विपद्‍मा काम लाग्यो बालकोष- सुदूरपश्चिम - कान्तिपुर समाचार

विपद्‍मा काम लाग्यो बालकोष

‘हामीले सरकारको मुख ताक्नुभन्दा हाम्रै कोषबाट मास्क सेनिटाइजर किनेर स्कुल चलाउनुपर्छ भनेर सरहरूसँग सल्लाह गर्‍यौं’
वसन्तप्रताप सिंह

बझाङ — बचतका लागि बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महावीरे सार्कीलाई अनौठो लाथ्यो । १० रुपैयाँ बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको १० रुपैयाँले आपतमा ठूलो सहयोग पुगेको छ ।

उनकी छोरी करिश्माजस्तै तलकोट ५ स्थित यो विद्यालयमा अध्ययनरत १ सय १० विद्यार्थीले गरेको बचत अहिले कोरोनाको विपत्मा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकाका अरू स्कुल बन्द रहेका बेला पनि सञ्चालनमा रहेको यो विद्यालयमा पढ्ने विद्यार्थीलाई कोरोनाको डर छैन । बालवालिकाले स्थापना गरेको बालकोषमा जम्मा रकमले कोरोना सुरक्षाका लागि आवश्यक मास्क, सेनिटाइजरलगायत सुरक्षा सामग्री किनेर विद्यार्थी र शिक्षकलाई वितरण गर्ने कार्यक्रम सञ्चालन भएको छ ।

कोराना महामारीका कारण गत चैतदेखि बन्द भएका बझाङको तलकोट गाउँपालिकाका विद्यालयहरू असोजमा मात्रै खुले । विद्यालय खुले पनि कोरोनाको जोखिम कायमै थियो । यद्यपि विद्यार्थीहरूसँग डराई डराई स्कुल जानुको विकल्प थिएन । कतिपय विद्यालय महामारीको डरका कारण अझै राम्रोसँग सञ्चालन हुन सकेका छैनन् ।

तर बाठपाला प्राविले यो समस्या भोग्नु परेन । सरकारले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दियो तर कोभिड सुरक्षा सामग्री अभावले पालिकाका अरू विद्यालय बन्द रहेकै बेला बाठपाला प्राविले पढाइ सुचारु गर्‍यो, जुन अहिलेसम्म पनि नियमित छ । ‘चार पास भएर पाँच कक्षामा गएकोमा मनमा खुसी त थियो तर कोराना लागेर मान्छे मरिरहेको खबर रेडियोमा सुन्दा स्कुल जान डर पनि लाग्थ्यो,’ कक्षा ५ मा पढ्ने बाल क्लबका अध्यक्ष राकेश सार्की भन्छन्, ‘गाउँमा भारतबाट आएका मानिसहरू पनि धेरै भएकाले साथीहरू विद्यालय जान डराइरहेका थिए । हामीले सरकारको मुख ताक्नुभन्दा हाम्रै कोषबाट मास्क, सेनिटाइजर किनेर स्कुल चलाउनुपर्छ भनेर सरहरूसँग सल्लाह गर्‍यौं ।’ पालिका विद्यालय चलाउने नचलाउने निर्णय गर्न नसकेर अन्योलमा रहेको बेला शिक्षक र बालक्लबले सल्लाह गरेर कोषको रकमबाट कोभिड सुरक्षा सामग्री किन्ने निर्णय गरेको उनले बताए ।

कोषमा जम्मा भएको करिब ११ हजार रकमले विद्यार्थीहरूलाई सुरुमा ६ महिनासम्म पुग्ने गरी मास्क, सेनिटाइजर आदि खरिद गरियो । प्रत्येक विद्यार्थीले मास्क लगाउन थाले र जोखिमपूर्ण अवस्थामा सेनिटाइजर प्रयोग गर्न थालेपछि सबै जना ढुक्क भएर स्कुल जान थालेको कक्षा ५ मा पढ्ने छात्रा वन्दना सिंहले बताइन् । अहिले पनि यो विद्यालयले बाल कोषको रकमले नै कोभिड सुरक्षा सामग्री खरिद गरेर पढाइ सञ्चालन गरिरहेको उनले बताइन् । ‘बालक्लबले मास्क र सेनिटाइजर दिएपछि स्कुल नआउनेहरू पनि ढुक्क भएर स्कुल आउन थाले । अहिले हामीलाई कुनै डर छैन’ अहिले विद्यार्थीहरूमा सरसफाइ गर्ने बानीको विकास हुनुको साथै विद्यालय आउँदा मास्क लगाएर आउने र विद्यालयमा सेनिटाइजर लगाई कक्षा कोठाभित्र जाने गरेको उनको भनाइ छ ।

२०७५ साल वैशाखबाट यहाँका विद्यार्थीले बालकोषको रूपमा मासिक १० रुपैयाँ जम्मा गर्न थालेका थिए । बालबालिकाहरूको यो प्रयासलाई एउटा गैरसरकारी संस्था एकीकृत विकास समाज नेपाल (आईडीएस) ले पनि सहयोग गरिरहेको छ । संस्थाले बालक्लबमा आबद्ध विद्यार्थीलाई सरसफाइसम्बन्धी सचेतना जगाएर उनीहरूमार्फत समुदायमा सरसफाइ अभियान चलाउन विभिन्न तालिम र सचेतनामूलक कार्यक्रमहरू चलाइरहेको छ । यसको प्रभाव समुदायस्तरमा पनि देखिन थालेको अभिभावकहरू बताउँछन् ।

‘१० रुपैयाँले के गर्ने होलान् भन्ने ठानेको थिए’ एक जना अभिभावक महावीरे सार्कीले भने ‘अहिले त्यही रकम आपत्मा काम लागेको छ । सबैभन्दा ठूलो कुरा हामीले सरसफाइ गर भनेर सिकाउनुपर्ने बच्चाहरू उल्टै हामीलाई सरसफाइ गर्न सिकाउँछन् । बच्चाहरूमा आएको परिर्वतन देखेर खुसी लाग्छ ।’

बालक्लबमा आबद्ध भैसकेपछि विद्यार्थीहरूको नेतृत्व विकाससमेत भएको छ । उनीहरू विभिन्न अतिरिक्त क्रियाकलाप गरेर क्षमता विकास गर्ने गरेका छन् । प्रत्येक शुक्रबार क्लबले हाजिरीजवाफ, वक्तृत्वकला र अन्य खेलकुदका कार्यक्रम आयोजना गर्ने गरेको छ । विद्यार्थीहरूले कोभिड–१९ बाट बच्ने उपाय र सरसफाइको बारेमा छलफल गर्छन् । उनीहरू विद्यालयलाई सरसफाइयुक्त बनाउन समेत लागिपरेका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

मजदुर आन्दोलित

कान्तिपुर संवाददाता

सर्लाही — सागरनाथ वन विकास परियोजनामा दैनिक ज्यालादारीमा कार्यरत मजदुर आन्दोलित भएका छन् । श्रम ऐन कार्यान्वयनको माग गर्दै उनीहरू बिहीबार कार्यालयको मुख्य गेटमा धर्नामा बसेका हुन् ।

मुख्य गेटमै मजदुरहरू धर्नामा बसेपछि कार्यालयको काम प्रभावित बनेको छ । श्रम ऐन लागू गर्न पटकपटक लिखित जानकारी गराउँदा पनि माग सम्बोधन नभएकाले आन्दोलनमा उत्रिनुपरेको परियोजनाका मजदुर युनियन अध्यक्ष सन्तोष साहले जानकारी दिए ।

परियोजनामा १ सय ३६ जनाले ज्यालादारीमा काम गरिरहेका छन् । ‘लामो समयदेखि काम गर्दा पनि न नियुक्ति पत्र छ, न त श्रम ऐनअनुसार सेवा सुविधा नै पाइएको छ,’ साहले भने, ‘आठ घण्टा काम गर्नुपर्नेमा बढी लगाइए पनि त्यसअनुसारको सुविधा पनि पाइएको छैन, पटकपटक मागबारेमा ध्यानाकर्षण गराइए पनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको छ ।’

प्रकाशित : वैशाख ३, २०७८ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×