डराउँदै भारततिर- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डराउँदै भारततिर

मोहन बुढाऐर

धनगढी — बैतडीको तल्लोस्वराडका भानदेव पन्त पाँच जनाको परिवारसहित भारतको महाराष्ट्र हिँडेका छन् । १० वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका उनीसँग उतैको आधार कार्ड पनि छ ।

गत जेठमा महाराष्ट्र कोरोनाले आक्रान्त भएका बेला उनी पुर्ख्यौली थलो फिरेका थिए । कैलालीको गौरीफन्टामा भेटिएका उनलाई महाराष्ट्रलगायत सहरमा फैलिएको कोरोना संक्रमणले चिन्तित बनाएको छ ।

महाराष्ट्रमा फेरि लकडाउन हुन लागेको खबर सुनेपछि मन भारी भएको उनले बताए । ‘घर फर्कनुभन्दा तत्काल महाराष्ट्र प्रवेश गर्न नपाए पनि दिल्लीमा आफन्तकहाँ बसेर काम खोज्छु भन्ने लागेको छ,’ उनले भने, ‘१० महिना गाउँमा बस्दा यहीं बसेर बालबच्चा पाल्न सक्ने अवस्था देखिनँ । डराउँदै भए पनि जानुपरेको छ ।’

गौरीफन्टा नाका हुँदै भारत प्रवेश गर्दा नेपालीले घण्टौं लाम बस्नुपर्ने कष्ट अझै हट्न सकेको छैन । अन्य नाकाबाट आउजाउ सहज भइसके पनि सुदूरपश्चिमकै मुख्य गौरीफन्टा नाकाबाट भारत जानेलाई सुरक्षाकर्मीले विवरण राख्नकै लागि घण्टौं लाइन लगाउने गरेका छन् । ‘आफ्नो ठाउँमा काम नपाएर भारत गइरहेका छौं । नेपाली सुरक्षाकर्मीले घण्टौं उभ्याएर कष्ट दिने गरेका छन्,’ भारत जान लागेका कैलाली सुख्खडका सुरज चौधरीले भने । सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक मोहनराज पन्तले दैनिक चार/पाँच सय नेपाली भारत गइरहेको बताए । माघ महिनाअघि भने दैनिक दुई हजारसम्म जान्थे । पन्तले माथिल्लो तहको आदेशमा नाम–ठेगाना र गन्तव्य सोधेर रजिस्टरमा रेकर्ड राखिरहेको बताए ।

गत भदौमा नाका खुलेयता नेपालीहरू विवरण भरेर भारततिर गइरहेका छन् । भारतीय सुरक्षाकर्मीले सुरुमा आधारपत्र र रासन कार्ड बोकेकालाई मात्रै प्रवेश अनुमति दिने गरेको थियो । अहिले सामान्य विवरण बताएपछि प्रवेश दिइरहेको छ ।

प्रकाशित : चैत्र ८, २०७७ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

एक महिनामा तीन पटक हवाई भाडा वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — आन्तरिक उडानमा रहेका सातवटा नेपाली वायुसेवा कम्पनीले हवाई इन्धनको मूल्य बढेको कारण देखाउँदै एक महिनामा तीन पटक भाडा बढाएका छन् ।

हेलिकप्टर र वायुसेवा कम्पनी गरी १८ वटा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडाअन्तर्गत फ्युल चार्जमा ९० रुपैयाँसम्म वृद्धि गरेको छ । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेकाले सोही अनुपातमा स्वचालित प्रणालीअनुसार हवाई भाडा वृद्धि गर्नुपरेको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले यसअघि फागुन २१ मा हवाई भाडाअन्तर्गत फ्युल चार्जमा २ सय २० रुपैयाँसम्म बढाएको थियो । त्यसअघि फागुन ८ मा पनि संघले आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेको कारण देखाउँदै अधिकतम ९० रुपैयाँसम्म हवाई भाडा बढाएको थियो । आयल निगमले प्रतिलिटर हवाई इन्धनमा २ रुपैयाँ बढाएकाले हवाई भाडामा फ्युल चार्ज वृद्धि गर्नुपरेको संघले जनाएको छ ।

वायुसेवा कम्पनीहरूले आयल निगमले हवाई इन्धनको भाडा थपघट गर्दा त्यसैका आधारमा फ्युल चार्जमा पनि थपघट गर्ने स्वचालित प्रणाली लागू गर्दै आएका छन् । विमान कम्पनीहरूले हवाई भाडा बढाउन संघमार्फत नियामक निकाय नागरिक उड्डयन प्राधिकरणमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष जानकारी गराउँछन् । विभागीय मन्त्रीस्तरीय निर्णयबाट भाडादर हेरेफेर गरिँदै आएको छ । आन्तरिक उडानको भाडामा वायुसेवालाई यात्रुले भाडा, विमानस्थल सेवा शुल्क र फ्युल चार्ज गरी तीन शीर्षकमा रकम तिर्नुपर्छ । संघमा नेपाल वायुसेवा निगम र श्री एयरलायन्स भने सदस्य छैनन् । यीबाहेक बुद्ध, यती, तारा, सीता, समिट, सिम्रिक र सौर्य एयरलायन्स यसका सदस्य वायुसेवा कम्पनी हुन् । वायुसेवाबाहेक आठ वटा हेलिकप्टर कम्पनी पनि सदस्य छन् ।

प्रकाशित : चैत्र ८, २०७७ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×