कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जाजरकोट भूकम्प : मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले तत्काल २ लाख दिने

तृप्ति शाही

वीरेन्द्रनगर — जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण ज्यान गुमाएका परिवारलाई कर्णाली सरकारले २ लाख रुपैयाँ दिने भएको छ । 

जाजरकोट भूकम्प : मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले तत्काल २ लाख दिने

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत दिने निर्णय गरेको हो । प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा शुक्रबारसम्म १५४ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश सरकारले भूकम्पमा घाइते भएकाहरूलाई पनि उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

घाइतेहरू उपचार खर्च कार्यविधिअनुसार दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । घाइतेको प्रकृति हेरेर खर्च दिने निर्णय भएको मन्त्री जिसीले जानकारी दिए । उनका अनुसार तिहारपछि घाइतेले उपचार खर्च पाउने छन् । यस्तै मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तत्काल किरिया खर्च पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

एक जना मृतक भएको परिवारले २५ हजार रुपैयाँ किरिया खर्च पाउनेछन् । परिवारका सबै जना मृतक भएको खण्डमा त्यस्ता परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्चबापत दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण भत्किएका संरचनाहरूको पुनर्निर्माणका लागि संघीय सरकारसँग सहयोग माग्ने निर्णय गरेको छ । प्रभावित क्षेत्रमा स्थायी संरचनाहरू निर्माणका लागि आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारले संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पीडितका लागि अस्थायी आवास निर्माणको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिने निर्णय भएको छ । यसका लागि आवश्यक पर्ने बजेट पनि भौतिक मन्त्रालयलाई कार्यादेश दिने निर्णय भएको छ ।

प्रकाशित : कार्तिक २४, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×