कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुञ्चा सर्न बाटोकै समस्या

मनोज बडू

दार्चुला — ब्यास गाउँपालिका–१ छाङरु र तिंकर थातथलो भई बर्सेनि चिसो छल्न बेंसी झरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइसराइ) सर्ने समय सुरु भएको छ । तर, पुर्ख्यौली गाउँ पुग्न भने अझै बाटोको समस्या छ ।

कुञ्चा सर्न बाटोकै समस्या

हिमाली गाउँमा चिसो मौसममा बस्न नसकिने हुनाले यहाँका स्थानीय हिउँदका ६ महिना बेंसी झर्छन् । गर्मीयामको सुरु भएसंँगै वैशाख पहिलो सातादेखि उच्च लेकाली भेगको छाङरु र तिंकरका बस्ती फर्कने गर्छन् । परम्परादेखि चल्दै आएको लेक र बेशीको बसाइसराइलाई सौका समुदाय ‘कुञ्चा सर्ने’ भन्छन् ।

दार्चुला सदरमुकामबाट व्यासतर्फ जान उनीहरूले प्रयोग गर्ने घारेटो बाटोको तीन ठाउँमा समस्या छ । बर्सेनि यो बाटोमा सरकारको विभिन्न निकायले लगानी गर्दै आए पनि कुञ्चा आउने जाने समयमा सधैंजसो अवरुद्ध हुने गरेको स्थानीय बताउँछन् । ‘थातथलो कुञ्चा लैजाने समय भइसक्यो, गाउँ जाने बाटोको समस्या छ’ तिंकरका स्थानीय दानसिंह तिंकरीले भने, ‘बाटोको लागि सरकारले बर्सेनि खर्च गरेको हुन्छ । ब्यासीहरूले आउनेजाने बेलामा १५/१६ बर्षदेखि बाटोको समस्याले पिरोल्ने गरेकोछ ।’

गत वर्ष ब्यासको घोरेटो बाटो मर्मत र पुनर्निमाणमा तीनै तहका सरकारले करिब डेढ करोड बजेट खर्च गरेको छ । तर, कुञ्चा लैजान भने सेनाले हालै निर्माण सम्पन्न गरेको घोरेटो बाटोबाहेक तम्बाकु, बयलीधार र बुँदीको पहिरोले तीन ठाउँमा आउजाउ गर्न अझ समस्या रहेको उनले बताए ।

केन्द्र सरकारमार्फत सेनाले १ करोड ८ लाख, सुदूरपश्चिम सरकारको ३० लाख र ब्यास गाउँपालिकाको १६ लाख घोरेटो बाटो मर्मत र पुनर्निर्माणमा बजेट खर्च गरिएको छ । भारतले महाकाली किनारै किनार लिपुलेक सडक निर्माणका कारण ब्यासको घोरेटो बाटो भत्केको स्थानीयको भनाई छ । दुम्लिङ्देखि घाटीबगडसम्म ब्यास गाउँपालिकाले बाटो मर्मत र निर्माण कार्यमा बर्षेनी बजेट विनियोजन गरेर खर्च गर्दै आएको छ । गत बर्षबाट ब्यास जान रित्तो मानिसलाई हिड्ने सक्ने अवस्थाको बाटो बनेको छ । जनावर र भारी बोकेर हिड्न समस्या रहेको तिंकरीको भनाई छ । उनले भने, ‘ब्यास जान अधिकांश ठाउँमा भिरको बाटो छ । भिरमा बोकेको भारी पहाडमा ठोक्किने समस्या छ । केही ठाउँमा जनावरको भारि खोलेर मानिसले बोकेर मात्र लैजानुपर्ने अवस्था छ ।

मानिसहरूलाई भारि बोक्दा जोखिम मोलेर हिड्नुपर्छ ।’ ब्यास घोरेटो बाटो महाकालीको कटान र पहिरोले बर्षेनी अवरुद्ध हुने गरेको छ । यो बाटोमा उपभोक्ता समितिमार्फत काम गरिदै आएको हुनाले कमसल सामान र अनुगमनको पाटो फितलो हुँदा बजेटको सही सदुपयोग हुन नसकेको स्थानीय दिपेन्द्र ऐतवालको भनाई छ । उनले भने, ‘यो बाटो निर्माण गर्न ठेकेदार प्रयोग गर्नुपर्ने र ठेकेदार पनि ब्यास बाहिरको हुनुपर्छ ।’ चैतपछि ३ हजार मिटरभन्दा माथिको उचाईमा बस्ने पशुचौपाया बाटोको समस्याका कारण उच्च लेकाली क्षेत्रमा जान पाएका छैनन् ।

मंसिरमा वेशी झरेका ब्यासका पशुपौचायाहरू वैशाख पहिलो हप्ताभित्र ब्यास पुगिसक्ने भए पनि कुञ्चा सर्न नपाउँदा वेशीमा गर्मीले पशुचौपायालाई समस्या भएको छ । सदरमुकाम खलंगामा गर्मी बढेसँगै चिसोमा बस्ने पशुचौपाया, चौरी झुपु, घोडा खच्चड गाई भैसी समस्यामा परेको स्थानीय बताउँछन् । १०/१२ डिग्री तापक्रममा बस्ने जनावर ३०/३२ डिग्रीमा बस्नुपर्दा गर्मि सहन नसकेर केहीले महाकाली किनारको छाया पर्ने ठाउँमा राख्ने गरेको स्थानीय चन्द्रसिंह बुढाथोकीले बताए ।

यसपालि वेशीमा वैशाख सुरुमै धेरै गर्मी बढेको छ । यस गर्मीले हिमालमा बस्ने चौरीगाई लगायतका बाक्लो रौ भएका जनावरलाई यहाको गर्मी सहनै मुस्किल हुने गरेको छ । गर्मि बढ्दै गए एक/दुई दिनमै धेरैका चिसोमा बस्ने जनावर खतरा बढेको ब्यासका स्थानीयको भनाई छ । एक हप्तादेखि गर्मि धेरै बढेको हुनाले जनावर नै मर्ने स्थिति नजिक पुगिसकेको हुनाले स्थानीय चिन्चित हुन थालेका छन्।

सौका समुदायको परम्परादेखि वेशी–हिमाल बसाइसराइ यिनै जनावरहरूको सहायताले चलेको हो । सौकाहरूले अन्य बस्तुभाउ पाल्ने गरेको पनि हिमाल वारपार व्यापारका लागि झुप्पु, चौरीगाईबाट ढुवानी गराउने बुढाथोकीको भनाई छ । ब्यास बसाई सर्दा कुञ्चासँगै सौका समुदायले वेशीबाट सामान लगेर चीनको ताक्लाकोट बजारमा विक्री गर्ने र वेशी फर्कदा उताबाट सामान ल्याएर व्यापार गर्ने गरेका छन् ।

दार्चुलाका सौका समुदाय परम्परागत रुपमा बर्षको न्यानोका ६ महिना ब्यास र चिसोका ६ महिना वेशी खलंगामा बसोबास गर्दै आएका छन । वेशी हिमाल बसाई सर्नलाई स्थानीयमा कुञ्चा सार्ने भनिन्छ । द्वन्द्वकाल अघिसम्म नेपालकै बाटो आवतजावत गर्न मिल्ने भएपनि त्यसयता बाटो मर्मत नहूँदा समस्या छ । कुञ्चा सार्ने भरपर्दो बाटो नहुँदा स्थानीय भारतको बाटो प्रयोग गरी आवतजावत गर्दै आएका छन् । शुक्रबार भारतीय बाटो हुदै छाङरु एक परिवार कुञ्चा थातथलोका लागि हिंडेको छ ।

प्रकाशित : वैशाख ५, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?