नरहरी मनाउन घर फिर्ती- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरहरी मनाउन घर फिर्ती

मनोज बडू

दार्चुला — सुदूरपश्चिमका पहाडी क्षेत्रमा मनाइने ‘नरहरी त्यार’ (माघे संक्रान्ति) को चहलपहल बढ्दै गएको छ । यो पर्व मनाउन परदेश तथा घरबाहिर रहेका मानिसहरू घर फर्किरहेका छन् ।

रोजगारी तथा काम विशेषले गाउँघर बाहिर रहेका इष्टमित्र तथा आफन्तहरू घर पुग्दा रमाइलो बढ्दै गएको नौगाड गाउँपालिका–३ खारका मानसिंह ठगुन्नाले बताए । खासगरी यो चाड मनाउन रोजगारीका लागि भारत गएका अधिकांश स्थानीय घर फर्कन्छन्,’ उनले भने, ‘नरहरीलाई सबैभन्दा बढी महत्वका साथ मनाइने गरिन्छ ।’ यो सिजनमा अन्य समयभन्दा कामको चटारो कम हुने हुँदा चेलीबेटी माइत आउने गर्छन् । यसले गर्दा यहाँका गाउँघर तथा बजारमा नरहरी त्यारले रौनक बढाएको उनको भनाइ छ ।


स्थानीयस्तरमा रोजगारी नपाइने हुँदा यहाका धेरै मानिसहरू विदेश गएका छन् । चाडपर्वमा रमाइलो गर्ने युवाहरू विदेशतिर गएपछि खल्लो हुने स्थानीय सुनिल ठगुन्नाको भनाइ छ । दुहु गाउँपालिका–२ हिकिलाका दुर्गादत्त जोशी नरहरी पर्व मनाउन भारतको दिल्लीबाट सोमबार घर फर्केका छन् । ‘रोजगारीका लागि विदेश (भारत) गएका छोरा त्यारमा घर पुग्दा खुसी बढ्छ,’ दुर्गाकी आमा जस्मतीले भनिन्, ‘छोरा तथा घरको मान्छे बाहिर भए त्यार मनाउन मन लाग्दैन ।’ लामो समयपछि आफन्तसित त्यारमा रमाईलो गर्न मिलेको छ । आफन्त तथा इष्टमित्रसंँग भेटघाट हुने मौका पनि चाडपर्वले जुराउने गरेको दुर्गादत्तको भनाइ छ ।


यहाँका स्थानीय खासगरी युवाहरू कामको खोजीमा भारतका विभिन्न सहरमा जाने गर्छन् । रोजगारीका लागि घर बाहिर रहेका आफन्तहरू चाडपर्वमा घर फर्कने आशले बाटो हेरी आफन्तको पखाईमा बसेका छन् । होटलमा काम गर्न तीन वर्ष अगाडि भारतको बैंगलोर सहर पसेका महाकाली नगरपालिका–१ छापरीका मानसिंह कुँवर घरका लागि हिडेपछि गाँउमा रहेका घरपरिवार छोरा कहिले पुग्छ भनी बाटो हेरेर बसेका छन् । सोमबार दिल्ली पुगेका खबर पाएपछि एक/दुई दिनभित्र घर पुग्ने हुँदा घरपरिवार नरहरी बनाउन सामान जोहो गर्न सदरमुकाम खलंगा बजार पुगेका छन् ।


मानसिंहका बुवा दरपानले भने, ‘तीन वर्षसम्म छोरा घरमा नभएको बेला विभिन्न चाडपर्व मनाइयो । यसपालि नरहरी मनाउन छोरो घर आइपुग्ने हुँदा धुमधामले माघे संक्रान्ती मनाउने तयारी भइरहेको छ ।’ ब्यास गाउँपालिका–३ सुन्सेराका चन्द्रसिंह कुँवर ७ वर्षपछि माघे संक्रान्तिमा परिवारसँगै रमाउन यसपालि घर पुगेका छन् । स्वदेशमा रोजगारी नपाएका कुँवर परिवारको घर खर्च चलाउन र बालबच्चाको पढाई खर्च जोहो गर्न भारतको बैंगलौर पुगेका हुन् । सात वर्षपछि चाडपर्व परिवारका साथ मनाउन पाउदा खुसी भएको कुँवरले बताए । उनले भने, ‘चाडपर्वको समयमा विदेशमा परिवारको धेरै याद आउँथ्यो । घरबाट धेरै टाढा भएकाले चाडपर्वको रमाइलो नै हुँदैनथ्यो ।’


सीमानाकाहरूमा दैनिक गाउँ भित्रिनेहरूको संख्या बढ्दै गएको सीमा प्रहरी चौकीहरूले जनाएका छन् । जिल्लाको मुख्य बसपार्क लगायत नेपाल–भारत जोड्ने खलंगाको पुलघाट, दत्तु, जौलजिवी, तिग्रम तथा लाली पुलहरू र अन्य अस्थायी नाकाहरूमा दैनिक सयौंको संख्यामा घर फर्किरहेका छन् । ग्रामीण क्षेत्रमा माघे संक्रान्तिको तयारीका लागि किनमेल गर्नेको चटारो बढेको छ । पछिल्ला केही दिनयता नरहरी पर्वका लागि सामान खरिद गर्न खलंगा तथा सीमावर्ती बजारहरूमा स्थानीयहरूको भीड लागेको छ । यो पर्वमा राम्रो परिकार खाने र पहिरन लगाउने चलन छ ।

प्रकाशित : माघ १, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

सामुदायिक वन फाँडेर पार्क

ज्योति कटुवाल

(सुर्खेत) — वीरेन्द्रनगर नगरपालिका–४ स्थित भैरव सामुदायिक वन फँडानी गरेर करिब ७५ रोपनी क्षेत्रफलमा स्तम्भ र पानीको फोहोरासहितको पार्क निर्माण गर्न लागिएको छ । प्रदेश सरकारको वन तथा वातावरण निर्देशनालयले १ करोड १३ लाख ५१ हजार रुपैयाँको लगानीमा सामुदायिक वन क्षेत्रमा स्तम्भ र फोहोरा बनाउन सुरु गरेको हो ।

योजनाका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रकम विनियोजन गरेको छ । वनक्षेत्रमा ठेक्कामार्फत सहिद स्तम्भ र पानीको फोहरा बनाइन लागेको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार वनको ३.८० हेक्टर जमीनमा सहिद पार्क बनाउनेगरी काम सुरु गरिएको हो । निर्माण कम्पनी अभियान निर्माण सेवाले चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सक्नेगरी गत भदौ १२ गते ठेक्का सम्झौता गरेको थियो ।

डिभिजन वन कार्यालयले लामो समय रुख काट्न रोक लगाएपछि निर्माणको काम रोकिएको थियो । राजनीतिक दवावका कारण वन कार्यालय आफ्नो अडानबाट ३ महिनापछि पछि हटेको थियो । सामुदायिक वनका करिव ४ सय मूल्यवान् जडीबुटीसहित सालका रुख मासिएको वन डिभिजनका कर्मचारीको भनाइ छ । ‘वन फाँडेर पार्क बनाउन प्रदेश सरकारले बजेट छुट्याउँछ, कसरी हुन्छ वन संरक्षण ?,’ वन डिभिजनका एक कर्मचारीले भने, ‘प्रदेश सरकारले योजना पहिचान गर्न नसक्दा वन फडानीको समस्या बढ्दै गएको छ ।’ सहिद स्तम्भ बनाउन लगाइएको क्षेत्रमा सामुदायिक वनले वनस्पति उद्यान बनाएको थियो । उद्यानमा रहेका रक्तचन्दनलगायत मूल्यवान् जडीबुटी र अन्य बोटबिरुवा मासिएको उनको दाबी छ ।

वडा नं. ४ का बासिन्दा रुपे गिरीले सुर्खेतमा खानेपानी, सडकलयात अत्यावश्यक पूर्वाधार हुँदाहुँदै प्रदेश सरकारले पार्कका लागि बजेट विनियोजन गरकोमा आपत्ति जनाए । ‘सार्वजनिक वन मासेर पार्क बनाएर के पाइन्छ ?,’ उनले भने, ‘जंगलको बीचमा बनाइएको पार्कको सुरक्षा कसले लिन्छ ?, प्रदेश सरकारले पार्क बनाएर पर्यटकभन्दा पनि विकृति भित्र्याउन खोजेको जस्तो देखियो ।’

अभियान निर्माण कम्पनीका प्रतिनिधि अनप्रसाद अधिकारीले वन डिभिजनले लामो समय रुख कटानमा रोक लगाएपछि योजनाको काम सुरु गर्न ढिलाइ भएको बताए । उनका अनुसार वनकै अवरोधका कारण समयमै योजना सम्पन्न गर्न समस्या देखिएको छ । ‘सम्झौताको करिब ३ महिना वनको अवरोधका कारण कामै हुन सकेन,’ उनले भने, ‘असार मसान्तभित्रै काम सम्पन्न गर्ने सम्झौता गरिएकाले निर्माणलाई तीव्रता दिएका छौं ।’

४ नम्बर वडाध्यक्ष निलकण्ठ खनालले सामुदायिक वनको साधारण सभाले नै सहिद पार्कको नाममा जग्गा हस्तान्तरण गरेकाले निर्माणमा कुनै समस्या नभएको बताए ।

प्रकाशित : माघ १, २०७६ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×