तीजमा स्थानीय तहको साथ
अछाम र बाजुरा — सहर–बजारमा मात्र होइन, गाउँगाउँमा तीजको रौनक छ । केहि वर्षयता धुमधाम साथ मनाउन थालिएको तीजमा अछाम र बाजुरामा स्थानीय सरकारले आर्थिक सहयोग गरी थप उमंग बनाइदिएका छन् ।
अछामका १० स्थानीय तहमध्ये सबैमा महिलालाई दर खुवाउनेदेखि तीज प्रतियोगितासम्म गरिएका छन् । बाजुरामा पनि त्यस्तै छ । टोलदेखि वडा हुँदै गाउँ तथा नगर स्तरीय प्रतियोगिता हुन थालेपछि महिलाहरू पनि खुसी देखिन्छन् ।
मंगलसैनमा शनिबार नगपालिकाले आयोजना गरेको तीज विशेष प्रतियोगितामा १३ समूह सहभागी भए । कसैले गीत गाए । कसैले नृत्य देखाए भने कसैले देउडामार्फत नै प्रतियोगितामा सहभागिता जनाए । ती सबैका लय र भाकामा महिलाले भोगिरहेका समस्या, पीडा, हिंसा, छाउपडी कुप्रथा, मदिरा, बालविवाहलगायत सामाजिक कुपरम्पराले महिलालाई पारेको समस्याबारे प्रस्तुति देखाएका थिए ।
केही वर्षअघिसम्म सदरमकाुम क्षेत्रका महिलाहरूले मात्रै तीजमा रमाइलो गर्थे । ‘गाउँतिर तीजबारे खासै थाहा थिएन,’ प्रतियोगितामा सहभागी मंगलसैन नगरपालिका २ की खन्टी विकले भनिन्, ‘योपटक मंगलसैनमै आएर आफ्ना दुःख समस्यालाई गीत र नाचबाट देखाउन पाउँदा खुसी छौं । योपटक त हामीलाई पनि तीज लाग्यो ।’ प्रतिस्पर्धा गर्न नगरका विभिन्न गाउँबाट आएका महिलाहरूलाई जमघट र भेटघाट गर्ने मौका मिलेको उनको भनाइ छ ।
‘जनप्रतिनिधि आएपछि महिलाका कुरा सुन्नुपर्यो । हाम्राबारेमा पनि बोल्नुपर्यो भनेर गीतमार्फत पनि सुनायौं,’ मंगलसैन ६ की नामसरा भण्डारीले भनिन्, ‘सबै महिलाको प्रस्तुतिमा दुःख, पीडा, हिंसाका कुरा मात्रै आएका छन् । यसले पनि महिलाको अवस्थाबारे थाहा हुन्छ । यी कुराबाट नगरले पनि केही बुझोस् भन्ने चाहन्छौं ।’
कार्यक्रमका सहभागी मंगलसैन ७ की पार्वती ढुंगानाले हराउँदै गएको मौलिकतालाई यस्तै कार्यक्रम गरी संरक्षण गर्नुपर्ने बताइन् । ‘३ महिनाअघि नै तीजका गीत आउन थालेपछि धेरैले आफ्नो मौलिकता बिर्सिएका छन् । दिदीहिनी एकै ठाउँमा बसेर गाउने, आफ्नै गीत सिर्जना गर्न बिर्सएका छन् । वेशभूषा, कला संस्कृतिको संरक्षण गर्नलाई पनि यस्ता प्रतियोगिता हुनुपर्छ,’ उनले भनिन्, ‘एक दिन बजार आउन नपाउने महिलाका लागि यो अवसर पनि हो ।’
नगरभित्रका महिलालाई बोलाएर तीजका अवसरमा प्रतियोगिता गर्दा महिलालाई हौसला मिलेको मंगलसैन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले बताइन् । ‘महिलालाई बोलाएर दर नै खुवाउन सक्ने अवस्था थिएन । त्यसैले तीज विषेश प्रतियोगिता गरेका हौं,’ उनले भनिन् । उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत चालु आवको पहिलो कार्यक्रम तीजकै अवसर पारेर सुरु गरेको उनले बताइन् । मंगलसैन नगरपालिकाले तीज प्रतियोगिताको लागि ५० हजार खर्च गरेको छ ।
यस्तै चौरपाटी गाउँपालिकाले पनि तीज विषेश प्रतियोगिताको लागि १ लाख २० हजार खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद ढुंगानाले बताए । यस्तै साँफेबगर नगरपालिकाले अन्तरपार्टी महिला सञ्जाललाई तीज प्रतियोगिता गर्न ५० हजार दिएको र १४ वटा वडालाई जनसंख्याको आधारमा रकम दिएको नगरउपप्रमुख बिर्मला बुड्थापाले बताइन् ।
उता बाजुराका स्थानीय तहहरूले पनि तीजका कार्यक्रमहरूलाई आर्थिक रुपमै सघाएका छन् । बडिमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले पनि तीज विशेष कार्यक्रमको आयोजना गरेका छन् । त्रिवेणी नगरपालिकाले तीज विशेष कार्यक्रममा ९ वटै वडालाई रकम उपलब्ध गराएको छ । प्रत्येक वडामा १० हजारका दरले नगर प्रवक्ता प्रेम थापाले बताएका छन् । उनले भने, ‘सबै मग्र रुपमा तीज विशेष कार्यक्रमका लागि १ लाख १५ हजार खर्च भएको छ ।’
बुढीगंगा नगरपालिकाले पनि तीज विशेष कार्यक्रमको आयोजना गरी ५० हजार खर्च गरेको उपप्रमुख तारा खातीले बताइन् । ‘सम्पूर्ण नगरपलिकाका महिलाहरूलाई शुक्रबार बोलाएर तीज मनाएका छौं,’ उपप्रमुख खातीले भनिन् । बडिमालिका नगरपालिकाले तीज विशेष कार्यक्रमको आयोजना गरी प्रसाद ग्रहण मात्र गरेको जनाएको छ ।
बुढीनन्दा, जगन्नाथ, स्वामिकार्तिक, र हिमालीले तीज विशेष कार्यक्रममा सघाएका छन् । बुढीनन्दा नगरपालिका ३ का धनबहादुर बोहराले भने, ‘पहिला पहिला तीज अलि ठीकै हुन्थ्यो, अहिले स्थानीय तहले रकम विनियोजन गर्न थालेपछि धेरै भड्किलो भयो । आर्थिक अवस्था कमजोर भएका महिलाहरूका लागि समस्या हुने गरेको देखिन्छ ।’
प्रकाशित : भाद्र १६, २०७६ १०:०६