बैंकको ऋणले लियो वडाध्यक्षको ज्यान- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकको ऋणले लियो वडाध्यक्षको ज्यान

मधु शाही

बाँके — बिहान १० बजे उनी रित्तै घरबाट निस्किए । परिवारलाई सुर्खेतको मेहलकुनामा काम छ भन्दै सामान्य जानकारी दिए । त्यसैदिन नगरसभा थियो । उनी अनुपस्थित थिए । मंगलबार घर छोडेर हिँडेका कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्ण बहादुर खड्का दुई दिनसम्म सम्पर्कविहीन भए ।

परिवारले खोजिरहे । दुई दिनपछि उनको छोरालाई भारतको बहराइचबाट फोन आयो । तपाई‌ंकाे मान्छे मृत अवस्थामा फेला परेका छन् भन्ने खबर पाएपछि परिवार, नगरपालिका, राजनीतिक नेता र सरोकारवालाले उनको खोजी गर्दै बुधबार भारतको बहराइचमा पुगे । बुधबारै शंकर होटल पुगेका शुभचिन्तक रित्तै फर्किए । भारतको प्रहरीले पोष्टमार्टम गरेपछि बिहीबार साँझ उनको शव घर ल्याइएको थियो । उनको शुक्रबार अन्त्यष्टी भएको छ ।


पासाे बन्याे बैंकको ऋण


नेकपाका नगर अध्यक्ष बसन्ती अधिकारीका अनुसार वडा अध्यक्ष खड्काले विष सेवन गरी आत्महत्या गरेको बताइन् । घटनास्थलमै पुगेकी उनले बैंकको ऋण तिर्न नसकेपछि मृत्यको बाटो रोजेको सुसाइड नोटमा उल्लेख रहेको बताइन् । मृतक खड्काले २२ पानाको लामो सुसाइट नोटमा आफ्ना शुभचिन्तक सम्झँदै परिवार, वडा, जनता र समाजको लागि सोचे अनुकुल योगदान गर्न नसकेको लेखेका छन् ।


वडाध्यक्ष खड्काले बैंकबाट घर धितो राखेको खुलेको छ । घर लिलामी गर्नभन्दा पनि बैंकले प्रक्रिया अघि नबढाएपछि उनी तनावमा आएको सुसाइड नोटले देखाएको नगर कार्यपालिका सदस्य नारायाणी ओलीले बताइन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विरबहादुर ओलीले घटना भारतमा भएकाले घटनासँग सम्बन्धित कुनै पनि जिम्मेवारी नेपाल प्रहरीलाई नभएको बताए ।


भारत प्रहरीले घटनामा थप अनुसन्धान गर्ने जिम्मा दिएमा मात्रै थप प्रक्रिया अघि बढ्न सक्ने उनले सुनाए । नेकपा बाँकेका सचिव अशोक कोइरालाले ऋण लिएको विषयमा परिवारले साथ नदिएको र विष खाएर खड्काले आत्महत्या गरेको पाइएको बताए ।

प्रकाशित : माघ ३, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्

गोरखामा हिमपहिरो

लालप्रसाद शर्मा

पोखरा — अत्यधिक हिमपातपछि गएको हिमपहिरोले गोरखामा ट्रेकिङ रुट (पैदल मार्ग) बन्द भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङमा शुक्रबार दिउँसो हिमपहिरो जाँदा लार्केबाट सामागाउँ जाने बाटो बन्द भएको प्रहरीले जनाएको छ ।

गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार करिब ५ सय मिटर माथिबाट आएको हिमपहिरोले लार्केपास ट्रेकिङ रुटको २५ मिटर बाटोमा क्षति पुर्‍याएको छ । ‘बाटो नभएका कारण तत्काललाई आवतजावतमा रोक लगाइएको छ’ अधिकारीले फोनमा भने, ‘स्थानीयसँग समन्वय गरी बाटो खुलाउने प्रयासमा छौं ।’ घटनास्थलमा प्रहरी चौकी लार्केका प्रहरी सहायक निरिक्षक प्रेमबहादुर बानियाँको कमाण्डमा प्रहरी खटाइसकिएको अधिकारीले बताए । हिमालबाट आएको हिमपहिरो नभई स्थानीय पहाडमा अत्याधिक हिमपातपछि पहिरो आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७६ १६:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×