कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जुम्ली किसानलाई काली मार्सी धान भित्र्याउने चटारो

डीबी बुढा

जुम्ला — विश्वको उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन यतिबेला किसानलाई भ्याइनभ्याइ छ । दसैंको घटास्थापना देखि मार्सीधान भित्र्याउन सुुरु गर्ने परम्परा छ ।

जुम्ली किसानलाई काली मार्सी धान भित्र्याउने चटारो

किसानहरू पहिले धान काटेर खेतमा सुकाएपछि मात्र बाला चुट्ने गर्छन् । अहिले मार्सीधानका फाँटहरुमा किसानहरु धमाधम धान चुटिरहेको र भित्र्याइरहेका भेटिने गरेका छन् । तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले मार्सीधानको परीक्षण भएको लाछु जिउलोमा धान काट्न सुरु भएको बताइन् ।

उनले भनिन्,‘मार्सीधानमा रोग लागेको छ । रोगको उपचारको लागि अनुसन्धान आवश्यक छ । जसले मार्सीधानको महिमा बढ्ने र बजारमा निरोगी धानको चामल पुर्याउन सकिने अवस्था रहन्छ । अनि मात्रै मार्सीधानको संरक्षण हुन सक्छ ।

जुम्लामा चन्दननाथ १ र ३, लेकाली १ र ३ जातको उन्नत धानसँगै मार्सीधानको खेती हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा २ हजार ९ सय ५० हेक्टरमा धानखेती भइरहेको बताउँछन् । उनका अनुसार वर्षेनी ६ हजार ३ सय ७७ मेट्रिक टन धान उत्पादन हुन्छ ।

राणा शासनको समयमा केन्द्रमा रहेका शासकलाई जुम्लादेखि मार्सी धानको चामल हुलाकबाट पठाउने चलन थियो । मार्सीधान संसारको सबैभन्दा उच्च स्थान (२ हजार ८ सय ५० मिटर) उचाइमा रहेको जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा फल्ने गरेको छ । मार्सीधान पाक्न ७ महिनाको समय लाग्छ ।

पहिले कात्तिक पहिलो सातादेखि मात्रै धान काट्न सुरु हुन्थ्यो । अहिले असोज अन्तिम सातामै मार्सीधान पाक्ने गरेको छ । तापक्रम बढ्नु र परम्परागत खेति प्रर्णालीका कारण मार्सीधानमा रोगको संक्रमण बढेको छ ।

स्थानीय किसान अंगदबहादुर बुढाले मार्सीधानमा रोगको संक्रमण बढेसँगै किसान चिन्तित रहेको बताए । उनकाअनुसार जिल्लाका अधिकांस धान फल्ने जिउलाहरु मरुवा रोगको मारमा छन् । स्वादिलो,अडिलो र पोषिलो हुने भएकोले मार्सीधानको चामलको उच्च माग छ । अहिले बजारमा प्रतिकेजी १ सय ५० रुपैयाँमा मार्सी चामलको किनबेच भइरहेको छ ।

सदरमुकाम खलंगामा खोलिएका झण्डै आधा दर्जन कोसेली घरहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु मार्सीचामल किन्नकै लागि भिड लाग्ने गरेका छन् । मार्सी चामल सुर्खेत,नेपालगञ्ज,काठमाडौं,पोखरा,बुटवल लगायतका सहरमा समेत किनबेच हुन्छ ।

मार्सीधानमा लागेको रोगको अनुसन्धान कृषि अनुसन्धान केन्द्र विजयनगरले लामो समय देखि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : कार्तिक ६, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?