कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्‍चनपुरमा आइसोलेसन अभाव

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरमा शुक्रबार ९ जनामा कोरोना संक्रमण पुष्टि भयो । शनिबार र आइतबार पनि एक/एक जना नयाँ संक्रमित थपिएका छन् । भारतबाट घर फर्किनेको संख्या बढेसँगै जिल्लामा नयाँ संक्रमित थपिने क्रम पनि बढेको छ ।

कञ्‍चनपुरमा आइसोलेसन अभाव

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि रोजगारीमा गएकाहरू घर फर्किन थालेका हुन्, जसका कारण संक्रमणको जोखिम थपिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । आइतबार मात्रै गड्डाचौकी नाकाबाट करिब ७ सय जना भित्रिए । यो नाकाबाट दिनहुँ ६/७ सयको संख्यामा नेपाली फर्किरहेका छन् । गड्डाचौकी नाकामा गरिएको एन्टिजिन परीक्षणमा हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ । भारतको दिल्ली, महाराष्ट्र, गुजरात र पञ्जाबलगायत क्षेत्रबाट आउनेहरूको एन्टिजिन परीक्षण भइरहेको छ ।

दैनिक एक/डेढ सय जनाको एन्टिजिन परीक्षण गर्दा एक/दुई जनामा संक्रमण पुष्टि भइरहेको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले बताए । उनका अनुसार कोरोना पोजिटिभ देखिएकाहरूसँगै आएकालाई १० दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको छ । कञ्चनपुरमा हालसम्म १६ हजार ५ सय १७ जनामा नमुना परीक्षण गरिएकामध्ये १७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित थपिए पनि जिल्लामा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा भने चासो पुगेको छैन । महाकाली अस्पतालमा ५० बेडको आइसोलेसन मात्रै छ । जिल्लामा क्वारेन्टाइन कतै छैन । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले भारतबाट सर्वसाधारण फर्किने क्रम बढेपछि जोखिम पनि बढेको बताए । उनका अनुसार अहिले जिल्लामा १७ जना सक्रिय संक्रमित छन् । दुई जना महाकाली अस्पतालको आइसोलेसनमा र अन्य होम आइसोलेसनमा छन् ।

यही क्रममा संक्रमित थपिए आइसोलेसन र क्वारेन्टाइनको अभाव हुने देखिएको छ । ‘केन्द्रबाट कुनै निर्देशन आएको छैन, अब संक्रमित बढ्न थालेपछि यसतर्फ सोच्छौं,’ जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘पालिकाहरूले बनाएका आइसोलेसनहरू पनि अन्य प्रयोजनमा प्रयोग भइरहेका छन् ।’

प्रकाशित : चैत्र २३, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?