किन हुन्छ सामूहिक आत्महत्या ? - फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन हुन्छ सामूहिक आत्महत्या ? 

काठमाडौँ — बिहीबार दिउँसो दुई बजेतिर चन्द्रागिरी नगरपालिका–४, थानकोटका विनय लामिछाने धादिङ आदमघाट बजारस्थित ससुराली हिँडे । ३५ वर्षीय विनयका साथमा थिए, पत्नी जमुना रेग्मी लामिछाने, दुई वर्षे र ६ महिने छोरा । कान्छो छोराको आज पास्‍नी थियो । 


विनय ससुराली कटेर बेनीघाट पुगेरमात्र ओर्लिए । र, सबै एकसाथ त्रिशुली नदीमा हेलिए । विनयको त प्रहरीले उद्धार गर्‍यो तर पत्नीको ज्यान गयो, दुवै सन्तान बेपत्ता छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले मिटर ब्याजको ऋण तिर्न नसकेपछि उनीहरुले आत्महत्याको बाटो रोजेको देखिएको छ । थानकोटस्थित घरमा प्रहरीले फेला पारेको ‘सुसाइड नोट’ मा धेरैलाई पैसा तिर्न बाँकी उल्लेख छ । यसबाट लामिछाने दम्पत्तिले घरबाट निस्कदै आत्महत्याको योजना बनाएको देखाउँछ ।


सामूहिक आत्महत्याको यो पहिलो घटना भने होइन् ।


गत वर्ष चितवनको भरतपुर महानगरपालिका–१८, शशीनगरमा एकै परिवारका तीनजनाले आत्महत्या गरेका थिए । सहरी क्लिनिक टोलकी ३५ वर्षीया आमा माया आलेमगर, १४ वर्षीया छोरी विनिता र १२ वर्षका छोरा विवेकले सलमा झुन्डिएर मृत्युवरण गेका थिए । छोराले सुनाइड नोटमा लेखेका थिए, ‘बुबा, तपाईं हामीलाई नसोधी किन जानु भयो ? ममीले साह्रै दुःख मान्नु भएको छ ।’ नेपाली सेनामा कार्यरत उनका बाबु घटनाको दुई दिन अगाडि काठमाडौं फर्किएका थिए ।


बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरे, अघिल्लो वर्ष । सुर्मा गाविस–५ का १४ वर्षे जुनतारा पुजारा, १४ वर्षकै रेखा पुजारा र उनीहरुभन्दा एक वर्ष जेठी कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर मृत्यु रोजेका थिए ।

......


नेपालमा वर्षेनी आत्महत्या बढ्दो छ । सन् १९९० को दशकको तुलनामा अहिले आत्महत्याको दर ६० प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ । एक्लै आत्महत्याको निर्णयमा पुग्न तुलनात्मक रुपमा सहज होला तर सामूहिक आत्महत्याको निर्णयसम्म कसरी पुग्लान ? त्यसमा पनि प्रायः बाबुआमाले सन्तानलाई आत्महत्याका लागि प्रोत्साहन गरेको देखिन्छ । धादिङ घटनामा पनि आमाबाबुको संयुक्त निर्णयमा बच्चा लिएर त्रिशुलीमा हेलिएको देखिन्छ । सामूहिक आत्महत्याको यो डरलाग्दो प्रवृत्तिभित्रको कारण के होला ?


‘आत्महत्यालाई सहज ठानियो’

मीना उप्रेती, समाजशास्त्री


हरेक आत्महत्या पछाडि भिन्न कारण हुनसक्छ । तर, साझा समस्या भनेको सहनशीलताको अभाव नै हो । साना सन्तानलाई मार्ने वा मर्न प्रेरित गर्ने घटना अझ विष्मयकारी हुन्छन् । अहिलेको पुस्तामा सहने शक्ति कम छ, अप्ठ्यारो स्थिति सामान गर्न सक्दैनन् । दुख परेपछि भागिहाल्छन् । यो भनेको हाम्रो हुर्काइ पद्धतिमै समस्या छ । सुखबारे बुझाइन्छ तर संकटसँग लड्ने मनोबल विकास गरिन्न ।


धादिङकै घटना हेर्ने हो भने दुवै कमाउन सक्ने थिए, ऋण पनि पार लगाउने सक्थे तर उनीहरुले सल्लाहमै आत्महत्याको बाटो रोजेको देखियो । अधिक महत्वाकांक्षा राख्ने तर सोहीअनुरुप सफलता हात नपर्दा मान्छे विचलित हुन्छन् । संघर्ष होइन, मरणको बाटो रोज्छन् । एकदमै डरलाग्दो पक्ष त के भने आत्महत्या सामान्य लाग्न थालेको छ । थोरै तलमाथि केही भयो कि ‘मर्छु’ भनेर धम्काइहाल्छन् ।


सामूहिक आत्महत्याको एउटा कारण आक्रोश पनि हो । सुरुमै दुवै मर्नेमा सहमत हुँदैनन् । समस्या आउनुमा एकअर्कालाई दोष लगाउँछन् । कुनै तार्किक निचोडमा नपुगेपछि एउटाले मर्छु भनेर तर्साउँछ, अर्कोले लौ म पनि मरिदिन्छु भन्छ । आफू त मरे मरे, बच्चालाई चाहिँ किन सँगै मार्छन् ? भन्ने लाग्न सक्छ । उनीहरुमा बच्चालाई पनि आफूसँगै आत्महत्या गराउनुपर्छ, त्यसो गर्दा न्याय हुन्छ, नत्र पाप लाग्छ भन्ने मानसिकता विकास हुन्छ । बच्चाको मायाकै कारणले आफूसँगै आत्महत्या गराउँछन् ।


हिजोको समय यति क्रुर र कठोर थिएन । मान्छेहरुमा धैर्य हुन्थ्यो । आज झगडा पर्‍यो, समस्या आइलाग्यो भने भोलि मिलिहाल्छ भन्ने आशा र भरोसा हुन्थ्यो तर आज मान्छेहरुलाई न आफूलाई अरुको साथ पाउँछु भन्ने विश्वास छ, न अरुलाई सहयोग गर्छु भन्ने प्रतिबद्धता नै । सबै कुरा भनेकै बेला चाहिएको छ, जब पाउदैन, सहज बाटो अर्थात आत्महत्यातिर लागिहाल्छन् ।


यसमा हाम्रो शैक्षिक प्रणालीको कमजोरी भुल्न मिल्दैन । भावनात्मक रुपमा बलियो बनाउने ज्ञान बाँड्न सकेका छैनौं । यसले निराशातिर धकेल्छ । यो भनेको विचलन र निराशा बढाउनु हो । माहोल पनि नकारात्मक छ । सम्पत्ति हुँदा पनि निराशा, नहुँदा पनि । सन्तान भए पनि सुख्ख छैन, नभए पनि । यस्तो निराशाको ट्रेन्डको कारण एकलौटी हुन्न, समाजका अनेक तत्वको भूमिका हुन्छ ।


हरेकले आफ्नो हैसियतअनुसार अगाडि बढ्ने हो भने निराशाको बिजारोपण हुन्न । परिवार र समाजले त्यस्तो माहोल निर्माण गरिदिनुपर्छ । जीवनप्रति प्रेम जगाउनु पर्छ । जीवनशैली महंगो छ, त्यहीअनुसार पैसा आर्जन हुन्न । शिक्षा पनि उत्पादनमूखी छैन । यो बेमेलले निराशा जन्माउने हो । एक्लोपना र भौतिकवादी सोचले पनि आत्महत्यामा प्रेरित गर्छ ।


‘सामाजिक हिनताबोधको डर’

नन्दिता शर्मा, मनोविद्


पति–पत्नी दुवैले एकसाथ आत्महत्या गरेका छन् भने त्यहाँ मानसिक रोग हुनसक्ने सम्भावना असाध्यै न्यून हुन्छ । किनभने, एकजनालाई समस्या भए पनि अर्कोले नीराकरण गर्छ र आत्महत्याबाट जोगाउँछ । तर आमा वा बाबुमध्ये एकले बच्चालाई आफूसँगै आत्महत्या गरे भनेचाहिँ मानसिक कारण हुनसक्छ । भर्खरै जन्मिएको बच्चा र आफूसँगै आत्महत्या गर्नेलाई हामी ‘पोस्टपार्टम डिप्रेसन’ भन्छौं । धादिङ घटना यसमा पर्दैन । त्यहाँ सामाजिक हिनताबोधको भय देखिन्छ ।


प्रायः सामूहिक आत्महत्यामा सामाजिक संरचनाकै दोष हुन्छ । व्यक्तिले कुनै काम गर्न खोज्छ, त्यसमा असफलता पाउँछ, जब त्यसबाट आफू र आफ्नो मान्छेलाई समाजले तिरस्कार गर्छ भन्ने सोच पैदा हुन्छ । उसले सबैलाई एकसाथ आत्महत्या गर्न प्रेरित गर्छ । जीवनप्रति नैराश्य जगाउँछ । सबै मान्छेले सबै अवस्थामा आफूलाई सही ढंगले समायोजन गर्न नसक्दा आत्महत्या विकल्प बनेर आउँछ । यसलाई नीराकरण गर्न बच्चा हुर्काइको पद्धतिमै धैर्य, प्रेम, सहनशीलता, संघर्ष र समस्यासँग जुध्ने आत्मविश्वास बढाउनेखालको बनाउनु पर्छ । समाज र आफन्तको न्यानोपन आभाष हुने हो भने पनि मानिस आत्महत्याबाट उम्कन सक्छ ।

प्रकाशित : माघ ३, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटक बाेकेको बस र ट्रक ठोक्किँदा दुईको निधन (अपडेट)

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा दुईजनाको निधन भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा १ प ७८३ नम्बरको पर्यटक बोक्ने बसले भरतपुर महानगरपालिका-१  मा सोही दिशामा गइरहेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो  । 

ठक्करबाट गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा निधन भएको चितवन प्रहरीले जानकारी दिएको छ । मृतकहरुको सनाखत भएको छैन् । दुई जनामध्ये एकजना अन्दाजी ३५/३६ वर्षकी महिला र अर्का २५/२६ वर्षका पुरूष रहेका प्रहरीले जनाएको छ ।

ट्रकलाई ठक्कर दिएपछि बस रामनगरकी शर्मिला मगरको घरमा गएर ठोक्किएको थियो ।

३० जना घाइतेमा २१ जना चिनियाँ नागरिकहरू छन् । घाइतेहरूको भरतपुरको सरकारी अस्पताल र दुवै मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७६ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×