कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

आम्दानीको स्रोत बन्दै ‘ढटेलो’

डीबी बुढा

जुम्ला — जंगलमा पर्याप्त भेटिने काँडेदार बिरुवा ढटेलो पछिल्लो समय स्थानीयको आम्दानीको स्रोत बनेको छ । ढटेलोको दानाभित्रको बियाँबाट तेल निकाल्न सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । राम्रै भाउमा सहजै बिक्री हुन थालेपछि यहाँका महिलालाई ढटेलो संकलन गर्न भ्याइनभ्याइ छ ।

आम्दानीको स्रोत बन्दै ‘ढटेलो’

जुम्लाका ग्रामीण बस्तीका बासिन्दा एकाबिहानै ढटेलो टिप्न निस्केर अबेर मात्र घर फर्कन्छन् । काँडेदार बिरुवा भएकोले दाना टिप्न हातमा पञ्जा र लठ्ठी बोकेर किसानहरु ढटेलो टिप्न जाने गरेको स्थानीय जयबहादुर कठायतले बताए ।

चन्दननाथ नगरपालिका–४ की मुनकौरा बुढा ढटेलोको तेल बेचेर परिवारको रोजीरोटी जुटाउने गरेको बताउँछिन् । उनले गत वर्ष ३५ लिटर ढटेलोको तेल निकालेको बताइन् । प्रतिलिटर एक हजारमा तेल बिक्री भइरहेको थाहा नपाउँदा घरमै प्रयोग गरेको उनले बताइन् ।

यतिबेला टिप्ने सिजन भएकोले झण्डै ४० देखि ५० लिटर तेल निकाल्न मिल्ने गरी ढटेलो टिपिसकेकी छन् । ‘बजारमा महंगोमा तेल बेचिन्छ भन्ने थाहा थिएन । यो वर्ष तेल निकालेर बजारमा लैजान तयारी गरेकी छु,’ उनले भनिन् ।

कतिपयले बाबुबाजेकै पालादेखि मानिसहरुले ढटेलोको तेल निकालेर दियो बाल्ने, मालिस गर्ने, तथा खानेतेलको रुपमा प्रयोग गरिरहेका थिए । साथै मन्दिरमा चढाउनको लागि शुद्ध तेलको रुपमा समेत प्रयोग गरिन्छ ।

‘पहिले ढटेलोले तेलको आवश्यकता पुर्ति गर्यो । बिस्तारै उपेक्षित बनेको थियो, भाउ राम्रो पाएपछि धमाधम टिपिरहेका छन्,’ उनले भनिन्,‘लगानी बिना मिहनेतकै भरमा तेल उत्पादन गरेर बेच्न सके राम्रै आम्दानी हुने गरेको छ ।’

ढटेलोको विरुवा जिल्लाको सबैजसो गाउँमा पाइन्छ । पछिल्लो समयमा किसानहरुले ढटेलोको विरुवा स्याउको बगैंचा वरिपरि लगाएर घेरबार समेत बनाएका छन् । चन्दननाथ–४ की उर्मिला कार्कीको घरमा अहिले पनि ढटेलोको तेल प्रयोग हुन्छ । जसले आयतित तेलको प्रयोगमा कमी ल्याएको छ । गत वर्षमात्रै २० लिटर ढटेलोको तेल निकालेकी उनले यो वर्ष ३० लिटर निकाल्ने योजना बनाएकी छन् ।

चन्दननाथ–५ का आनन्द अधिकारीले यो बर्ष मात्रै ६० लिटर बेचेका छन् । उनले प्रतिलिटर एक हजारमा तेल बेचेको बताए । उनका अनुसार चार किलो दानाबाट एक लिटर तेल निस्कन्छ । जिल्लामा ६० हजार लिटर भन्दा बढी तेल बनाउन सकिने गरी ढटेलो संकलन गर्न सकिने उनले बताए । जसबाट वर्षेनि ६ करोड रुपैयाँ कमाउन सक्ने उनको अनुमान छ ।

२ मिटरसम्म उचाइ भएको ढटेलोको बिरुवाको भदौदेखि दाना लाग्न सुरु भएर चैतदेखि टिप्न मिल्ने गरेर पाक्छ । प्रायः सुक्खा तथा कम पानी पर्ने ठाउँमा ढटेलो हुर्कने गरेको छ । आयुर्वेद चिकित्सकहरुका अनुसार शरीरका विभिन्न अगं तथा जोर्नीको दुःखाई कम गर्न र बाथरोगका बिरामीलाई यसको तेलले मद्दत गर्छ ।

बेवारिसे अवस्थामा हुर्केको ढटेलोको दानाबाट तेल निकाले मनग्ये आम्दानी हुन सक्ने भए पनि स्थानीय सरकारले कुनै चासो देखाएको स्थानीयको गुनासो छ । किसानले ढटेलो पेल्ने मिल समेत पाउन नसकेर परम्परागत तरिकाले हातैले पेल्ने गरेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०८१ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?