छ । ७२ घण्टाभित्रको परीक्षण रिपोर्ट र सीसीएमसीको फाराम भरेर मात्रै आउन दिने गरिएको छ । बुधबार पनि ६ भारतीय दर्शनार्थी आएका छन् । परीक्षण रिपोर्ट नभएका ५ सयभन्दा बढीलाई नाकाबाटै फर्काइएको छ । बुधबार १ सय बढी नेपाली दर्शनार्थीसमेत आएका छन् । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले पूर्णागिरि मेलामा आउनेलाई कडाइ गर्ने निर्णय गरेपछि भारतीय दर्शनार्थी आउने क्रम घटेको छ ।

भीमदत्त नगरपालिकाका सेवा ३ दिन बन्द

कर्मचारी र स्थानीयमा संक्रमण बढेपछि भीमदत्त नगरपालिकाले ३ दिन सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । मंगलबार २ कर्मचारीसहित २३ जनामा संक्रमण देखिएपछि नगरपालिकाको कार्यालयबाट प्रदान हुने सबै सेवा १० गतेसम्म बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशीले बताए ।

‘आज पनि ८ जनाको परीक्षण गर्दा एक कर्मचारीसहित ७ मा संक्रमण पुष्टि भएको छ,’ जोशीले भने, ‘जोखिम दिन प्रतिदिन बढ्दै गएको छ, नगरपालिकाको सेवा अझै केही दिन बन्द गर्नुपर्ने देखिन्छ ।’ कञ्चनपुरमा बुधबार पनि पीसीआर परीक्षण गर्दा २४ जनामा र एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको छ । गड्डाचौकी नाकामा २ सय जनाको परीक्षण गर्दा २४ मा संक्रमण पुष्टि भएको छ । बुधबार गड्डाचौकीबाट ११ सय बढी भित्रिएका छन् । उनीहरू सोझै घरतर्फ जाने भएका कारण संक्रमणको जोखिम झनै बढी देखिन्छ ।

सीमावर्ती बजारमा कडाइ

सीमावर्ती बजारहरू खटीमा, वनबासा र टनकपुरमा संक्रमण बढ्दै गएपछि आंशिक लकडाउन घोषणा गरिएको छ । सशस्त्र प्रहरीका अनुसार बुधबारदेखि राति ७ देखि बिहान ५ बजेसम्म पूर्ण लकडाउन छ । यस्तै, दिउँसो २ बजेपछि बजार पूर्ण रूपमा बन्द घोषणा गरिएको छ । भारततर्फ कडाइ भए पनि नेपालतर्फ भने कडाइ हुन सकेको छैन । नाकामा भित्रिनेलाई समेत सामान्य जाँच गरेर घर पठाइने गरेको छ । उनीहरूलाई क्वारेन्टाइनमा समेत राख्ने गरिएको छैन ।

प्रकाशित : वैशाख ९, २०७८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?