जंगली फलबाट जुस : विश्वबजारमा माग- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली फलबाट जुस : विश्वबजारमा माग

वसन्तप्रताप सिंह

बझाङ — बझाङको हिमाली क्षेत्रमा पाइने डालेचुक (स्थानीय लवजमा तारुचुक) को व्यावसायिक प्रशोधन सुरु गरिएको छ । साइपाल गाउँपालिकामा प्रशस्त मात्रामा पाइने बहुउपयोगी यो फल यसअघि त्यसै खेर गइरहेको थियो । साइपाल गाउँपालिका र अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले स्थानीयलाई डालेचुक प्रशोधनसम्बन्धी तालिम र सामग्री उपलब्ध गराएपछि व्यावसायिक प्रशोधन सुरु गरिएको हो ।

सबैभन्दा बढी डालेचुक पाइने धुली क्षेत्रका ३२ जनालाई संकलन, प्रशोधन र बजारीकणको सीप सिकाएपछि उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । डालेचुकबाट जुसलगायत विभिन्न खाद्य सामाग्री, औषधि र शृंगारिक सामग्री उत्पादन गर्न सकिन्छ । तत्काललाई जुसको मात्र उत्पादन थालिएको छ । बजारको अवस्था हेरेर अन्य उत्पादन पनि सुरु गरिने व्यवसायीको भनाइ छ ।


‘हाल बजारमा जुसकै माग बढी छ,’ व्यवसायी मंगल बोहराले भने, ‘बिस्तारै यसको बियाँ र पातबाट बन्ने सामग्री उत्पादन सुरु गर्ने योजना बनाएका छौं ।’ तालिमसँगै व्यवसाय गर्न चाहनेका लागि डालेचुकको दाना संकलन गर्ने कैंची, काँडा हटाउने र खुर्कने उपकरण र फलबाट रस निकाल्ने आत्याधुनिक मेसिन (कोल्ड प्रेस जुसर) समेत अनुदानमा वितरण गरिएको छ । जुस फिल्टर गर्ने मेसिन, प्याकिङ तथा लेबलिङ गर्ने उपकरण पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।


उपयोगिता र प्रयोग

यहाँका बासिन्दा पेटमा जुका परे डालेचुक सेवन गर्छन् । ‘जुकाको यो भन्दा राम्रो औषधि नै छैन,’ साइपाल गाउँपालिका काँडाका गोरख बोहराले भने । बच्चाले उमेर पुगिसक्दा पनि स्पष्ट बोल्न नसकेमा डालेचुक चटाउँदा छिटो र प्रष्ट बोल्ने, गर्भवती अवस्थामा प्रत्येक साँझ तारुचुक चाटेमा सुत्केरी हुन सहज हुने स्थानीयको अनुभव छ । पेटको दुखाई, अजिर्ण लगायतका समस्यामा पनि डालेचुक उपयोगी हुने गरेको धुली आमा समूहकी अध्यक्ष धनकला रोकायाले सुनाइन् ।


‘स्थानीयलाई यसको व्यावसायिक महत्व बुझाउन तालिम दिइएको हो,’ तालिम प्रशिक्षक वन विभागका वन अधिकृत युवराज पोखरेलले भने, ‘बजारमा यसको मागबारे थाहा पाएपछि उनीहरू डालेचुक उद्योगमा लगानी गर्न उत्साहित भएका छन् ।’


साइपाल गाउँपालिका क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो स्थानीय तह हो । करिब १ हजार ४ सय वर्गकिलोमिटर क्षेत्रफल ओगटेको गाउँपालिकामा आवादी क्षेत्र कूल क्षेत्रफलको ५ प्रतिशतभन्दा कम छ । सबैजसो भूभाग वनजंगल, भिरपहरा, हिमाल र हिमाली पठारले चर्चेको छ । यहाँका अधिकांश जंगलमा ठूलो परिमाणमा डालेचुक पाइन्छ । डालेचुकलाई सुदुरपश्चिम र कर्णाली क्षेत्रमा ताराचुक, शंखधारा, अमृतधारा आदि नामले पनि चिनिन्छ ।


सामान्यतया डालेचुक वा भूइँचुक (अंग्रेजीमा सिबकथ्रोन) भन्ने गरिएको यो जंगली फल बहुमूल्य र गुणकारी भएको डालेचुक विज्ञ युवराज पोखरेल बताउँछन् । मानव शरीरलाई आवश्यक पर्ने विभिन्न भिटामिन र खनिज पाइने भएकाले विश्व बजारमा डालेचुकको माग र मूल्य उच्च रहेको उनको भनाइ छ । पोखरेलले २० वर्षदेखि डालेचुकका विषयमा २५ जिल्ला तथा विदेश पुगेर अध्ययन गर्दै आएका छन् ।


विश्वबजारमा माग

विश्व बजारमा डालेचुकबाट बनेका जुस, जाम, क्यान्डी, वाइन, सर्वत, सर्वत पाउडर (ट्याङ), पातको चियाको माग बढी छ । यसको बिउ र रसमा तेलको मात्रा हुने र त्यसमा क्यारोटिन लगायत विभिन्न प्रकारका लाभकारी तत्वहरू पाइने भएकोले औषधि बनाउन पनि प्रयोग हुने गरेको पोखरेलले बताए ।


चीन, जर्मनी, रुस, फिनल्यान्डलगायत देशले यसको व्यावसायिक खेती पनि गरिरहेका छन् । चीनमा ३० लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा डालेचुकको वृक्षारोपण गरिएको छ । विभिन्न सामग्री उत्पादन गर्न २ सय बढी उद्योग स्थापना गरिएको उनको भनाइ छ ।


कहाँ फल्छ?

पोखरेलका अनुसार डालेचुक नेपालका २६ जिल्लामा पाइन्छ । माइनस ४० देखि ४० डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा हुर्कनसक्ने यो बिरुवा समुद्र सतहबाट १ हजार ८ सयदेखि ५ हजार मिटरको उचाइसम्म पाइन्छ । रुखो ठाउँमा पनि हुर्कनसक्ने डालेचुकको बिरुवाले जैविक विविधता र माटोको गुणस्तर सुधार्न पनि भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।


उत्पादन भएको डालेचुकको जुसलाई जिल्लाबाहिर बजारीकरण गर्न पहल गरिरहेको गाउँपालिकाले जनाएको छ । गर्भवती महिलाका लागि पोषणयुक्त खाद्य वस्तु वितरण कार्यक्रममा डालेचुकको जुससमेत समावेश गर्न पहल गरिने गाउँपालिकका स्वास्थ्य संयोजक लोकेन्द्र जेठाराले बताए ।

प्रकाशित : माघ ३, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

खुलामञ्चमा सवारी निषेध अवज्ञा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले खुलामञ्चमा सवारीसाधन निषेध गर्ने निर्णय कार्यान्वयन गर्न सकेको छैन । वडा नम्बर २८ कार्यालयले बुधबारदेखि खुलामञ्चमा सवारी पार्किङ गर्न नदिने भन्दै सूचना टाँस गरेको थियो ।

सवारीधनीले निर्णय अवज्ञा गरे पनि अब कसरी रोक्ने भनेर छलफल गर्ने वडाध्यक्ष भाइराम खड्गीले बताए । निषेध जारी गरेकै दिन खुलामञ्चभित्र निजी सवारी पार्किङ गरिएका थिए । खुलामञ्च ०७२ सालयता अतिक्रमणमा परेको छ ।

मञ्चको उत्तरतिरको भागमा बसपार्क बनाइएको छ । आधा भागमा निजी सवारी पार्किङ गरिएको छ । पुरानो बसपार्कमा भ्युटावर बनाउन लागेपछि त्यहाँका बस ६ महिनाका लागि खुलामञ्च सारिएको थियो । तर, चार वर्ष बित्दा पनि बसपार्क सारिएको छैन । मञ्चकै एक छेउमा दरबार हाई स्कुल बनाउने जिम्मेवारी पाएका चिनियाँ ठेकेदार बसेका छन् । खुलामञ्च, टुँडिखेललगायत खुला ठाउँको अतिक्रमण हटाउन माग गर्दै दुई महिनायता ‘अकुपाई टुँडिखेल’ अभियान जारी छ ।

प्रकाशित : माघ ३, २०७६ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×