कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

समृद्धिको यात्रामा तातोपानी 

डीबी बुढा

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नागरिकलाई घरदैलोको सरकारको अनुभूति दिलाउन सक्षम भएको निष्कर्ष निकालेको छ । बजेटको अभाव, कठिन भुगोल र साधनस्रोतको सीमितताका बीचबाट नागरिकका अधिकांश आवश्यकता पूरा गरेको जनाएको हो । 

समृद्धिको यात्रामा तातोपानी 

२०७९ को स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिहरुले गरेको कामको विवरण सार्वजनिक गर्दै तातोपानी गाउँपालिकाले छोटो समयमै स्थानीय सरकारको अनुभूति जनता सम्म पुर्‍याउन सकिएको दाबी गरेको छ ।

सो अवसरमा आर्थिक वर्ष (२०७९/०८० र २०८०/०८१) मा सम्पादन भएको उत्कृष्ट काम सार्वजनिक गरेको थियो । जिल्लाको एक नगरपालिका र सात गाउँपालिका भन्दा नयाँ कामको सुरुवात गरेको अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

उनका अनुसार असारे विकासको प्रवृत्तिलाई पुर्ण रुपमा निरुत्साहित गर्न सक्नु नै तातोपानीको मुख्य उपलब्धि हो । प्रत्येक आर्थिक वर्षको वैशाख मसान्तभित्रै योजनाहरुको अन्तिम भुक्तानी गर्ने नीतिले जनस्तरमा सकारात्मक सन्देश फैलाउन मद्धत गरेको उनले बताए ।

तातोपानी टाइम्स कार्यन्वयन गर्नु, पालिकालाई खादामुक्त गर्नु, श्रम संस्कृतिको विकास गर्न र योजनाहरुको लागत घटाउन तातोपानीमा हरेक महिनाको दोस्रो शनिबार श्रमदान अभियान चलाउनुलाई पनि आफूले उपलब्धिकारुपमा बुझेको उनले बताए ।

तातोपानीले दुइ वर्षमा मानसिक सन्तुलन गुमाएर सडक मानवको जीवन बिताइरहेका ६ जना नागरिकको उद्धार गरेर पुनर्स्थापना गरेको छ । गाउँपालिकाको आन्तरिक आयस्रोतबाट पालिकाको प्रशासनिक भवन निर्माण गरेको छ । २५ वटा कानुन बनाएर कार्यान्वयनमा ल्याएको छ ।

अध्यक्ष चौलागाईले भने, ‘पालिका भित्रको आवश्यकता, जनताको मागका आधारमा विकास निर्माणका क्रियाकलाप भइरहेको छ । जसले नागरिक र सरकारबिचको सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको छ।’

विपन्न नागरिकका लागि नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु, बृहत स्वास्थ्य शिविर सञ्चालन गरेर रकम अभावका कारण अस्पताल सम्म पुग्न नसकेका बिरामीहरुको उपचार गर्नुका साथै नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुले पनि स्थानीय सरकार प्रतिको समुदायको छाप निकै राम्रो परेको छ ।

शिक्षामा गुणस्तर सुधारका लागि हरेक विद्यालयमा शैक्षिक कर्मचारी, विद्यार्थी-शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपनि उपलब्धिका रुपमा हेरिएको उनले बताए । प्रतिबेदनमा तातोपानी गाउँपालिका भित्र रहेका ३ हजार ३ सय घरधुरीको घर बिमा गरिएको देखाइएको छ ।

जुम्लाकै ठुलो र सुन्दर ताल गिडिदह सम्मेल गरी क्षेत्रफल समेत सार्वजनिक गरिएको छ । गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२ दशमलव ३ मिटर रहेको छ । दुई आर्थिक वर्ष भित्रमा भौतिक पुर्वधार तर्फ १० वटा विद्यालय भवन, २ वटा वडा कार्यालय भवन, १ प्रशासकीय भवन, ३ वटा सार्वजनिक शौचालय, ३ वटा काठेपुल निर्माण, २ वटा झुलेंगे पुल, ७ किमि सडक निर्माण, २४ किमि गोरेटो बाटो निर्माण, २५२८ घरधुरीमा खानेपानी मर्मत तथा निर्माण गरिएको छ ।

चालु आर्थिक वर्षमा योजना क्षेत्रमा ९९ प्रतिशत भौतिक प्रगति गरिएपनि विविध कारणले ५८ प्रतिशत मात्रै योजनाको अन्तिम भुक्तानी भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।

‘योजनाको भौतिक प्रगति ९९ प्रतिशत छ, तर रोपाईं, घरायसी कामको चटारो र यार्सा टिप्ने लहरले भुक्तानी भने कम भएको छ,' उनले भने । पालिकामा चालु आर्थिक वर्षमा ७ वटा योजनाहरु ठेक्का मार्फत सञ्चालन भएको कठायतले बताए । कर्मचारी, जनप्रतिनिधि र नागरिकका सम्बन्ध सुधारलाई ठुलो उपलब्धिका रुपमा पालिकाले दर्ज गरेको छ ।

गाउँपालिकाको पहिचान झल्किने पालिका गान र लोगो निर्माण, गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा डिजिटल हाजिर जडान र सोको कार्यान्वयन, घर बिमा कार्यक्रम लागु, जेष्ठ नागरिकलाई न्यानो कपडा तथा अति विपन्न विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण, सहयात्रा तेस्रो परियोजना लागु, विपद्‌बाट प्रभावित नागरिकका लागि तत्काल राहत वितरण, ५१२ घरधुरी सुरक्षित नागरिक आवास कार्यक्रमबाट लाभान्वित, सञ्चार सेवामा आम नागरिकको पहुाचमा वृद्धि लगायतका उपलब्धिहरु दुई वर्षभित्र हासिल गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १८, २०८१ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×