कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरेलु हिंसा : कागज मिल्छ, मन मिल्दैन

‘मिलापत्र गरी पठाइएका घटनामा १५ प्रतिशतजति पुनः हिंसा भयो भनेर आउने गरेका छन्, घरेलु हिंसासम्बन्धी ऐनले पनि मिलापत्रमै जोड दिएका कारण हामी मिलापत्र गरेर पठाइ दिन्छौं’
वसन्तप्रताप सिंह, तृप्ति शाही

बझाङ\बैतडी — बझाङको बुंगल नगरपालिका २, दहबगरकी सरिता धामी कुँवर गत साउन दोस्रो साता महिला अधिकार मञ्चको आश्रय गृह (सेफ हाउस) मा आइन् । शरीरभर नीलडाम बोकेर आएकी उनलाई घरमा सासू र पतिले कुटपिट गरेका थिए । कुटपिट भएको यो घटना भने पहिलो थिएन । 

१६ वर्षको उमेरमा २ वर्षअघि उनले प्रेम विवाह गरेकी थिइन् । पहिलो वर्ष सामान्य चलेको उनको घरबार दोस्रो वैवाहिक वर्षगाँठको आरम्भसँगै पीडाका दिन सुरु भए । घरको काम गर्न सक्दिनँ भनेर कचकच गर्ने पति र सासूको अनावश्यक टोकेसो त छँदै थियो । उनले छोरी जन्माएसँगै यो टोकेसो हातपातको स्तरसम्म पुगिसकेको थियो । दिनदिनै कुटपिट हुन थाल्यो ।


कुटपिटको पीडा सहन नसकेर उनी न्यायको खोजीमा आश्रय गृह पुगेकी थिइन् ।उनको उजुरीका आधारमा प्रहरीले सासू र पति धनबहादुर धामीलाई पक्राउ गरी चैनपुर ल्यायो । महिला अधिकारकर्मी, दहबगरका बासिन्दा र प्रहरीको रोहबरमा पीडकहरूले आइन्दा मिलेर बस्ने र कुटपिट नगर्ने मिलापत्रको कागज गरेपछि ९ दिन माइत बसेर उनी घर फर्किइन् ।


मिलापत्र गरेको कागजको मसी सुक्न नपाउँदै उनीमाथि हिंसाको शृंखला पुनः सुरु भए । मिलापत्र गरी घर पुगेको तेस्रो दिन उनीमाथि कुटपिट सुरु भयो । ‘तँ आफैं घर छाडेर जान्छस् भने जा । हैन भने कालोमोसो दलेर घर निकाला गर्छौं भनेर कुट्न थाले । म के गरौं दिदी’ भन्दै उनले महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीलाई फोन गरेकी थिइन् ।


जोशीले उनका पतिलाई फोन गरेर हप्काइन् । पतिले पनि जोशीसँग कुटपिट नगर्ने वचन दिए । तर भोलिपल्ट आफूहरूविरुद्ध महिला अधिकारकर्मी गुहारेको भन्दै झन् भकुरे । घरमा बसे मारिदिन्छौं भन्दै कुटपिट गर्न थालेपछि उनी भागेर नगरपालिकाको केन्द्र भएको ठाउँ बिजगडा आएर पुनः अध्यक्ष जोशीलाई फोन गरिन् । आफूलाई चैनपुर आउने खर्च पनि नभएको भनेपछि जोशीले नै स्थानीय परिचित व्यापारीलाई खर्च दिन भनिन् । सरिता चैनपुर आउने तयारी गर्दै थिइन् ।


उनलाई खोज्दै आएका परिवारका सदस्यले बिजगडाको स्कुलनेर रोके । स्थानीय प्रहरी र नगरपालिकाका जनप्रतिनिधिसमेत आएर यतै मिलापत्र गर्ने भन्दै उनलाई फकाए । मिलापत्र पनि भयो । साँझ पतिको साथ लागेर घर फर्किएकी उनले दोस्रो बिहान कालंगा नदीमा हाम फालेको भन्दै पति पुनः प्रहरीकहाँ पुगे ।


‘साँझ होटलमा सँगै बसेका थियौं । भोलिपल्ट मैले खानाको पैसा तिर्न लाग्दा कुद्दै गएर खोलामा हाम फालिन्,’ उनका पतिले प्रहरीलाई भने । तर उनले आत्महत्या गरेको कुरामा महिला अधिकार मञ्चकी अध्यक्ष जोशीलाई भने शंका छ । ‘मिलापत्र गरेर त फर्कियौं । तर श्रीमानले तलाईं मार्नका लागि २० हजार बोकेको छु ।


कि आफैं मार्छु कि अरुबाट मार्न लगाउँछु भनेर धम्काउँदै छ दिदी भनेर दिउँसो ४ बजेतिर फोन गरेकी थिइन् । त्यसपछि सम्पर्क हुन सकेन,’ जोशीले भनिन्, ‘राति नै मारेर फालेको पनि हुन सक्छ ।’ उनको शव हालसम्म पनि भेटिएको छैन । उनका पति आत्महत्या दुरुत्साहनको मुद्दामा धरौटीमा रिहा भएका छन् ।


बझाङकै जयपृथ्वी नगरपालिका १, कैलाशकी देवकला सिंह काखे छोरासहित अहिले आश्रय गृहमै बसिरहेकी छन् । पतिले कुटपिट गरी घरमा बस्न खान नदिएको भन्दै उनी १ वर्षको अवधिमा सदरमुकाम आएको यो तेस्रोपटक हो । यसअघि २ पटक जिल्ला प्रहरी कार्यालयमा महिला अधिकारकर्मीको रोहबरमा पति र उनीबीच मिलापत्र भइसकेको छ ।


बझाङमा मात्र होइन । सुदुरपश्चिमका पहाडी जिल्लाहरूमा पछिल्लो समय घरेलु हिंसाका घटना बढेका छन् । अधिकांश घटनामा मिलापत्र हुने गरे पनि पीडितहरू पुनः उस्तै प्रकृतिको समस्या लिएर प्रहरी कार्यालयको शरणमा पुग्ने गरेका छन् ।


बैतडीको दशरथचन्द नगरपालिकाकी पार्वती लुहारको कथा पनि बझाङकी सरिता कुँवरको भन्दा फरक छैन । घरायसी झगडा हुँदा पतिले यातना दिने गरेको भन्दै उनी दर्जनौंपटक प्रहरी कार्यालय पुगिसकेकी छिन् । कैयन् पटक मिलेर बस्ने कागज गर्दा छुट्को उनका पति र उनको मन भने मिल्न सकेको छैन ।


सोही नगरपालिकाकी जानकी भूलको पनि महिनाको आधा समय प्रहरी चौकी धाउँदैमा बित्छ । केही महिनाअघि उनले दर्ता गराएको अभद्र व्यवहारको मुद्दामा प्रहरीले उनका पतिलाई १ महिनासम्म थुनेको थियो । पछि मिलापत्र गरी छुटाइयो । दर्जनौंपटक मिलापत्रको कागजमा सहीछाप गरेको यो दम्पतीको पनि मन मिल्न सकेको छैन ।


‘मिलापत्र गरी पठाइएका घटनामा १५ प्रतिशतजति फेरि हिंसा भयो भनेर आउने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले भने, ‘घरेलु हिंसासम्बन्धी ऐनले पनि मिलापत्रमै जोड दिएका कारण हामी मिलापत्र गरेर पठाइ दिन्छौं । धेरैजसो त मिल्छन् । कतिपयको घरमा गएर फेरि उस्तै घटनाहरू दोहोरिने गरेको छ ।’


जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घरेलुहिंसासम्बन्धी मुद्दाहरूको तथ्यांकले पनि यस्तै देखाएको छ । बैतडीमा आव ०७४/७५ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ९८ घटनामध्ये ९६ वटा मिलापत्रमा टुंगिए । एउटा मुद्दा अदालत र एउटा जिल्ला प्रशासन कार्यालयमा कानुनी कारबाहीका लागि पठाइएको थियो ।


यस्तै आव ०७५/७६ मा ९६ घरेलुहिंसाका उजुरीमा ८३ वटा मिलापत्रमै टुंगिएका थिए । चालु आवको मंसिरसम्म ३१ घरेलुहिंसाका उजुरी प्रहरी कार्यालयमा आएका छन् । तीमध्ये २९ वटामा मिलापत्र भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किसनबहादुर चन्दले बताए । ‘संख्यामा धेरै देखिए पनि यसमा कतिपय एउटै व्यक्तिका उजुरीहरू दोहोरिएर दर्ता भएका छन्,’

उनले भने ।


जिल्ला प्रहरी कार्यालय बझाङको तथ्यांकमा पनि ३ वर्षको अवधिमा ३ सय २५ घरेलुहिंसाका घटना दर्ता भएकोमा ३ सय बढी मिलापत्रमै टुंगिएका छन् । यीमध्ये १५ प्रतिशतजति घटना पटकपटक दोहोरिएर दर्ता भएको प्रहरीको भनाइ छ ।दोहोरिएर आउने उजुरीहरूको संख्या प्रहरीकोमा मात्र होइन । स्थानीय तहमा रहेका न्यायिक समितिमा पनि उस्तै छ ।


बैतडीको दोगडाकेदार गाउँपालिकाको न्यायिक समितिमा आएका ३२ उजुरीमध्ये २४ वटा मिलापत्रमा टुंगिएका छन् । ५० बढी मुद्दा परेको बैतडीकै पाटन नगरपालिकाको न्यायिक समितिमा पनि २४ बढी मुद्दाहरूको मिलापत्र भएको न्यायिक समितिकी संयोजक सरस्वती कोलीले बताइन् ।

‘धेरैजसो मुद्दामा महिला दिदिबहिनीहरू नै मिल्ने कुरा गर्नुहुन्छ,’ दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती केसीले भनिन्, ‘हुन्छ त भनेर कागज गरेर पठाउँछौं फेरि हिंसा भयो भनेर आउनुहुन्छ ।’ अरुको दबाब, घरपरिवार र समाजका कारण पीडित महिलाहरूले अन्त्यमा मिलेरै जाने भनेर अडान कस्ने गरेको बैतडीका डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।


सुरुमा जाहेरी ल्याएर प्रहरीकोमा पुग्ने महिलाहरूलाई प्रहरीले सहयोग गर्दा पनि अन्तिममा आएर घरपरिवारको कुरा हो मिलेरै जाने भनेपछि आफुहरूको बाध्य हुने गरेको उनको भनाइ छ ।


आत्महत्या बढ्दै

प्रहरी र न्यायिक समितिमा परेका मुद्दाहरू मिलापत्रमा टुंगिए पनि हिंसा नरोकिँदा महिलाहरू आत्महत्याको बाटो रोज्ने गरेको महिला अधिकारकर्मीहरूको भनाइ छ । महिला अधिकार मञ्चले बझाङमा सञ्चालन गरेको आश्रय गृहमा ४ वर्षसम्म काम गरेकी अधिकारकर्मी सीता सिंह भन्छिन्, ‘पटकपटक न्यायिक निकायमा पुग्दा पनि हिंसा नरोकिएपछि आत्महत्या गर्न बाध्य हुने गरेको देखियो । सबै घटनामा मिलापत्र गर्नुपूर्व गम्भीर तरिकाले सोच्नुपर्ने अवस्था आएको छ ।’


सिंहले भनेको कुरालाई प्रहरी कार्यालयमा भएको आत्महत्याको तथ्यांकले पनि पुष्टि गर्छ । पछिल्लो ३ वर्षको अवधिमा भएका आत्महत्या गर्नेमा पुरुषको भन्दा महिलाको संख्या बढी छ । बैतडीमा ३ वर्षमा ९४ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ४९ महिला छन् । यस्तै बझाङमा पनि ३ वर्षमा ५६ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ३३ महिला छन् । प्रकाशित : मंसिर २३, २०७६ १४:०६

प्रतिक्रिया
पठाउनुहोस्

सामुदायिक विद्यालय सुधार्ने तयारी

कान्तिपुर संवाददाता

टीकापुर — विद्यार्थी घट्दै गएपछि सामुदायिक विद्यालय बचाउन तयारी थालिएको छ । सरकारी विद्यालयमा बर्सेनि विद्यार्थी घट्दै जाने, पढाइ राम्रो नहुने, शिक्षक आए पनि नपढाउनेलगायत गुनासो आएपछि सुधारका लागि स्थानीयसित छलफल सुरु गरिएको हो । 

टीकापुर ७ का वडाध्यक्ष रामलाल डगौराले भने, ‘सरकारी विद्यालयप्रति स्थानीयको चासो पनि कम हुँदै गएकाले अभिभावकको चासोबिना शैक्षिक गुणस्तर सुधार हुन नसक्ने ठानेर छलफल चलाइरहेका छौं । छलफलबाट आएको निष्कर्षका आधारमा शैक्षिक गुणस्तर बढाउन योजना बनाउँछौं ।’

टीकापुर नगरपालिका ७, सुनाहाफाँटामा रहेको जनता राष्ट्रिय माविको प्राथमिक तहमा विद्यार्थीको संख्या बर्सेनी घट्दै गएको छ । प्रावि तहमा सय विद्यार्थी मात्र अध्ययनरत छन् । ‘केही वर्षअघि एउटै कक्षामा सय विद्यार्थीसम्म हुन्थे । सबै निजी स्कुलतिर लागे,’ शिक्षक भीम विकले भने ।

शंकरपुरमा रहेको पशुपतिनाथ प्राविमा ७६ विद्यार्थी मात्र छन् । गत वर्ष ८६ जना थिए । यहाँ पढ्ने विद्यार्थी पनि निजी विद्यालयमा भर्ना भएका छन् । अभिभावकसित गरिएको छलफलमा शिक्षकले नै आफ्ना बालबच्चा निजीमा पढाउने भएकाले अरु अभिभावकले पनि निजी छानेको प्रतिक्रिया दिएका छन् ।

टीकापुर ७ का पशुपति अधिकारीले भने, ‘आफुले पढाउने विद्यालयको पढाइप्रति विश्वास नभएर शिक्षकले नै आफना बच्चा निजी स्कुलमा पठाउँछन् । अनि कसरी अभिभावकले सरकारी विद्यालयको विश्वास गर्नु ।’

सरकारी विद्यालयमा अधिकांश आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पढ्ने भनिए पनि पढाइ राम्रो हुन्न भन्ने मानसिकताले यहाँका अभिभावक अरु खर्च कटाएरै निजीतिर आकर्षित बनेका हुन् ।

प्रकाशित : मंसिर २३, २०७६ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×