३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

ऋणमुक्त भए चैनपुरका बादी

बझाङ — जयपृथ्वी नगरपालिकाको सभाहलमा उपस्थित २८ वर्षीय बम्म बादीको अनुहारमा छुट्टै चमक थियो । आफैंसँग मुस्कुराइरहेका उनको शरीरमा बिहीबारको जस्तो फुर्ती सायदै कहिल्यै भरिएको थियो । बम्म मात्र होइन, जयपृथ्वी नगरपालिकाको हलमा उपस्थित सबैजसो बादी समुदायका सहभागीका अनुहारमा बेग्लै खुसी झल्किन्थ्यो । कारण, उनीहरू पुस्तौंदेखीको ऋणको चक्रबाट मुक्त हुँदै थिए । उनीहरूका अनुहारमा चमक भने जयपृथ्वी नगरपालिकाले भरिदिएको हो, ऋणमुक्त गरेर । 

ऋणमुक्त भए चैनपुरका बादी

सदरमुकाम चैनपुरका १५ बादी परिवार र तीनका पुर्खाले लिएको ऋण र ब्याज गरी ८ लाख ४० हजार ४ सय साहुलाई तिरीदिएपछि ऋणमुक्त भएका हुन् । ‘आयआर्जनको स्रोत नभएको सीमान्तकृत समुदायको बिजोग देखेर ऋण तिरिदिने निर्णय गरेका हौं,’ नगरप्रमुख वीरेन्द्रबहादुर खड्काले भने, ‘ऋणमुक्त भएपछि समुदायले बाँच्ने उपाय खोज्छन् भन्ने लागेको छ ।’ उनीहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए ।

बादी समुदायका निरक्षरलाई दिएको रकमभन्दा बढीको तमसुक बनाउने गरेको आरोप खेपेका साहुलाई नगरपालिकाले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा पत्रकारको रोहवरमा आइन्दा बादीलाई ऋण नदिने सर्तमा सबै ऋण तिरिदिएको हो । नगरपालिकाले बादी समुदायका जीवित, बेपत्ता तथा मृतक गरी १८ जनाका नाममा रहेको सबै ऋण तिरिदिएको हो । नगरपालिकाले ८ लाख ऋण तिरिदिँदा बादी समुदाय खुसीले रमाउनुका पछाडि कारुणिक कथा छ । सदियौंदेखि एउटै साँघुरो झुप्रोभित्र कोचिएर बसिरहेका बादीलाई राहत होस् भन्ने उद्देश्यले नेपाल सरकारको जनता आवास कार्यक्रमले ६ महिनाअघि अनुदानमा घर निर्माण गरिदिएको थियो ।


सरकारले दिएको अनुदानमा केही रकम थपेर जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले १५ परिवारका लागि खानेपानीको व्यवस्था मिलाइदिए । त्यसका साथै उनले ओढ्ने ओछ्याउनेदेखि पकाउने ग्याससम्म जुटाइदिए । हिजोको फोहोर बादी टोल एकाएक नमुना बस्तीमा बदलियो । बादीको दिनचर्या फेरियो ।


स्थानीय सुनार समुदायका केहीलाई बादीको यो तामझामले चिढ्यायो । कारण, बादी समुदायका प्रायः सबैले उनीहरूबाट लिएको पुस्तौंदेखिको ऋण तिर्न बाँकी थियो । ‘तिमीहरू हाम्राभन्दा राम्रा महलमा बस्ने हाम्रो ऋण नतिर्ने ? कि त ऋण तिर हैन भने घर हामीलाई देऊ भन्दै साहुहरूले धम्की दिन थाले,’ रमेश बादी भन्छन्, ‘हामीले ऋण तिर्न सक्ने अवस्था थिएन । उनीहरूले त्यसो भए घर देऊ भन्दै केही घरमा तालासमेत लगाइदिए ।’ घरमा ताला लागेपछि बादीहरू गुहार माग्न कार्यालयमा आएपछि खड्काले नगर कार्यपालिकाबाट उनीहरूको ऋण तिर्ने निर्णय गराएका थिए ।

प्रकाशित : माघ ३, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?