कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरको घाँसले ज्यानकै जोखिम

(बझाङ) र (बैतडी) — गत चैतमा बझाङको बित्थडचिर–१ भन्नेगडाका हरिस बोहराले पत्नी डम्मरालाई गुमाए । छिमेकी जिल्ला बैतडीको बाँगासल्ला भीरमा घाँस काट्दाकाट्दै चिप्लिएर १९ वर्षीया डम्मराको मृत्यु भयो । एकातिर पत्नी वियोग, अर्कातरि २६ महिने छोरा हुर्काउन  उनलाई अहिले ठूलो पीर छ ।  

भीरको घाँसले ज्यानकै जोखिम

भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गुमाउने परिवारकी तेस्री महिला हुन् डम्मरा । त्यही भीरबाट लडेर ०६० सालमा हरिसकी आमा रत्नादेवी र ०७१ मा भाउजू देवीको मृत्यु भएको थियो । उक्त भीर र आसपास क्षेत्रमा पाँच वर्षयता वित्थडचिर र बझाङको चौखामका गरी १७ जनाभन्दा बढीले ज्यान गुमाइसकेको वित्थडचिर गाउँपालिका उपाध्यक्ष जानकी बोहराले बताइन् ।


‘घाँस काट्ने क्रममा एक/दुई जना नमरेको कुनै वर्ष छैन,’ उनले भनिन्, ‘कुनै–कुनै महिना त त्यही भीरबाट खसेर मर्नेको संख्या तीन–चार जनासम्म पुग्छ ।’ बझाङ सदरमुकाम चैनपुरसँगै जोडिएको पानकोटको भीरबाट लडेर ज्यान गुमाउनेको संख्या पनि उस्तै छ । ‘१८ वर्षमा पानकोटको भीरबाट २३ जना लडेर मरिसके,’ हेमन्तवाडाकी सुशीला खड्काले भनिन् ।


बझाङ र बैतडीमा घाँससँग ज्यान साट्नेहरूको संख्या योभन्दा कहालीलाग्दो छ । जुनसुकै गाउँमा गए पनि घाँसकै कारण दुई–चार जनाको मृत्यु नभएको कहीँ भेटिँदैन । असोजमा मात्र बझाङमा ४ र बैतडीमा ३ जनाले ज्यान गुमाइसके । बझाङमा ३ वर्षयता घाँस काट्ने क्रममा मृत्यु हुनेको संख्या ४१ छ । यिनमा ६ जना पुरुष र ३५ जना महिला छन् ।


घाँस काट्ने क्रममा भीर र रूखबाट लडेर मृत्यु भएकाको सबै अभिलेख प्रहरी कार्यालयमा नआउने भएकाले संख्या अझै बढी हुन सक्ने प्रहरी अधिकृतहरूको भनाइ छ । बझाङका डीएसपी गणेश बम भन्छन्, ‘यसरी मृत्यु भएका अधिकांशका परिवारले प्रहरीलाई खबर नै गर्दैनन् । आफ्नै तरिकाले गाउँमै दाहसंस्कार गर्ने भएकाले यकिन संख्या भन्न गाह्रो छ ।’ यसरी दुर्घटनामा परेकाहरूको पोस्टमार्टम नै नगरी दाहसंस्कार गरिने भएकाले सबै घटनाहरू दर्ता नहुने बैतडीका डीएसपी डिल्ली नारायण पाण्डेय बताउँछन् ।


घाँस काट्न गएकी श्रीमतीको लडेर ज्यान गएपछि ६ वर्षमुनिका ३ छोराछोरी हुर्काइरहेका जयपृथ्वी नगरपालिकाको कैलाशका पुड्के खड्काले भने, ‘गाइवस्तु नपालौं भने पनि भएन । सजिलो ठाउँमा घाँंस पाइँदैन । घाँसकै लागि सालिन्दा ३/४ जनाले ज्यान गुमाइरहेका हुन्छन् ।’ लुल्लुरेडाँडामा घाँस काट्ने क्रममा उनकी श्रीमती किडीको लडेर मृत्यु भएको थियो । उक्त भीरबाट खसेर २ वर्षयता गाउँका ६ जनाले ज्यान गुमाइसकेको उनले बताए ।


सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दा कृषि र पशुपालनमा निर्भर छन् । अधिकांशका गोठमा एक हल गोरु र एक दुहुनो गाई वा भैंसी हुन्छ । घाँस सहजै पाइँदैन । महिलाले भीर भीर घाँसका लागि ज्यान जोखिममा पार्नै पर्ने बाध्यता रहेको बैतडीको पञ्चेश्वर गाउँपालिकाकी कौशिल्या भण्डारी बताउँछिन् ।


‘महिलाको लागि सबैभन्दा ज्यानको जोखिम हुने भनेको गर्भवती र सुत्केरी बेलामा हो, त्यस्ता बेला पनि घाँस काट्न जानै परेको छ,’ अधिकारकर्मी उमा केसी भन्छिन् । घाँस खेतीका लागि वर्सेनी कार्यक्रम आएपनि प्रभावकारी हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पशुपति नाथले बताए ।



प्रकाशित : कार्तिक ३, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?