बसाइँको लर्कोले रित्तिँदै पहाड

रोजगारीसँगै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारयुक्त क्षेत्रमा सहज जीवनयापनको खोजीमा पहाडी बस्तीबाट झर्ने क्रम बर्सेनि बढ्दै
वसन्तप्रताप सिंह, अर्जुन शाह

(बझाङ) र (धनगढी) — दशकअघि बझाङको च्युरी भण्डार गाउँको रौनक बेग्लै थियो । केटाकेटी कल्याङमल्याङदेखि वयस्कको चहलपहल । पाका पुस्ताको गफगाफ, बाहिरबाट भेटघाट गर्न आउनेहरू, आफन्त र इस्टमित्रको लर्कोले गाउँ नै गुल्जार हुन्थ्यो । अहिले ती दिन सम्झनामा मात्र छन् । बसाइँ जाने लर्कोले गाउँको अस्तित्व नै संकटमा पारेको ८२ वर्षीय चक्रबहादुर सिंहले देउडामार्फत सुनाए–

हात पड्यो तेलकाताईमा खुट्टो पड्यो दैमा,
छैन पउइलका जसो मरिगयो मैमा ...

उनका गाउँमा पुराना बसोबासी २० परिवार थिए । दसकयता १३ परिवार बसाइँ सरेर तराइ झरिसके । बाँकी सातमध्ये पनि चारले तराइतिर घरजग्गा जोडिसकेका छन् । बसोबास सार्न तयार छन् । सहरबजार पुगेर कमाइ गर्दै घर आउनेजानेको लर्कोले कुनै बेला उल्लासमय हुने यहाँका अधिकांश घर अहिले सुनसान छन् । चौडा आँगनमा झार उम्रेका थालेका छन् । पुरानो दरबार शैलीमा बनाइएका घर कलात्मक घर छन् । तर छाना जीर्ण भएर खस्न थालेका छन् । कुनै बेला लिपपोत गरेर चिटिक्क देखिने ती घरका भित्तामा घाँस उम्रिएका छन् । मान्छे बस्न छाडेका अधिकांश घर खण्डहरमा परिणत भइरहेका छन् ।

यहाँका घरजस्तै चक्रबहादुरको मन पनि खण्डहर हुँदै छ । उनको मनमा सँगै खेलेहुर्केका दौतरीसँग अन्तरंग कुरा गर्ने, सुखदु:ख साट्ने हुटहुटी छ । आधा जीवन एउटै थलोमा बिताएका समवयीको अन्तिम संस्कारमा सहभागी हुन नपाउँदाको छटपटी उस्तै छ । ‘म सँगैका दौतरीहरू कति त मरिसके । सुख दु:खसँगै गरेका आफन्तहरू मर्दा पनि खबर मात्र आउँछ । टाढा भएकाले अन्तिमपटक मुख हेर्न पनि पाइँदैन,’ उनले भावुक हुँदै भने, ‘यहाँ पनि मुख बोल्ने मान्छे खोज्न खोली (पल्लोगाउँ) तिर जानुपर्छ । सबैले छोडेर गए । गाउँ गाउँ जस्तो रहेन ।’ गाउँ बिस्तारै खण्डहर बन्दै गर्दा आफूलाई नियास्रोले छोप्न थालेको उनले दुखेसो पोखे । ‘दौतरीहरूसँग भेटघाट गरेको, पहिलेको जस्तै गाउँमा चहलपहल भएको सपना देख्छु । बिउँझिँदा मन विरक्त हुन्छ,’ उनले भने ।

सहज जीवनयापनको खोजीमा बसाइँसराइका कारण रित्तिँदै गएका पहाडी बस्तीको च्युरी भण्डार एउटा प्रतिनिधि गाउँ हो । पछिल्लो समय बझाङका धेरैजसो गाउँबस्ती यसरी नै एकपछि अर्को गर्दै रित्तिन थालेका छन् । शिक्षा, स्वास्थ्य र यातायातलगायतको सुविधा मोहमा पहाड छाडेर तराई झर्नेको लर्को दिनप्रतिदिन बढ्दै गएको तथ्यांकले देखाउँछ । जिल्ला समन्वय समिति बझाङका अनुसार आर्थिक वर्ष २०५२/५३ देखि ०७३/७४ सम्म २२ वर्षको अवधिमा जिल्लाका ६ हजार ८ सय ८० परिवार पुरानो थलोबाट बसाइँ सरेर अन्तै गएका छन् । जनगणना–२०६८ अनुसार ३३ हजार ७ सय ८६ घरधुरी रहेको यो जिल्लामा वार्षिक सरदर चार सय परिवार बसाइँ जाने गरेको देखिन्छ ।

‘पहाडी बस्तीबाट तराई झर्नु फेसनजस्तै भएको छ,’ निमित्त जिल्ला समन्वय अधिकारी शेखर रोकायाले भने, ‘अलि अलि पैसा कमायो कि तराईतिर घरघडेरी जोड्ने भन्ने हुन्छ । यसले बिस्तारै पहाडी गाउँहरू रित्तिँदै गएका हुन् ।’ बझाङ जस्तो कम जनसंख्या भएको जिल्लामा बर्सेनी यसरी बसाइँ सरेर जाने चलनले विकास पूर्वाधारका योजना कार्यान्वयनमा असर पारेको उनले बताए । ‘मुख्य कारण शिक्षा हो । पहाडमा राम्रो शैक्षिक संस्था नहुँदा यहाँका बासिन्दा सहर बजार र तराई झर्ने क्रम बढेको देखिन्छ,’ उनले भने, ‘रोजगारी र भौतिक पूर्वाधारका सेवा सुविधाको आकर्षणले अविकसित ठाउँका मान्छेलाई विकसित ठाउँले तान्छ । तर, यसरी बसाइँ जाने लहर कम भइदिएन भने हामीले आफ्नो जिल्लामा विकास योजना ल्याउन पनि गाह्रो पर्छ ।’ बसाइँसराइका कारणमा यातायात, स्वास्थ्य सेवा, रोजगारी र वैवाहिक सम्बन्ध आदि पनि रहेको उनको भनाइ छ ।

यी त भए व्यक्तिगत घटना दर्ता गराएरै बसाइँ जानेका कुरा । यसरी बसाइँ सर्नेमा तुलनात्मक रुपमा पढेलेखेका, वैदेशिक रोजगारीबाट फर्किएका र आर्थिक हैसियत राम्रो भएका बढी छन् । उनीहरू बसाइँ जाँदा व्यक्तिगत घटना दर्ता गराइ नयाँ ठाउँको थातवास व्यस्थितरूपमै लागेका हुन्छन् । विपन्न परिवार पनि बसाइँ जाने दर उल्लेख्य छ । पेशा विस्थापनको मारमा परेका तथा प्राकृतिक प्रकोपमा परेका परिवार पनि विभिन्न ठाउँमा बसाइँ जाने गरेका छन् । उनीहरू व्यक्तिगत घटना दर्ता नगराउने भएकाले त्यस्तो तथ्यांक सरकारी निकायमा छैन ।

छविस पाथिभेरा गाउँपालिका–४ ब्याँसीको कोट दरबार नजिकको कोट गाउँमा काल्च्या ओखेडा, डबल सानी, सुरी ओखेडा र बाटुली ओखेडालगायतका १० वटा घरमा चार वर्षदेखि ताल्चा झुण्डिएको छ । उनीहरूमध्ये धेरैका घर जीर्ण छन् । कतिपय भत्किने अवस्थामा पुगेका छन् । विपन्न यी दलित परिवारका सबैजना घरमा ताला झुन्ड्याएर रोजगारीका लागि भारत गएका ह्नु । यो गाउँका १४ परिवार दर्जी १० वर्षयता घर फर्केका छैनन् ।

‘कोही दिल्ली छन्, कोही बंगलोर, कोही काला पहाड (उत्तराखण्डतिर) तिर छन्,’ स्थानीय मीनबहादुर दर्जीले भने, ‘यता बसेर उसै पनि खान नपुग्ने भएकाले छाडेर सबै इन्डिया पसे । उतै बसेपछि उनीहरूले यहाँ गाउँको माया मारिसके ।’ उनीहरूमध्ये धेरैजसो सडकले खेत पुरिदिएपछि भारततिर विस्थापित भएको उनले सुनाए । यसरी गाउँघरको माया मारेर भारत हिंड्नेको परिवारको संख्या छबिस पाथिभेरा गाउँपालिकामा मात्र ५० भन्दा बढी छ । छिमेकी दुर्गाथली गाँउपालिकामा यो संख्या सय हाराहारीमा रहेको छविस पाथिभेरा–४ का वडाध्यक्ष अम्मरबहादुर थापाले बताए । ‘धेरैजसो गएको वर्षौ भइसक्यो फर्केका छैनन् । उतैतिर घरबार जोडेर बसेका छन्,’ उनले भने ।

यसरी घरमा ताला लगाएरै कमाउन भारत जाने र उतै बस्नेमध्ये अधिकांश दलित समुदायका रहेको छविस पाथिभेरा–७ का वडाध्यक्ष मोहनलाल बिकले बताए । यहाँका अधिकांश दलित परिवारहरूसँग आफ्नो सानो छाप्रोबाहेक पुर्ख्यौली जग्गाजमिन छैनन् । भारत पस्नु नै रोजगारीको एक मात्र विकल्प छ । ‘इन्डियाबाट ल्याएर यताका परिवार पाल्नुभन्दा सबै उतै जाऊँ भन्ने खालको भावनाले काम गरेको छ,’ बिकले भने, ‘दुई चार वर्षयता परिवारै उठेर जानेको संख्या बढेको छ ।’

दुर्गाथली र छबिस मात्र नभएर बझाङका प्रायजसो सबै गाउँबाट निम्न आय भएका परिवार रोजगारीका लागि भारत जाने र उतै घरजम गरेर बस्ने गरेको स्थानीय बताउँछन् । जयपृथ्वी नगरपालिका–५ सुवेडाका लालबहादुर सार्की भन्छन्, ‘हाम्रै गाउँबाट १३ परिवार इन्डिया गइसके । वडाभरिको हिसाब गर्ने हो भने २०/२५ घरमा ताल्चा झुन्डिएका छन् । कति घर त भत्किसके ।’ स्थानीयस्तरका रोजगारीको अवसर नहुनुले निम्नवर्गीय परिवार बसाइँ जानु बाध्यता रहेको उनले बताए ।

तराईको आकर्षण
तराईको कालापानी भनेर चिनिने नयाँ मुलुकको केन्द्र धनगढी फागुनपछि सुनसान हुन्थ्यो । औलोको डरले धेरै परिवार पहाड उक्लन्थे । गौरीफन्टामा एकाबिहानै कुर्लिने रेलको आवाजसँगै धनगढी ब्युझन्थ्यो र दैनिकी सुरु हुन्थ्यो । भारतीय पटके व्यापारीहरू आएपछि बजारको किनमेल सुरु हुन्थ्यो । २० को दशकमा औलो उन्मूलनका कार्यक्रम सुरु भएपछि ज्यानमारा रोगको प्रकोप घट्दै गयो । कैलाली कञ्चनपुरका बस्ती गुल्जार हुँदै आए ।

त्यतिबेलाको धनगढीको अवस्था अहिलेको पुस्ताका लागि कथाजस्तै छ । कैलालीको धनगढी मात्रै हैन, कञ्चनपुरका बस्ती पनि फराकिला हुँदै छन् । यो क्रम निकै रतारमा छ । दुइ वर्षअघि धनगढी आएको मान्छेले अर्कोपटक आउँदा रूप अर्कै देख्छ । दिनदिनै घर थपिएका छन् । बाटो खुलेका छन् । नयाँ बस्ती विस्तार भइरहेका छन् । जंगल फँडानी तीव्र छ । सडक पूर्वाधारलगायत भौतिक विकासको लहर चलेको छ । ‘जनघनत्वको चापले दिनदिनै धनगढीको रुप फेरिँदै छ,’ धनगढी–५ का तिलक भट्ट भन्छन्, ‘बजार एरियामा खाली ठाउँ भेट्नै कठिन हुने दिन आइसके ।’ खेतबारी प्लटिङ हुँदै पक्की घर निर्माणको क्रमले तीव्रता पाएको उनले बताए ।

१९९७ धनगढी कैलालीको सदरमुकाम भएको हो । त्यसअघि सरकारी कामकाज बेलौरीबाट हुन्थ्यो । धनगढी उपमहानगरकै तथ्यांकअनुसार हाल वर्षदिनमा एक हजारवटा हाराहारीमा नयाँ घर निर्माण भइरहेका छन् । ‘यो संख्या त वैधानिक रूपमा नक्सा पास गरेर घर बनाउनेहरूको मात्रै हो,’ उपमहानगरपालिकाका नासु टेकराज भट्टले भने, ‘नक्सा पास नै नगरी घर बनाउनेको संख्या दोब्बर छ ।’ पहाडबाट बसाइँ आउने र वैदेशिक रोजगारीमा रहेकाहरूले पुरानो थातथलो छाड्ने चाप उपमहानगरलाई परेको उनले बताए । उपमहानगरपालिकाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ९ सय ६२ नयाँ घरका नक्सा पास भएका थिए । तिनमा बसोबास गर्नेको संख्या ३ हजार ३ सय ९२ उल्लेख गरिएको थियो । यस्तै २०७५/७६ मा ७ सय ९५ घरनक्सा पास गरिएका थिए । ती घरमा २ हजार ८ सय ५८ परिवार संख्या बसोवास गर्ने उल्लेख छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा २ सय २ जनाले पक्की घरका लागि नक्शा पास गराएका छन् । ती घरमा ६ सय ७९ जना बस्ने विवरण सम्बन्धित घरधनीले महानगरपालिकामा पेस गरेका छन् ।

नयाँ घर थपिने क्रम जतिकै बसाइँ आएर घाडामा बस्ने, बजार बाहिर सानो झुप्रो–टहरो हालेर मुन्टो लुकाउनेको संख्या पनि उच्च छ । २०७३/७४ मा विभिन्न जिल्लाबाट धनगढीमा बसाइँ आउनेको वैधानिक संख्या ६ सय ७१ थियो । २०७४/७५ मा ८५६ पुगेको थियो भने ७५/७६ मा १ हजार २ सय १५ रहयो । ‘मान्छे बसाइँ आउनुको कारण शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारका सेवासुविधा हुन्,’ नगरप्रमुख नृपबहादुर वड भन्छन्, ‘बढ्दो जनघनत्वका तुलनामा सबै बस्तीमा विकासका पूर्वाधार पुर्‍याउन उपमहानगरपालिकालाई चुनौति छ ।’ धनगढी सदरमुकाम हुने बेला कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या करीब ५० हजार थियो । अहिले धनगढी नगरकै जनसंख्या डेढ लाख नाघेको छ । ‘त्यति बेलाको धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । जताततै जंगल थियो । अस्पतालका दुईवटा साना पक्की भवन थिए,’ मटियारीका प्रेमलाल रानाले भने, ‘अहिलेका सडकमा त्यसबेला एक्लै हिँड्न डर हुन्थ्यो । हेर्दाहेर्दै जताततै बाटो र घरैघर भए ।’

धनगढीमा मात्रै नभइ गोदावरी नगरपालिकामा बसाइँ सरेर आउने र घर निर्माणको तीब्र छ । नगरपालिकाका अधिकृत रामचन्द्र जोशी भन्छन् ‘एक महिनामा कम्तीमा ४० परिवार बसाइँ आएका छन् ।’ व्यक्तिगत घटना विधिवत दर्ता नगराउने धेरै भएकाले थपिएको चाप अझै धेरै रहेको उनले बताए । गोदावरीलाई प्रदेश राजधानी तोकिएपछि संख्या अझ बढेको उनको भनाई छ । राजधानी घोषणा भएपछि त झन अत्तरिया गोदावरी क्षेत्रमा धेरैका आँखा लागेका छन् । नगरपालिका क्षेत्रमा मात्र पाँच वर्षयता १३ सय बिघाभन्दा बढी सरकारी जग्गा अतिक्रमण भइसकेको छ । पाँच वर्ष अघिसम्म साविकको गेटा गाविस–३ मा आबादी जम्मा तीन सय बिघा रहेको तथ्यांकमा छ । अहिले अत्तरिया क्षेत्रमा झन्डै १३ सय बिघा जमिन आवादी भइसकेको छ । ‘सबैतिर बस्ती विकास भइरहेको छ,’ जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले भने, ‘खेतीपाती गर्नेभन्दा जग्गा टुक्र पारेर घडेरीमा बेच्दा फाइदा हुन्छ भन्ने बुझेकाहरूको जीवनशैली फेरिएको छ ।’ बसाइँसराइको चापले तराईको खेतीयोग्य जमिन मासिँदै जानु चिन्ताको विषय भएको उनले बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाँच जिल्लामा चुनावी तयारी

मेनुका ढुंगाना

(अछाम) — स्थानीय तहको उपनिर्वाचन गर्नुपर्ने सुदूरपश्चिमका ५ जिल्लामा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी सुरु गरेका छन् । कञ्चनपुर, बैतडी, डोटी, अछाम र बाजुराका गरी ७ स्थानमा उपनिर्वाचन हुँदैछ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृत तोकिएको छ । अहिले उनीहरूलाई आवश्यक प्रशिक्षण लगायतका काम भइरहेको छ । 

अछामको मेल्लेख गाउँंपालिका–५ का वडाध्यक्ष रामबहादुर बोहरा, बैतडीको पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलसबहादुर चन्द र दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर बिष्टको निधनपछि पद रिक्त छ । यी पदमा जनप्रतिनिधि चयनका लागि उपनिर्वाचन हुन थालेको हो ।

यस्तै डोटीको आदर्श गाउँपालिका–२ का वडाध्यक्ष पदमसिंह बोहरा, बाजुराको त्रिवेणी नगरपालिका–१ का वडाध्यक्ष खम्म दमाईको पनि मृत्युले पद रिक्त छ । कञ्चनपुर जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि फैरु तामाङले पुनर्वास नगरपालिका–३ को वडाध्यक्ष पद छाडे । उक्त पदका लागि पनि निर्वाचन हुँदैछ । उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशका १० हजारभन्दा बढीले मतदान गर्न पाउनेछन् । डोटीको आदर्श–२, अछामको मेल्लेख–५ र बाजुराको त्रिवेणी–१ मा गरि ४ हजार ३ सय ३६ मतदाता छन् । डोटीको आदर्श–२ मा २ हजार ४ सय ५९ र अछाममा १ हजार ९ सय ४ मतदाता छन् । बाजुरामा १ हजार ३९ र कञ्चनपुरमा १ हजार १ सय ९९ मतदाता छन् ।

सुदूरपश्चिमका यी पाँच जिल्लाबाट १० हजार ९ सय ३६ मतदाताले उपनिर्वाचनमा भाग लिनेछन् । अछामको मेल्लेख–५ मा निर्वाचन कार्यालय स्थापना गरिएको छ । भवानी आधारभूत विद्यालय काटेगाउँ र जनता मावि मेल्लेखमा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकारीगजेन्द्रप्रकाश थारूले बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×