कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिंकर सडकको कछुवा गति

चालु आर्थिक वर्षमा ३ सय मिटर मात्र ट्य्राक खोलियो
मनोज बडू

दार्चुला — सुदूरपश्चिमको तराई क्षेत्रलाई हिमालसँग जोड्ने महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडकखण्ड निर्माण झन् सुस्त बनेको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म यो सडकखण्डमा तीन सय मिटर मात्र नयाँ ट्र्याक खोलिएको छ । सरकारको राष्ट्रिय प्राथमिकतामा परेको त्रिदेशीय सीमा जोड्ने रणनीतिक सडक निर्माण सुस्त भएपछि स्थानीय चिन्तित छन् ।

टिंकर सडकको कछुवा गति

सडकको निरीक्षणका लागि आइतबार भौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ यो सडकखण्ड पुगेका थिए । मन्त्रीलाई सडकको अवस्थाबारे जानकारी गराउने क्रममा सडक योजनाका निमित्त प्रमुख मुकेन्द्र मल्लले चालु आर्थिक वर्षमा सडकखण्डको तोसरपानी/माल क्षेत्रमा तीन सय मिटर मात्र ट्र्याक खोलिएको बताए । सुन्सेरादेखि मालको कोठेधारसम्मको ४ किमिमध्ये ३ सय मिटरमा नयाँ ट्र्याक खोलिएको हो ।

कडा चट्टानी भूभागमा विस्फोटक पदार्थ अभाव भएको छ । विस्फोटक पदार्थ प्रयोग गरेर मात्र ट्र्याक खोल्न सकिने हुँदा डोजरको ब्रेकरले थोरै मात्रामा सडक खनिएको मल्लले बताए । यो खण्ड निर्माणका लागि २०७० असार २३ मा अमर–सूर्य जेभीसँग सम्झौता भएको थियो । ‘१२ वर्षमा दार्चुला–टिंकर सडकखण्डको १ सय ३४ किमिमध्ये ४३ किमि दूरीमा अस्थायी ट्र्याक खोलिएको छ,’ मल्लले भने, ‘सुन्सेरासम्म गाडी गुड्न सकेका छन्, सुन्सेरादेखि तोसरपानीसम्म निर्माण व्यवसायीले सामान ढुवानी गरिरहेका र सार्वजनिक यातायात जान सकेका छैनन् ।’ १ सय ३४ किमिमध्ये ८७ किमि सडकखण्ड नेपाली सेनालाई ट्र्याक खोल्न हस्तान्तरण गरिएको छ । उक्त खण्डमा वातावरणीय प्रभाव मूल्यांकनका लागि टेन्डर प्रक्रियामा रहेको सेनाले जनाएको छ । सरकारले सेनालाई सडक निर्माण गर्न ५ करोड बजेट उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन गरेर आगामी आर्थिक वर्षबाट सडक निर्माण सुरु गर्ने तयारीमा सेना छ ।

आर्थिक वर्ष २०६५/६६ सालबाट निर्माण सुरु गरिएको दार्चुला–टिंकर सडक निर्माणले १२ वर्ष पुग्दा पनि लक्ष्यअनुसार काम गर्न सकेको छैन । खलंगा जिरो प्वाइन्ट मानेर सुरु भएको यो सडकमा अहिलेसम्म ४३ किमि सडकको मात्रै ट्र्याक खुला गरिएको छ । ४० किमि सडकमा अस्थायी रूपमा गाडी चल्छन् । पछिल्लो समय यही सडकलाई महाकाली लोकमार्ग दार्चुला टिंकर सडक नामकरण गरिएको छ ।

कञ्चनपुरको ब्रह्मदेव, डडेलधुरा, बैतडी हुँदै दार्चुला जोड्ने गरी यो सडक निर्माण गर्न लागिएको हो । यसको कुल लम्बाइ ४२५ किमि छ । यसमा अहिलेसम्म १५८ किमि सडकको ट्र्याक खोलिएको महाकाली लोकमार्ग दार्चुला–टिंकर सडक योजनाका सबइन्जिनियर मुकेश मल्लले जानकारी दिए । कञ्चनपुरको ब्रह्मदेव, डडेलधुरा, बैतडी हुँदै दार्चुलाको छाङरु टिंकर नाकासम्म यो सडकले जोड्नेछ । भारत र चीनसँगको सीधा व्यापारमा जोड्ने हुँदा जिल्लाको लाइफलाइन सडकको रूपमा बुझे पनि यसको कार्यप्रगति ज्यादै न्यून रहेको व्यास गाउँपालिका–४ स्थानीय हरकसिह विष्टले बताए । यो सडकखण्डलाई जब महाकाली करिडोर हुँदै महाकाली लोकमार्गमा गाभियो, यसको निर्माणको गति भने झन् सुस्त भएको जिल्ला समन्वय समितिका प्रमुख करवीरसिंह कार्कीको भनाइ छ । दुई–तीन वर्षको अवधिमा नयाँ ट्र्याक थोरै खुलेको छ । ‘गत र चालु आर्थिक वर्षमा भने नयाँ ट्र्याक खोल्ने काम भएको देखिँदैन,’ उनले भने । यो सडकलाई चाँडो र द्रुत गतिमा निर्माण गर्न महाकाली लोकमार्गबाट अलग्गै योजना बनाएर निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

दार्चुला–टिंकर सडक निर्माणको आसमा बसेका दुहु र व्यासका स्थानीय सडक नबन्दा जोखिम मोलेर सदरमुकाम आवतजावत गरिरहेका छन् । सडक नहुँदा व्यासका स्थानीय तुइनको भरमा महाकाली नदी तर्ने गरेका छन् । कैलाश मानसरोवर जोड्ने छोटो दूरीको यो सडक धार्मिक पर्यटकीय दृष्टिका साथै अन्तर्राष्ट्रिय व्यापारिक महत्त्वका दृष्टिले समेत सम्भावनायुक्त रहेको स्थानीयको भनाइ छ ।

यसैबीच मन्त्रीहरूको टोलीले नेपाली सेनाको हेलिकप्टरमार्फत महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडकखण्डको निरीक्षण गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आइतबार सडकखण्डको हवाई निरीक्षण गरेका हुन् ।

प्रकाशित : वैशाख ७, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?