कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दार्माका भूकम्प प्रभावित बालबालिकामा जन्डिस

दुई दिनअघि मेरो क्लिनिकमा ३५ जना बालबालिका उपचारका लागि आएकामा २२ जनामा जन्डिस देखिएको थियो । -यज्ञबहादुर बस्नेत,स्वास्थ्य शाखा प्रमुख, दार्मा गाउँपालिका
विप्लव महर्जन

सल्यान — भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकाका बालबालिकामा जन्डिस देखिन थालेको छ । गर्मी र दूषित पानीका कारण बालबालिकामा जन्डिस देखिन थालेको हो । दार्मा गाउँपालिकाका–६ मा रहेका आठवटै स्वास्थ्य संस्थामा बिरामी बालबालिकाको संख्या बढेको छ । सबै स्वास्थ्य संस्थामा जन्डिसको परीक्षण सुविधा नभएकाले बिरामीले रगत परीक्षण तथा उपचारका लागि निजी क्लिनिक, जिल्ला अस्पताल सल्यान र पश्चिम रुकुमको चौरजहारीस्थित मिसन अस्पताल धाउनुपरेको छ । 

चर्को गर्मी र केही दिनअघिको वर्षात्ले पानीका मुहान दूषित भइरहेका कारण बालबालिकामा जन्डिस भएको हुन सक्ने दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । जन्डिस सरुवा रोग भएकाले एकअर्कामा सरिरहेको उनले बताए । उनका अनुसार पालिकाभरि ५ वर्षमुनिका झन्डै १ हजार ७ सय बालबालिका छन् । सातायता एक सयभन्दा बढी बालबालिका जन्डिस देखिएको उनले बताए ।

बालबालिकामा वान्ता हुने, खान नरुच्ने, दुब्लाउँदै जाने समस्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए । ‘दुई दिनअघि मेरो क्लिनिकमा ३५ जना बालबालिका उपचारका लागि आएका थिए, तीमध्ये २२ जनामा जन्डिस देखिएको थियो,’ उनले भने, ‘पालिकाभित्रका स्वास्थ्य संस्थामा सहज उपचार नभएको र भूकम्पका कारण अधिकांश परिवार आर्थिक मारमा परेकाले बालबालिकाको उपचार गराउन गाह्रो भएको छ ।’

गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले यहाँका विभिन्न घरमा क्षति पुगेपछि पीडित परिवार अस्थायी टहरामा बस्न बाध्य छन् ।

भल्चौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी गीता केसीले बालबालिकामा जन्डिस मात्र नभई झाडापखाला पनि देखिरहेको बताइन् । भूकम्पपछि खानपानको उचित व्यवस्था गर्न नसक्दा बालबालिकामा विभिन्न रोगको समस्या देखिइरहेको स्थानीय लीला खत्रीले बताइन् ।

भूकम्पले घर ध्वस्त भएपछि अस्थायी टहरामा बसिरहेकी उनले ५ वर्षको छोरालाई जन्डिसको समस्या देखिएपछि आर्थिक अभावका कारण उपचार गर्न कठिनाइ भएको बताइन् । उनले भनिन्, ‘कमाइ छैन । छोरा बेलाबेलामा बिरामी हुँदा उपचार गराउन गाह्रो भएको छ ।’

प्रकाशित : जेष्ठ २५, २०८१ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×