कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले काँचो ईटा नष्ट

हालैको वर्षाले कञ्चनपुरका हरेक उद्योगमा औसतमा १५ देखि २० लाखसम्म काँचो ईटा नोक्सान भएको छ । 

(धनगढी) र (कञ्चनपुर) — लगातारको हिउँदे वर्षाले कैलाली र कञ्चनपुरको ईटा उद्योगमा क्षति भएको छ । वर्षाले लाखौंको संख्यामा काँचो ईटाहरू नष्ट भएका कारण क्षति भएको हो । वर्षाका कारण ईटा उत्पादन हुन नसकेकोले एकाएक मुल्य पनि आकासिएको छ । 

वर्षाले काँचो ईटा नष्ट

‘कञ्चनपुरका हरेक इटा उद्योगमा १५ देखि २० लाख सम्म काँचो ईटा नोक्सान भएको छ’ महाकाली ईटा तथा टायल उद्योग व्यवसायी संघका अध्यक्ष वलदेवसिंह बुडालले भने, ‘काचो ईटा मात्रै नष्ट भएको छैन, उद्योग नै ठप्प भएका छन् ।’ उनका अनुसार अहिले यहांँका भट्टामा ईटा नहुँदा अन्य निर्माण कार्य समेत प्रभावित भएको छ ।


कञ्चनपुरमा अनुमति पाएका ४० मध्ये ३७ वटा ईटा उद्योग सञ्चालनमा छन् । पटक पटकको वर्षाले भट्टामा लगाइएको आगो समेत निभेको छ । मंसिर अन्तिम साता आएको वर्षाले ठुलो संख्यामा काँचो ईटाहरू नष्ट गरेको थियो । यसै साताको वर्षाले फेरी क्षति गरेको बुडाल बताउछन् ।


काँचो ईटा निर्माणका लागि प्रति गोटाको १ रुपैयाँ ५० पैसा रुपैंयासम्म ज्याला पर्दछ । यसबाहेक माटो र ढुवानी समेत जोडदा ३ रुपैंया खर्च आउने गरेको व्यवसायीहरू बताउछन् । वर्षाका कारण नष्ट भएको काँचो ईटाको माटो कामै नलाग्ने भएपछि झनै क्षति हुने गरेको उनीहरू बताउछन् ।


‘मंसिर र अहिलेको वर्षाले २२ लाख काँचो ईटा नष्ट भएको छ’ बेदकोट नगरपालिकामा रहेको केदार ईटा उद्योगका सञ्चालक नारद पाण्डेयले भने, ‘यसको मात्रै लागत खर्च ३५ लाख बढी हुन जान्छ ।’ उनका अनुसार अहिलसम्म एक लट ईटा पकाएर बिक्रि गर्नुपर्ने भएपनि हालसम्म भट्टा बन्द रहेको छ । बेदकोटमै रहेको भुवनेश्वरी ईटा उद्योगमा पनि ११ लाख बढी काँचो ईटा नष्ट भएका छन् ।


लामो समयसम्म उद्योग बन्द हुंँदा एकातिर ईटाको अभाव भएको छ । अर्कोतिर काँचो ईटा नष्ट भएपनि लागत समेत बढेको छ । मंसिरमा वर्षा हुनुभन्दा अघि सम्म प्रतिईटा १२ रुपैंयामा बिक्रि भईरहेको थियो भने अहिले बढेर १४/१५ रुपैंया पुगेको छ । ‘अभावसँंगै लागत बढेकाले मुल्य बृद्धि भएको हो’ अध्यक्ष बुडालले भने, ‘मौसम नसुध्रिए फेरी मुल्य बढ्न सक्छ ।’ उनका अनुसार वर्षाले भिजेको भट्टामा कोइला र कामदार समेत बढी लाग्ने गरेको बताए ।

कैलाली र कञ्चनपुरका ईटा भट्टामा काम गर्ने अधिकांस भारतिय कामदार हुन्छन् । उनीहरूलाई विभिन्न ठाउँबाट यहांँ ल्याईको हुन्छ । लामो समय काम नचल्दा उनीहरू फर्केपछि कामदारको समेत अभाव हुने गरेको छ । हरेक ईटा उद्योगमा डेढ देखि दुई सय सम्म कामदारहरू प्रत्यक्ष रुपमा जोडिएका छन् ।


हरेक वर्ष हिउँदे वर्षाले ईटा उद्योगमा ठुलो नोक्सानी हुने गर्छ । यसको मार सिधै उपभोक्तामा पर्दछ । पकाएको ईटाको वीमा हुने गरेपनि काँचो ईटाको वीमा नहुंँदा व्यवसायीसंँगै उपभोक्ताले समेत यो मार खेप्नुपरेको हो ।

‘आगो लगाएर पकाउनुपर्छ तर पनि आगलागीको वीमा छ, जुन नोक्सान हुन्छ त्यसको वीमा छैन’ अध्यक्ष बुडाल भन्छन्, ‘पकाएको ईटा आगो र पानीबाट नोक्सान हुदैन, चोरी हुने सम्भावना पनि हुदैन तर त्यसकै वीमा हुन्छ ।’ उनले वर्षेनी वर्षाबाट हुने ठुलो क्षतिबाट जोगिने काँचो ईटाको वीमा हुनुपर्ने बताए ।


‘कैलालीमा १२ करोड मुल्य बरावरको क्षति’

हिउँदे बर्षाले कैलालीका ईटा उद्योग ब्यावसायीहरू मर्कामा परेका छन । एउटै ईटा उद्योगमा १० देखी १२ लाख सम्मको काँचो ईटा बर्षाले नोक्सान भएको ब्यवसायीहरूले बताएका छन ।


कैलाली ईटा ब्यवसायी संघका अध्यक्ष बिनोद शाहाले काँचो ईटामा वीमा नहुँदा ब्यवसायीले क्षति ब्यवर्होनु परेको बताए । ‘वीमा कम्पनीले काँचो ईटामा वीमा गर्न मान्दैन’ उनले भने, ‘काँचो ईटामा पनि बिमा हुनु पर्‍यो भन्ने हाम्रो पहिले देखीको माग हो ।’ सरकार वीमा कम्पनीलाई वीमा गराउनका लागि पहल गरि दिन बारम्बार अनरोध गर्दै आएको बताए ।


उनका अनुसार ३ दिनको बर्षाले कैलाली जिल्लाका ४५ वटा ईटा उद्योगमा १० देखी १२ करोडको क्षति भएको छ । ३ दिनको बर्षाले २ देखी ५ लाख सम्म काँचो ईटा बर्वाद गरि दिएको उनले बताए ।

‘५/७ लाख ईटा उत्पादनमा दुई /अढाई करोडको लगानी भएको हुन्छ’ उनले भने, ‘दुई/तीन दिन पानी पर्दा लगानी सवै बगेर जान्छ ।’ हरेक बर्षको हिउँदे याममा नोक्सानी भई रहेको बताए । गत बर्ष पनि माघमा परेको पानीले काँचो ईटामा नोक्सान पुगेको अर्का ईटा ब्यवसायी गणेश भट्टले बताए ।


‘सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरा मात्रै गर्छ’ उनले भने, ‘ईटा उद्योगमा भएको लगानी निजी क्षेत्रमा पर्दैन र? ।’ उनले ईटा उद्योगले सयौ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताए । समयमा प्रयाप्त ईटा उत्पादन गर्न नसकिए निर्माणको कामलाई समेत असर पर्ने उनी बताउछन । ‘अहिले सुदूरपश्चिममा मेडिकल कलेज लगायत राष्ट्रिय तथा प्रदेश गौरवका योजनाको निर्माणका लागि ईटाको अर्डर लिएर ब्यवसायीले उत्पादन गरेका थिए’ उनले भने, ‘बर्षाले निर्माण कम्पनीलाई समयमा ईटा दिन सकिने अवस्था छैन । पुनःउत्पादन गरेर दिदा निर्माण काममा ढिलो हुने भएको छ ।’ उनले त्यसैले ब्यवसायीको लगानी सुरक्षित गर्नका लागि सरकारले काँचो ईटाको वीमा सम्म गराई दिनका लागिपहल गर्न आवश्यक रहेको बताए ।


प्रकाशित : पुस २६, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?