कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपद्‍मा काम लाग्यो बालकोष

‘हामीले सरकारको मुख ताक्नुभन्दा हाम्रै कोषबाट मास्क सेनिटाइजर किनेर स्कुल चलाउनुपर्छ भनेर सरहरूसँग सल्लाह गर्‍यौं’
वसन्तप्रताप सिंह

बझाङ — बचतका लागि बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महावीरे सार्कीलाई अनौठो लाथ्यो । १० रुपैयाँ बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको १० रुपैयाँले आपतमा ठूलो सहयोग पुगेको छ ।

विपद्‍मा काम लाग्यो बालकोष

उनकी छोरी करिश्माजस्तै तलकोट ५ स्थित यो विद्यालयमा अध्ययनरत १ सय १० विद्यार्थीले गरेको बचत अहिले कोरोनाको विपत्मा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकाका अरू स्कुल बन्द रहेका बेला पनि सञ्चालनमा रहेको यो विद्यालयमा पढ्ने विद्यार्थीलाई कोरोनाको डर छैन । बालवालिकाले स्थापना गरेको बालकोषमा जम्मा रकमले कोरोना सुरक्षाका लागि आवश्यक मास्क, सेनिटाइजरलगायत सुरक्षा सामग्री किनेर विद्यार्थी र शिक्षकलाई वितरण गर्ने कार्यक्रम सञ्चालन भएको छ ।

कोराना महामारीका कारण गत चैतदेखि बन्द भएका बझाङको तलकोट गाउँपालिकाका विद्यालयहरू असोजमा मात्रै खुले । विद्यालय खुले पनि कोरोनाको जोखिम कायमै थियो । यद्यपि विद्यार्थीहरूसँग डराई डराई स्कुल जानुको विकल्प थिएन । कतिपय विद्यालय महामारीको डरका कारण अझै राम्रोसँग सञ्चालन हुन सकेका छैनन् ।

तर बाठपाला प्राविले यो समस्या भोग्नु परेन । सरकारले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दियो तर कोभिड सुरक्षा सामग्री अभावले पालिकाका अरू विद्यालय बन्द रहेकै बेला बाठपाला प्राविले पढाइ सुचारु गर्‍यो, जुन अहिलेसम्म पनि नियमित छ । ‘चार पास भएर पाँच कक्षामा गएकोमा मनमा खुसी त थियो तर कोराना लागेर मान्छे मरिरहेको खबर रेडियोमा सुन्दा स्कुल जान डर पनि लाग्थ्यो,’ कक्षा ५ मा पढ्ने बाल क्लबका अध्यक्ष राकेश सार्की भन्छन्, ‘गाउँमा भारतबाट आएका मानिसहरू पनि धेरै भएकाले साथीहरू विद्यालय जान डराइरहेका थिए । हामीले सरकारको मुख ताक्नुभन्दा हाम्रै कोषबाट मास्क, सेनिटाइजर किनेर स्कुल चलाउनुपर्छ भनेर सरहरूसँग सल्लाह गर्‍यौं ।’ पालिका विद्यालय चलाउने नचलाउने निर्णय गर्न नसकेर अन्योलमा रहेको बेला शिक्षक र बालक्लबले सल्लाह गरेर कोषको रकमबाट कोभिड सुरक्षा सामग्री किन्ने निर्णय गरेको उनले बताए ।

कोषमा जम्मा भएको करिब ११ हजार रकमले विद्यार्थीहरूलाई सुरुमा ६ महिनासम्म पुग्ने गरी मास्क, सेनिटाइजर आदि खरिद गरियो । प्रत्येक विद्यार्थीले मास्क लगाउन थाले र जोखिमपूर्ण अवस्थामा सेनिटाइजर प्रयोग गर्न थालेपछि सबै जना ढुक्क भएर स्कुल जान थालेको कक्षा ५ मा पढ्ने छात्रा वन्दना सिंहले बताइन् । अहिले पनि यो विद्यालयले बाल कोषको रकमले नै कोभिड सुरक्षा सामग्री खरिद गरेर पढाइ सञ्चालन गरिरहेको उनले बताइन् । ‘बालक्लबले मास्क र सेनिटाइजर दिएपछि स्कुल नआउनेहरू पनि ढुक्क भएर स्कुल आउन थाले । अहिले हामीलाई कुनै डर छैन’ अहिले विद्यार्थीहरूमा सरसफाइ गर्ने बानीको विकास हुनुको साथै विद्यालय आउँदा मास्क लगाएर आउने र विद्यालयमा सेनिटाइजर लगाई कक्षा कोठाभित्र जाने गरेको उनको भनाइ छ ।

२०७५ साल वैशाखबाट यहाँका विद्यार्थीले बालकोषको रूपमा मासिक १० रुपैयाँ जम्मा गर्न थालेका थिए । बालबालिकाहरूको यो प्रयासलाई एउटा गैरसरकारी संस्था एकीकृत विकास समाज नेपाल (आईडीएस) ले पनि सहयोग गरिरहेको छ । संस्थाले बालक्लबमा आबद्ध विद्यार्थीलाई सरसफाइसम्बन्धी सचेतना जगाएर उनीहरूमार्फत समुदायमा सरसफाइ अभियान चलाउन विभिन्न तालिम र सचेतनामूलक कार्यक्रमहरू चलाइरहेको छ । यसको प्रभाव समुदायस्तरमा पनि देखिन थालेको अभिभावकहरू बताउँछन् ।

‘१० रुपैयाँले के गर्ने होलान् भन्ने ठानेको थिए’ एक जना अभिभावक महावीरे सार्कीले भने ‘अहिले त्यही रकम आपत्मा काम लागेको छ । सबैभन्दा ठूलो कुरा हामीले सरसफाइ गर भनेर सिकाउनुपर्ने बच्चाहरू उल्टै हामीलाई सरसफाइ गर्न सिकाउँछन् । बच्चाहरूमा आएको परिर्वतन देखेर खुसी लाग्छ ।’

बालक्लबमा आबद्ध भैसकेपछि विद्यार्थीहरूको नेतृत्व विकाससमेत भएको छ । उनीहरू विभिन्न अतिरिक्त क्रियाकलाप गरेर क्षमता विकास गर्ने गरेका छन् । प्रत्येक शुक्रबार क्लबले हाजिरीजवाफ, वक्तृत्वकला र अन्य खेलकुदका कार्यक्रम आयोजना गर्ने गरेको छ । विद्यार्थीहरूले कोभिड–१९ बाट बच्ने उपाय र सरसफाइको बारेमा छलफल गर्छन् । उनीहरू विद्यालयलाई सरसफाइयुक्त बनाउन समेत लागिपरेका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?