१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

कैलालीमा प्रदूषण बढ्यो

गणेश चौधरी

कैलाली — आकाश धुम्म छ । हेर्दा पानी पर्लाझैं देखिन्छ तर पानी परेको छैन । बाहिर हिँडडुल गर्दा आँखा पोल्ने गरेको छ । कैलालीमा केही दिनयता बदलिँदो मौसमले सबैलाई पिरोलेको छ ।

कैलालीमा प्रदूषण बढ्यो

जानकी गाउँपालिका–३ का भोजराज चौधरीले भने, ‘विगतका वर्षहरुको जस्तो चैतमा खासै गर्मी पनि भएको छैन । बिहान त निकै चिसो पो हुन्छ तर घरबाहिर निस्कनेबित्तिकै आँखा पोल्न थाल्छ ।’

प्रदूषणका कारण मान्छेहरु बिरामी पर्ने सम्भावना बढेको टीकापुर अस्पतालका डा. सन्तोष सिटौलाले बताए । उनले भने, ‘अहिले वायु प्रदूषण बढी भएकाले श्वासप्रश्वासमा समस्या आउन सक्ने भएको र विशेषगरी दमलगायतका श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीलाई बढी असर गर्न सक्छ । त्यस्तै आँखामा पनि यसले असर पुर्‍याउन सक्छ ।’ प्रदूषणबाट जोगिन अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने, निस्कनै परे मास्क लगाउने र आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

काठमाडौंस्थित मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले पानी नपरेर आकाश धुम्म भएको बताइन् । ‘प्रदूषण निकै बढेकाले यस्तो भएको हो । पानी परेको भए आकाश खुल्थ्यो,’ उनले भनिन्, ‘देशैभरि यस्तै छ । पानी नपरेर प्रदूषण झन् बढेको हो ।’

डढेलो, सडकका धुलोधुवाँ तथा किसानले गहुँ थ्रेसिङ गर्दा उडेको भुसको धुलोलगायतका कारणले प्रदूषण बढेको हुन सक्ने उनले बताइन् । उनले भनिन्, ‘गत वर्षको तुलनामा यो वर्ष पनि तापक्रममा खासै फरक छैन । अलि कम हुन सक्ला । मान्छेले तापक्रम कम अनुभव गरे पनि मापनमा खासै फरक देखिँदैन ।’ नेपालको पश्चिम तराईमा बदली हुने सम्भावना भए पनि पानी पर्ने सम्भावना भने एकदमै कम रहेको उनले बताइन् ।

प्रकाशित : चैत्र २३, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?