२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु 

डीबी बुढा

जुम्ला — जुम्ला विमानस्थल विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु 

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो । जुम्ला नागरिक उड्डययन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।

जग्गा अधिग्रहणका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको छ । ‘जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्न प्रक्रिया सुरु भएको प्रमुख अधिकारीले जानकारी दिए ।

प्राधिकरणलाई स्विकृति प्रदान गर्ने भनी मन्त्रिपरिषद्को २०८० जेठ २ गते निर्णय भएको ब्यहोरा उल्लेख गरिएको छ । निर्णय कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ०८० जेठ १० गतेको पत्रमार्फत लेखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले ०८० जेठ २३ गतेको पत्रअनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ (२) बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी प्रारम्भिक कारबाही चलाउने र प्रारम्भिक अधिकारीले सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि सूचना दिनुपर्ने व्यवस्थाअनुसार पत्र सार्वजनिक गरिएको उनले जनाए ।

विमानस्थल विस्तार र टर्मिनल भवनको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएसँगै मझौला खाले जहाज अवतरण गर्न मिल्ने आशा गरिएको छ । यसअघि जुम्ला विमानस्थलमा फ्युल सेन्टर स्थापनाको लागि आवश्यक जग्गा छनौटका विषयमा अनुगमन गरेर नेपाल आयल निगम र नेपाल नागरिक उड्ययन कार्यालयको टोली फर्किएको छ ।

प्रकाशित : मंसिर १०, २०८० २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?