कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्लाफाँटामा १७ गैंडा

निकुञ्जलाई तीन ब्लकमा विभाजन गरी चैत १९ देखि एक साता प्राविधिकहरुले हेड काउन्ट विधिबाट गैंडाको गणना गरेका थिए

कञ्चनपुर — ६ वर्षको अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या वृद्धि भएको छ । सन् २०१५ मा गरिएको राष्ट्रिय गणनाको तुलनामा यहाँ गैंडाको संख्या ४ ले बढेको हो ।

शुक्लाफाँटामा १७ गैंडा

राष्ट्रिय गणना कार्यक्रमअन्तर्गत चैत १९ देखि २५ गतेसम्म गरिएको गणनाअनुसार निकुञ्जमा गैंडाको संख्या ३ भाले, ४ पोथी, ६ पहिचान खुल्न नसकेको र ४ केटो गरी १७ पुगेको हो । सन् २०१५ मा गरिएको राष्ट्रिय गणनामा यहाँ गैंडाको संख्या ८ थियो । सन् २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैंडा स्थानान्तरण गरिएको थियो ।

गत वर्ष गरिएको अनुगमनमा निकुञ्जमा गैंडाको संख्या १७ नै थियो । ‘अघिल्लो राष्ट्रिय गणनाका आधारमा गैंडाको संख्या बढेको छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले भने, ‘गत वर्ष गरिएको अनुगमनमा पनि १७ नै भेटिएको थियो ।’ उनले गैंडाको संख्यामा केही वृद्धि भए पनि सन्तोषजनक भने नरहेको बताए । गैंडाको संख्या बढी भएको क्षेत्रमा वृद्धि पनि त्यही अनुपातमा हुन्छ । संख्या कम भएको क्षेत्रमा वृद्धि पनि कम हुने गर्छ । शुक्लाफाँटामा पनि संख्या न्यून भएकाले वृद्धिको अनुपात पनि न्यून रहेको चौधरी बताउँछन् ।

निकुञ्जलाई तीन ब्लकमा विभाजन गरी चैत १९ देखि एक साता प्राविधिकहरूले हेड काउन्ट विधिबाट गैंडाको गणना गरेका थिए । निकुञ्जकै ४ हात्तीको सहायतामा गैंडा पाइने स्थानमा पुगेर गणना गरिएको हो । ‘आहारा र बासस्थानको अवस्थाबारे पनि हामीले अध्ययन गरेका छौं,’ सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा आहारा र बासस्थानको अवस्था निकै राम्रो छ ।’

मानव र वन्यजन्तुबीचको द्वन्द्वमा पनि हालसम्म गैंडाको संलग्नता देखिएको छैन । यसबाट पनि आहारा र बासस्थानको अवस्था उपयुक्त रहेको अनुमान गर्न सकिने चौधरी बताउँछन् । ‘महाकालीपारि दोधारा–चाँदनीमा एक/दुई ठाउँमा गैंडा बस्तीमा पसेको छ, तर अन्यत्र कतै पनि निकुञ्ज बाहिर आएको छैन,’ उनले भने, ‘प्रशस्त मात्रामा घाँसे मैदान र घोलहरू हुनु नै गैंडाका लागि राम्रो मानिन्छ ।’

शुक्लाफाँटाको रानीताल क्षेत्रमा सन् १९९५ मा एक रैथाने गैंडा देखिएको थियो । त्यसपछि गैंडाको बासस्थानका बारेमा अध्ययन गरेर २००४ मा चितवन राष्ट्रिय निकुञ्जबाट १ भाले र ३ पोथी गरी ४ गैंडा स्थानान्तरण गरियो । २०११ सम्म यहाँ गैंडाको संख्या ७ पुग्यो । चार वर्षपछि गरिएको राष्ट्रिय गणना २०१५ मा १ बढेर ८ पुग्यो । त्यसपछि २०१७ मा पुनः चितवनबाट १ भाले र ४ पोथी गरेर ५ गैंडा स्थानान्तरण गरियो । ‘चोरीसिकार शून्य, उपयुक्त बासस्थान भएकाले यहाँ गैंडाको वृद्धि राम्रो हुन सक्ने देखिन्छ,’ गैंडा गणनामा संलग्न राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले भने, ‘अहिले देखिएको संख्या पनि सन्तोषजनक नै मान्नुपर्छ ।’ उनले प्रशस्त घाँसे मैदान र घोलहरू भएका कारण बासस्थान निकै राम्रो भएको बताए । ३ सय ५ वर्गकिमि क्षेत्रफलमा रहेको निकुञ्जको ३० प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ । शुक्लाफाँटा घाँसे मैदानको क्षेत्रफल ५४ वर्गकिमि छ ।

निकुञ्जका ताल तथा नदी किनारमा मिचाहा प्रजातिका झारपातहरू आउन थालेकाले केही समस्या देखिए पनि त्यसको व्यवस्थापन गरिने जोशीले बताए । ‘मिचाहा प्रजातिले कति असर गरेको छ, त्यसको अध्ययन भइरहेको छ,’ उनले भने, ‘ताल र नदी किनारमा काँडादार वनमारा देखिएको छ ।’ यसले गैंडाको आहारामा कति प्रभाव पारेको छ भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख ९, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?