कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्‍चनपुरमा सडक र नहर निर्माणका लागि ४ हजार बढी रुख काटिँदै

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरमा विभिन्न सडक र महाकाली सिंचाइ आयोजनाको नहर निर्माणका लागि ४ हजारभन्दा बढी रुख काटिने भएका छन् । यहाँ निर्माणाधीन ३ ठूला सडक र महाकाली सिंचाइ आयोजनाका लागि राष्ट्रिय तथा सामुदायिक वन र शुक्लाफाँटा  निकुञ्ज क्षेत्रका ४ हजार ३ सय रुखहरु काटिन लागेका हुन् ।

कञ्‍चनपुरमा सडक र नहर निर्माणका लागि ४ हजार बढी रुख काटिँदै

महाकाली सिंचाइ आयोजना तेस्रो चरणका नहर निर्माणका लागि बेदकोट नगरपालिकाको मुसेपानीदेखि जडेपानीसम्म मात्रै ४ वटा सामुदायिक वनका ८ सय बढी रुख काटिन लागेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । ती रुखहरु कटानका लागि एक वर्षअघि नै मन्त्रिपरिषद्बाट स्वीकृति भए पनि प्राविधिक कारणले हालसम्म नकाटिएको डिभिजन वन कार्यालयका रेञ्जर शिवराज अवस्थीले बताए ।

नहर निर्माणकै लागि सोही क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको २७ हेक्टरमा १४ सय १३ रुख कटान भइसकेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको हात्तीथला क्षेत्रमा रुखहरु काटिएको सहायक संरक्षण अधिकृत रबिन चौधरीले बताए । ती रुखहरु टीसीएनले काटेको हो ।

यसैगरी कृष्णपुर नगरपालिकामा पर्ने बंक–नाइल–बुडर सडक खण्डमा पर्ने १४ सय ६६ रुख कटानीका लागि स्वीकृत भइसकेको वन कार्यालयले जनाएको छ । बंकदेखि चुरेसम्म २० किलोमिटर क्षेत्रमा रुखहरु काटिने छन् । अहिले उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । कञ्चनपुरको दैजी–जोगबुडा सडकखण्डअन्तर्गत लिप्नासम्म १३५ रुख काटिने छन् ।

‘गत वर्ष नै ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) भएर मन्त्रिपरिषदबाट पनि कटानीको स्वीकृति भइसकेको छ,’ अवस्थीले भने, ‘कटानको प्रक्रियाका कारण ढिलाइ भएको हो ।’ उनका अनुसार कटान हुने रुखमा छपानसमेत भइसकेको छ ।

महाकाली करिडोरअन्तर्गत ब्रम्ह्देव क्षेत्रको खल्ला मसेट्टीसम्म १९ सय रुख काटिने प्रारम्भिक अध्ययन भएको छ । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर सडक वन क्षेत्रमा पर्दछ ।

विभिन्न क्षेत्रमा कटान भएका रुखको साटोमा १ रुख बराबर २५ नयाँ बिरुवा रोप्नुपर्ने र ५ वर्षसम्म ती बिरुवाको रेखदेख सम्वन्धित आयोजना कार्यालयले नै गर्नुपर्ने हुन्छ । ‘अहिले त जमिनसमेत सट्टाभर्ना दिनुपर्ने व्यवस्था छ,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले भने, ‘वन ऐन २०७६ आउनुअघिका योजना भएका कारण काटिएको रुखको साटो १ बिरुवा बराबर २५ बिरुवा रोप्नु पर्ने हुन्छ ।’

जिल्लाको दक्षिणी क्षेत्र जोडने दैजी–बेलडाडी–बेलौरी–डोकेबजार हुलाकी सडक, कलुवापुर–बेलौरी सडकखण्ड पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर जान्छ । अहिले तस् सडकहरुको पनि स्तरोन्नतिको काम भइरहेको छ । ‘तस् सडकमा ठूला रुखबिरुवा पर्दैनन्,’ निकुञ्जका सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘सानातिना बुट्यानहरु मात्रै पन्छाउनु पर्छ ।’

प्रकाशित : पुस २०, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?