कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आगो नबाली बस्न सकिँदैन’

बझाङ,बैतडी — लगातारको हिमपात र वर्षाले ह्वात्तै जाडो बढ्दा सुदूरपश्चिम पहाडको जनजीवन प्रभावित भएको छ । डेढ महिना अवधिमा यहाँ ५ पटकभन्दा बढी हिमपात भइसकेको छ । जाडो बढेपछि स्थानीयको दैनिक कामकाज ठप्पप्रायः भएको छ । उच्च पहाडी तथा हिमाली भेगका विद्यालय बन्द भएका छन् । चिसोले हिमाली भेगका बासिन्दा बढी समस्यामा छन् । 

‘आगो नबाली बस्न सकिँदैन’

ग्रामीण क्षेत्रका बासिन्दा घरभित्र आगो तापेर बसिरहेका भेटिन्छन् । बजार क्षेत्रका बासिन्दा पनि चोक र गल्लीहरूमा बिहानदेखि साँझसम्म आगोमै झुम्मिरहेका देखिन्छन् । कतिपय जिल्लामा प्रहरी र स्थानीय तहले सामूहिक रुपमा आगो ताप्नका लागि दाउरा दिन थालेका छन् । ‘बिहान र साँझ घाँसदाउरा र पानीपँधेरो गर्न समस्या छ,’ बझाङ दौलीचौरकी प्रमिला बोहराले भनिन्, ‘आगो नबाली बस्न सकिँदैन ।’


अघिल्ला वर्षमा माघ सुरु हुनासाथ घमाइला दिन हुन्थे । यो वर्ष दुई दशकयताकै बढी हिमपात भएकाले जाडो बढेको हुनसक्ने स्थानीयको अनुमान छ । हिमपात निरन्तर भइरहेकाले बझाङको साइपाल, सुर्मा गाउँपालिका र बुङगल नगरपालिकाको हिमाली भेगको तापक्रम माइनसभन्दा तल झरेको छ । चिसोले ससाना बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित छन् । बालबालिका बिरामी पर्न थालेको बझाङ कोटदेवलकी सरिता खड्काले बताइन् । विपन्न वर्गका घरपरिवारलाई झन् सास्ती थपिएको छ । ओढ्ने र ओछ्याउने गतिलो नहुँदा रातभर राम्रोसँग सुत्न नसकेको थलाराका गाउँपालिकामा रहेका हलिया परिवारकी ज्ञानादेवी दमाईले बताइन् । ‘कतिबेला घाम लाग्ला भनेर कुरेर बस्ने गरेका छ्रौ,’ उनले भनिन् । यहाँ १७ परिवार हलियाको बसोबास छ ।

जाडो बढेसँगै बालबालिकामा निमोनिया र वृद्धवद्धामा दमको संक्रमण बढिरहेको जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डा. वसन्तराज जोशीले बताए । ‘बिरामीको चाप बढेको छ,’ उनले भने, ‘अहिले दैनिक ओपीडीमा ५५ जना र आकस्मिक कक्षमा १० जना हाराहारीमा बिरामी आइरहेका छन् । यीमध्ये धेरैजसो चिसोसम्बन्धी रोगका बिरामी हुन्छन् ।’ उनले दैनिक ५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्नुपरेको बताए ।

जिल्ला अस्पताल बझाङ पनि बिरामीको संख्या बढेको प्रमुख सन्दीप ओखेडाले जानकारी दिए । चिसोमा आगो ताप्ने र धुँवाले दम र निमोनियाका रोगीहरूको रोग बिथोलिने भएकाले सचेत हुनुपर्ने उनको सुझाव छ । चिसो बढेसँगै दाउराको मूल्य पनि बढेको छ । बझाङ सदरमुकाम चैनपुरमा ग्यास चलनमा आएसँगै गर्मीयाममा प्रायः ठप्पजस्तै हुने दाउराको व्यापार जाडो बढेसँगै फस्टाएको दाउरा व्यापारीहरूले बताए ।


दौलीचौरको पटुडीबाट दाउरा बेच्न आएकी सखी बोहराले भनिन्, ‘अहिले जति मूल्य भने पनि विक्री हुन्छ ।’ एक महिना अघिसम्म ४ सयसम्ममा पाइने प्रतिभारि दाउराको मूल्य अहिले ६ सयसम्म पुगेको छ ।


जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाका विभिन्न सार्वजनिकस्थलमा आगो ताप्ने व्यवस्था मिलाएको छ । स्थानीय तह, वन डिभिजनलगायतका कार्यालयसँग मिलेर बैतडी प्रहरीले बसपार्क, बजारका चोकमा आगो ताप्नका लागि दाउरा वितरण गर्न थालेको हो ।


गोठालापानी बजार, देहिमाण्डौं, सत्बाज, पाटन, गोकुलेश्वर लगायत यात्रु र स्थानीयको बढी भीडभाड हुने ठाउँमा दाउरा वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले बताए । यस्तै, डडेलधुराका बजार क्षेत्रका स्थानीयलाई निःशुल्क दाउरा वितरण गर्न थालिएको सशस्त्र प्रहरी बल डडेलधुराका डीएसपी भुवनराज पन्तले जानकारी दिए ।

प्रकाशित : माघ ८, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?