रोजगारी गुमाएर फर्किने बढे- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोजगारी गुमाएर फर्किने बढे

कोरोनाका कारण व्यवसाय बन्द हुन थालेपछि भारतबाट रोजगारी गुमाएर नेपाली धमाधम घर फर्किंदै
मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–५ का पुष्प विक भारतबाट घर फर्किएको एक साता भयो । गत वर्ष पनि यही बेला घर फर्किएका उनी कोरोना संक्रमण कम भएको खबर पाएपछि असोजमा भारतको पुना गएका थिए । ‘पहिले होटेलमा काम गर्थें । यताबाट जाँदा झन् दुःख पाइयो । ५ महिना जसोतसो गाडी धोएरै बिताएँ,’ उनले भने, ‘अहिले अवस्था झन् गाह्रो छ । फर्केर जाँदा पनि काम पाइँदैन । यता केही काम थालौं भन्दा लगानी छैन ।’

कोरोनाका कारण भारतमा रोजगारी गुमाएर फर्किएका अछाम मंगलसेनका स्थानीय ।

कोरोनाका कारण भारतका विभिन्न सहरमा सानाठूला व्यवसाय बन्द हुन थालेपछि अछामीहरू पनि रोजगारी गुमाएर धमाधम घर फर्किन थालेका हुन् । यतिखेर सार्वजनिक स्थान, पसलहरूमा घर फर्केकाहरूको घुँइचो लाग्ने गरेको छ । ‘भारत जाँदा काम पाइँदैन । यहाँ बस्दा तनाव मात्रै हुन्छ, अहिले त्यत्तिकै बसिरहेका छौं,’ मंगलसेन–५ का प्रसादसिंह भाटले भने, ‘गहुँ काट्ने सिजन भएकाले अलिअलि त्यसैमा व्यस्त भइएको थियो । अब त त्यो काम पनि सकियो । पसलतिर आउने बस्नेबाहेक अरू केही छैन ।’ लकडाउन अवधिमा मात्रै अछाममा ३० हजारभन्दा बढी भारतबाट फर्किएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये करिब १५ हजार फेरि भारत फर्किएका थिए । भारतका विभिन्न ठाउँमा काम खोज्दा पनि नभेटिएपछि नयाँ वर्ष र चैते दसैंको मौकामा उनीहरू घर फर्किन थालेका हुन् । कमलबजार नगरपालिका–७ का मोसन भण्डारी उत्तर प्रदेशमा रोजगारीका लागि गएको तीन महिनामै घर फर्किएका छन् । ‘एक महिना काम खोज्दै बित्यो, दोस्रो महिना एउटा होटेलमा काम पाएँ,’ उनले भने, ‘अर्को महिना कोरोनाको त्रासले होटेलै बन्द भयो ।’ परिवार सबैको जिम्मेवारी भएकाले अहिले निकै समस्या भएको उनले दुखेसो पोखे । ‘दुईतीन महिना खेतबारीको उब्जनीले गुजारा चल्यो । अब त चुलामा आगो बल्न नसक्ने अवस्था आयो,’ उनले भने, ‘पर्याप्त जग्गा नहुँदा झनै समस्या छ ।’ घरको मुख्य कमाउने मान्छे नै बेरोजगार बसेपछि परिवारमा चिन्ता बढेको उनको भनाइ छ । कोरोना कहर कम भयो भने फेरि भारतमै जाने सोचमा उनी छन् तर भारतमा संक्रमण भयावह बनिसकेको छ ।

मंगलसेनन–५ का सेते कामी कामकै खोजीमा ३० वर्षअघि भारत छिरेका थिए । यतिका वर्ष एकै ठाउँमा काम गर्ने उनको टुंगो भएन । जस्तो काम भए पनि सानोतिनो कमाइ जुटाएर परिवार पालिरहेका थिए । भारतमा संक्रमण तीव्र भएपछि आत्तिएर उनी घर फर्किएका छन् । ‘गत असोजमा भारत गएको थिएँ, घर फर्केको एक साता भयो,’ उनले भने, ‘अब त साँझबिहान छाक टार्नै मुस्किल भइसक्यो ।’

प्रकाशित : वैशाख ४, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यचौकीमा सबै महिला

‘बिरामी महिलाहरु समस्या भन्न सजिलो मान्नुहुन्छ । पुरूषले मात्र गर्न सक्छन् भन्ने हाम्रो समाजको मान्यतालाई चुनौती दिँदै संस्था धानिरहेका छौं ।’
तृप्ति शाही

बैतडी — बैतडीको डिलासैनी गाउँपालिका–५ स्थित गोकुलेश्वर स्वास्थ्यचौकीबाट ५ र ६ नम्बर वडाका बासिन्दाले सेवा लिँदै आएका छन् । उक्त स्वास्थ्यचौकी र यसकै मातहतमा रहेको बर्थिङ सेन्टरमा सबै ६ स्वास्थ्यकर्मी महिलामात्रै छन् । स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट निर्मला जोशी र चार अनमीहरू चन्द, ललिता पन्त, नारायणी जोशी र आरती नाथ छन् । प्रायः स्वास्थ्यचौकीहरूमा अहेब दरबन्दीमा अधिकांश पुरुष हुन्छन्, तर यो संस्थामा अहेब पनि महिला नै छन् । निर्मला नाथ संस्थामा अहेब पदमा कार्यरत छिन् । स्वास्थ्यसंस्था र बर्थिङ सेन्टरमा ३ जना कार्यालय सहयोगीमध्ये दुई महिला एकमात्र पुरुष छन् ।

बैतडीको डिलासैनी गाउँपालिका–५ स्थित गोकुलेश्वर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी । यहाँ कार्यरत इन्चार्जसहित सबै ६ स्वास्थ्यकर्मी महिला हुन् ।

‘संयोगवश ४ वर्षयता हामी सबै कर्मचारीहरू महिला नै छौं । बीचमा महिला साथीहरू समायोजन भएर जानुभयो,’ आफू संस्थामा इन्चार्ज भएर कार्यरत रहेको चार वर्ष भएको जानकारी दिँदै स्वास्थ्यचौकीकी इन्चार्ज निर्मला जोशीले भनिन्, ‘महिला नै आउनुभयो । कहींबाट दरबन्दी मिलान नभएर वर्षौंबाट यो एउटा संयोग मात्र जुरिरहेको हो ।’ सबै सहकर्मीहरू महिला हुँदा काम गर्नमा धेरै सहजता हुने गरेको उनले बताइन् । उनका अनुसार कार्यालयमा एकअर्काका ससाना समस्याहरू पनि बुझ्दै काम गर्ने अवसर प्राप्त भएको छ । ग्रामीण क्षेत्रका महिला प्रजनन स्वास्थ्यसम्बन्धी बढी समस्या झेलिरहेकोमा स्वास्थ्य संस्थामा आएर खुलेर समस्या भन्न सक्ने वातावरण आफ्नो संस्थामा रहेको इन्चार्ज जोशीको अनुभव रहेको छ । उनले भनिन्, ‘बिरामी महिलाहरू समस्या भन्न सजिलो मान्नुहुन्छ । पुरुषले मात्र गर्न सक्छन् भन्ने हाम्रो समाजको मान्यतालाई चुनौती दिँदै संस्था धानिरहेका छौं ।’

सेवा लिन आउने सेवाग्राहीप्रति सुरुमा आफूहरूलाई विश्वास गर्न नसक्ने चलन भने अझै रहेको दुखेसो उनले पोखिन् । ‘डाक्टर भनेपछि पुरुष मात्र हुन्छन् भन्ने सोचाइ जस्तै सुरुमा आउने केही सेवाग्राहीले चेक गर्ने स्वास्थ्यकर्मी खै भनेर हामीसँग प्रश्न गर्नुहुन्छ । हामी नै हौं भनेर कुरा गरेपछि गुनासो चाहिँ गर्नुहुन्न । सेवा लिएरै जानुहुन्छ । अर्को पटकदेखि आउँदा त विश्वास गर्नुहुन्छ ।’ महिलाहरूले मात्र चलाएको संस्था भएकाले आफूभन्दा माथिल्लो निकायबाट हौसला पनि पाइरहने गरेको इन्चार्ज जोशीले बताइन् । महिला इन्चार्जसँगै सबै कर्मचारीहरू महिला भएको संस्थामा काम गर्दा एकअर्काका समस्याहरू बुझेर काम गर्न पाइरहेको त्यहाँ कार्यरत अनमी ललिता पन्तले सुनाइन् । ‘मिलेर काम गर्छौं । असहज महसुस गर्न परेको छैन,’ उनले भनिन्, ‘मैले यहाँभन्दा पहिले कैलालीमा पुरुष इन्चार्ज भएको स्वास्थ्य संस्थामा काम गरेर आएकी हुँ । त्यहाँ भन्दा यहाँ सजिलो भएको छ ।’

पुरुष मात्र संस्थामा हुन्छन् भन्ने सोचाइ हुने गरेको बताउँदै उनले सुनाइन्, ‘हाम्रोमा एक जना कार्यालय सहयोगी दाइ मात्र पुरुष हुनुहुन्छ, उहाँलाई सोध्छन् हामीभन्दा पहिले उपचार र औषधिका लागि । पछि दाइले हामीहरूलाई भन्नुहुन्छ बल्ल विश्वास गर्छन् ।’

जिल्लाको एक मात्र यही स्वास्थ्य संस्थामा महिला मात्र स्वास्थ्यकर्मीहरूले सेवा दिइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए । ‘महिला मात्र भएपछि प्रजनन स्वास्थ्यका समस्याहरू, परिवार नियोजनसम्बन्धी सेवा लिने महिलाहरू खुलेर कुरा गर्छन् अनि सेवा पाउन र समस्या पत्ता लगाउन सजिलो हुन्छ,’ प्रमुख भट्टले भने, ‘स्वास्थ्य संस्थामा सुरक्षित मातृत्व, परिवार नियोजन, बाल स्वास्थ्यका कार्यक्रमहरूमा महिलाहरू नै आउँछन् । सेवा दिने र लिने धेरै महिला भएकाले सजिलो पक्कै हुन्छ ।’

महिला मात्र कर्मचारीहरू भएको स्वास्थ्यचौकीबाट सेवा लिएर २८ दिनकी सुत्केरी जानकी जोशी आफूले प्राप्त गरेको सेवाप्रति खुसी छन् । ‘पुरुष मान्छे भएको भए सायद यति सजिलो सेवा पाउने थिएन जस्तो लागेको छ । सबै महिला भएर केही पनि अप्ठेरो नमानेर समस्या बताए सेवा लिने मौका पाए ।’

...

अढाई वर्षपछि डाक्टर

बैतडीको दुर्गम तल्लो स्वराड क्षेत्रमा स्थापित मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले २ वर्ष ५ महिनापछि बल्ल डाक्टर पाएको छ । मेलौली नगरपालिकाकै स्थानीय डाक्टर सुनिलसिंह पुजाराले फागुन २ गते सेवा दिन थालेका हुन् । २०७५ असोजमा त्यहाँ कार्यरत डाक्टर जीवन कार्की अध्ययन बिदामा गएपछि स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको थियो ।

अहिले डाक्टर आएपछि तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयवासीले गाउँ नजिकै स्वास्थ्य सेवा पाएका छन् । डाक्टर आएपछि मेडिकल अफिसरले दिने सेवासुविधा पाइरहेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणबहादुर चन्दले बताए । डाक्टरको दरबन्दी भए पनि अहेवको भरमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रमा डाक्टरले सेवा दिन थालेपछि ग्रामीण भेगका बासिन्दाले उपचारमा राहत महसुस गरिरहेका चन्दले बताए । नियमित बिरामी चेकजाँचसंँगै एक्सरे, अल्ट्रा साउन्ड, ईसीजी सेवा पनि डाक्टर आएपछि उपलव्ध हुन थालेको स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट मुकेशकान्त दयालले बताए ।

डाक्टर नहुँदा तल्लोस्वराड क्षेत्रका बासिन्दा दिनभरको यात्रा गरेर पाटन नगरपालिका वा जिल्ला अस्पताल जानुपर्ने बाध्यता थियो । स्वराड क्षेत्रको रेफरल सेन्टरका रूपमा पनि रहेको केन्द्रमा स्वास्थ्यचौकीबाट रेफर गरिएका बिरामीहरू पनि सेवा लिन आइरहने अस्पतालका डाक्टर पुजाराले बताए । उनका अनुसार दैनिक करिब ७० जना बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्थानीयस्तरमै सेवा पाइने भएपछि बिरामी सहजै आउने गरेका उनले बताए । उनले ‘३४ प्रतिशत शरीर जलेका बिरामीलाई पनि ४५ दिन स्वास्थ्य केन्द्रमै भर्ना गरेर यहीं उपचार गरी सन्चो भएपछि घर पठाएका छौं’ डाक्टर पुजाराले भने, ‘स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेकाहरूलाई पनि यहाँ केन्द्रमा पठाइन्छ । त्यस्ता केसहरू पनि हेरिरहेको छु । चौकीहरूले रेफर गर्ने अन्य केसहरू पनि हुन्छन् ।’ अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना मेडिकल अफिसर डाक्टर, २ जना हेल्थ असिस्टेन्ट, २ जना स्टार्फ नर्स, ४ जना अनमी, १ अहेवलगायत १८ स्वास्थ्यकर्मीबाट सेवा प्रदान भएको छ ।

करिब ७० हजार स्थानीयले चिकित्सकीय सेवा पाउन भनेर २०५६ सालबाट मेडिकल अफिसरको दरबन्दी रहने गरी प्राथमीक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको थियो । २० वर्षको अवधीमा २ वर्ष ६ महिना मात्र डाक्टर बसेका थिए । २०६८ मा डाक्टर जोनस तिवारीले ६ महिना र त्यसपछि डाक्टर जीवन कार्कीले २ वर्ष सेवा दिएका थिए । तेस्रो डाक्टरको रूपमा केन्द्रमा डाक्टर पुजारा आएका हुन् ।

प्रकाशित : वैशाख ४, २०७८ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×