नेपाली समाजमा भनिएजस्तो उल्लु (लाटोकोसेरो) अबुझ हुँदैन । अशुभ पनि होइन । बालीनालीमा लाग्ने किरा, फट्यांग्रा र मुसा खाने उल्लु किसानको साथी हो । बुद्धिमान हुने भएरै उल्लुहरूको समूहलाई ‘पार्लियामेन्ट’ भनिन्छ । पोखराका राजु आचार्य लाटोकोसेरोबारेका गलत बुझाइ बदल्न ढेढ दशदेखि सक्रिय छन् । त्यसैले उनले पाएका छन् नयाँ नाम– ‘उल्लु सर’ ।
काठमाडौँ — अबुझ, ढिलो बुझ्ने वा अल्छी भनिएका मानिसलाई नेपालमा लाटोकोसेरोसँग तुलना गर्दै भनिन्छ, ‘कस्तो उल्लु जस्तो ?’ अलच्छिन हुने अन्धविश्वास छँदै छ । लाटोकोसेरोको यही बुझाइ बदल्न ढेढ दशकदेखि सक्रिय पोखराका राजु आचार्यले पाएको नाम हो– ‘उल्लु सर’ ।
नेपाली समाजमा भनिएजस्तो लाटोकोसेरो वा उल्लु अबुझ हुँदैन, बरु वैज्ञानिकले यसलाई बुद्धिमान प्राणी मानेका छन् । अशुभ होइन, बालीनालीमा लाग्ने किरा, फट्यांग्रा, मुसा खाएर किसानको साथी बनेको छ । ग्रिक मिथकमा उल्लुलाई ज्ञानकी देवीको प्रतीक मानिएको छ । यिनीहरू बुद्धिमान हुने भएरै उल्लुहरूको समूहलाई ‘पार्लियामेन्ट’ (व्यवस्थापिका) भनिन्छ । बेलायतमा पढ्दा यही बुझेका आचार्य सन् २००८ मा विश्व लाटोकोसेरो कोषको नेपाल प्रतिनिधि भएर फर्किएयता निरन्तर उल्लु संरक्षणमा सक्रिय छन् ।
एसएलसी सकेपछि विज्ञान शिक्षकका रूपमा ६ महिना विद्यालयमा पढाएका उनले २०४६ मा पोखरास्थित वन विज्ञान अध्ययन संस्थानबाट प्रमाणपत्र तह उत्तीर्ण गरे । त्यसपछि एक वर्ष दोलखाको जिल्ला वन कार्यालयमा रेन्जर भएर काम गरे । त्यतिबेला वन विभागले करारमा रेन्जर भर्ना गर्थ्यो । तत्कालीन मध्यपश्चिमाञ्चलमा लोक सेवाको परीक्षा दिए, तर नाम निस्किएन । फर्किएर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा जागिर गरे ।
एक्यापमा ११ वर्ष बिताएपछि उनले औपचारिक अध्ययनलाई निरन्तरता दिने सोचे । काठमाडौंको स्किम कलेजबाट वातावरण व्यवस्थापनमा स्नातक र स्नातकोत्तर उत्तीर्ण गरे । स्नातकमा चिर कालिज, स्नातकोत्तरमा हिमाली गिद्ध र मानव सम्बन्धमा शोधपत्र तयार गरे । सन् २००६ मा उनी वनमा स्नातकोत्तर अध्ययनका लागि जर्मनी पुगे । जर्मनीबाट बेलायत गएर सन् २००८ मा कृषि वनमा अर्को स्नातकोत्तर सके ।
बेलायत छँदै उनले नेपालमा लाटोकोसेरो संरक्षणमा कुनै काम नभएको भेउ पाए । त्यसपछि उनी विश्व लाटोकोसेरो कोषको स्वयंसेवकका रूपमा नेपाल आए । त्यसयताका १६ वर्ष उनी लाटोकोसेरो संरक्षणमा सक्रिय छन् । ‘मलाई फरक काम गर्न मन लाग्थ्यो,’ उनले भने, ‘बुझ्दै जाँदा नेपालमा लाटोकोसेरोको भयंकर चोरी सिकारी हुने गरे पनि संरक्षणमा कुनै पहल नभएको थाहा पाएपछि यसलाई जोगाउनुपर्छ भन्ने लाग्यो ।’
नेपाल फर्किएपछि उनी धादिङ राष्ट्रिय संरक्षण तथा विकास केन्द्रमा आबद्ध भएर सामुदायिक वनका काम गरे । मानव वन्यजन्तु द्वन्द्वमा अनुसन्धान गरे । उनले सन् २००५ मै संरक्षणकर्मी राजेश आचार्य, यादव घिमिरे, राम लामा लगायतसँग मिलेर फ्रेन्ड्स अफ नेचर (प्रकृतिका साथीहरू) संस्था स्थापना गरेका थिए । नेपाल आएर उनी लाटोकोसेरोको अनुसन्धानमा मुस्ताङदेखि हुम्लासम्म पुगे । उनले गाउँ–गाउँ घुमेर तथा अध्ययन गरेर लाटोकोसेरोबारे जानकारी बटुल्न थाले ।
लाटोकोसेरोको अवैध व्यापार र सिकारको सञ्जालबारे थाहा पाउन उनी ग्राहक पनि बने । तस्कर र दलालको अभिनयसमेत गर्नुपरेको उनलाई सम्झना छ । त्यतिबेला उनले नेपालबाट चीन, भारत, मध्यपूर्वी एसियाका भियतनाम, थाइल्यान्ड, मलेसियालगायत देशमा लाटोकोसेरोको अवैध व्यापार हुने गरेको थाहा पाए । ‘हाप्सिलो, हुचिल वा हुद्रुङ पनि भनिने लाटोकोसेरोको मासुको सुप खायो भने क्यान्सर निको हुन्छ भन्ने भ्रम रहेछ,’ उनले भने, ‘यो कतै प्रमाणित छैन । कुखुराको मासुको सुप खाएजस्तै हो ।’
मुस्ताङमा घरको ढोकामा मरेको लाटोकोसेरो राखे भूतप्रेत नआउने अन्धविश्वास रहेको, हड्डीलाई तान्त्रिकले प्रयोग गरेको उनले भेटे । घरमा अवैध रूपमा लाटोकोसेरो पाल्नेलाई सम्झाउने, छोड्न लगाउने, छोड्न मानेन भने वन कार्यालयमार्फत कारबाही गराउने कार्य उनले गरे । उनको अनुभवमा सम्झाइबुझाइ गरेपछि ९९ प्रतिशतले त्यसरी पालेको लाटोकोसेरो छाडिदिन्थे । उनी स्वयंले १ सय ५० भन्दा बढी लाटोकोसेरोको उद्धार गरेका छन् ।
लाटोकोसेरो तथा हुचिल संरक्षणसम्बन्धी अभियानका लागि उनले लाटोकोसेरो तथा हुचिलका विषयमा पर्चा–पम्प्लेट बनाएर बाँड्दै हिँडे । धेरैलाई ज्ञान पनि दिए । स्कुल तहबाट संरक्षणको चेतना जागृत गराउन विद्यार्थीमाझ अभियान चलाए । छोटो समयमै लाटोकोसेरो संरक्षणसम्बन्धी उनको काम देखेर सन् २०११ मा उनलाई अमेरिकामा आयोजना गरिएको विश्व लाटोकोसेरो महोत्सवमा निम्ता गरियो । त्यहाँ अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्रले उनलाई स्पेसल अचिभमेन्ट अवार्डबाट पुरस्कृत गर्यो ।
लाटोकोसेरो संरक्षणमा काम गरेबापत उक्त संस्थाबाट पुरस्कृत हुने उनी एसियाकै पहिलो व्यक्ति हुन् । सन् २०१२ देखि उनले नेपालमै लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गर्न थाले । उनी कार्यकारी निर्देशक रहेको संस्था फ्रेन्ड्स अफ नेचरले धादिङबाट सुरु गरेको यो उत्सवको ११ संस्करण पूरा भइसकेको छ । महोत्सवकै क्रममा नवलपरासीको अमलटारीमा स्थानीय बासिन्दाबाट उनले ‘उल्लु सर’ को नाम पाएका हुन् ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरा पाइन्छन् । तीमध्ये नेपालभित्र संकटापन्न ८ प्रजाति छन् । विश्वव्यापी रूपमा संकटापन्न लाटोकोसेरो नेपालमा छैनन् । तराईदेखि हिमालमा समुद्री सतहदेखि ५ हजार २ सय मिटरसम्मको उचाइमा उनले लाटोकोसेरो भेटेका छन् । वन्यजन्तुको संरक्षणमा लाग्दा उनी कैयौंपल्ट जोखिममा परेका छन् । मृत्युको मुखबाट धेरैपल्ट बाँचे । ‘हुम्लामा वन चौंरी खोज्दा पाँच दिनसम्म हिउँमा थुनिएँ । मुस्ताङमा चिर कालिज खोज्दा भीरबाट खसें,’ राजु भन्छन्, ‘चितुवाका लागि थापिएको पासो भत्काउँदा सिक्लेसमा गाउँलेहरूको हप्की पनि खाएँ ।’
प्रत्यक्ष रूपमा ६० हजारभन्दा धेरै मानिसलाई लाटोकोसेरोको महत्त्वबारे जानकारी गराएका राजुले लाटोकोसेरोसम्बन्धी ५ पुस्तक प्रकाशन गरेका छन् । उनी लाटोकोसेरोसम्बन्धी डिजिटल पत्रिका ‘हप्सिलो’ का सम्पादकसमेत हुन् । उनका १ सय २५ भन्दा बढी प्रकृतिसम्बन्धी लेख प्रकाशित छन् । नेपालका ६८ जिल्ला घुमेका उनले हजारौं विद्यार्थीलाई लाटोकोसेरो संरक्षण गर्न प्रेरित गरेका छन् । नेपालको सबैभन्दा ठूलो संरक्षण अभियान नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव उनकै नेतृत्वमा ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
लाटोकोसेरोबाहेक उनले ब्वाँसो, जंगली चौंरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज संरक्षणमा पनि काम गरेका छन् । मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालयका क्षेत्रमा उनको दख्खल छ । अन्य अनुसन्धानकर्मी नपुगेको क्षेत्र तथा प्रजातिको अनुसन्धान र संरक्षणको नेतृत्व गरिरहेका उनी नवीन काम गर्न रुचि राख्छन् । पश्चिममा हुम्लादेखि पूर्वमा संखुवासभासम्मका क्षेत्रमा पुगेर काम गरेका छन् ।
‘प्रकृतिका साथीहरू’ मार्फत उनकै पहलमा सरकारले सन् २०२० मा लाटोकोसेरो संरक्षण कार्य योजना तयार पारेको थियो । उक्त कार्ययोजनाले उल्लुको सिकार, अवैध व्यापार र बासस्थानको क्षतिबाट हुने खतरालाई सम्बोधन गर्छ । लाटोकोसेरो संरक्षणका क्षेत्रमा विगतमा पुर्याएको योगदानको आधारमा समेत बेलायतमा रहेको संस्था ह्विट्ली फन्ड फर नेचरले उनलाई प्रसिद्ध ह्विट्ली अवार्डबाट पुरस्कृत गरेको छ । गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण परियोजनाका लागि उनले ५० हजार पाउन्ड बराबरको पुरस्कार प्राप्त गरेका छन् । बेलायती राजकुमारी एनले वैशाख २० मा लन्डनमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिन् ।
यसअघि सन् २००५ मा चराविज्ञ हेमसागर बराल, २०२२ मा रेड पान्डा संरक्षणमा सोनाम टसी लामा र २०२३ सालक संरक्षणमा काम गर्न तुलसीलक्ष्मी सुवालले यो पुरस्कार पाइसकेका छन् । हरित क्षेत्रको ओस्कार मानिने यो पुरस्कार पाएर आचार्यले नेपालका लागि ‘ह्याट्रिक’ गरेका छन् । नेपाल सरकारले बनाएको १० वर्षे लाटोकोसेरो संरक्षण कार्य योजनाले तोकेका कार्यहरूमा उक्त रकम खर्च हुनेछ ।
उल्लु रूखका टोड्कामा बस्न रुचाउँछन् । पुराना रूख काट्दा उल्लुको बासस्थानमा क्षति पुग्छ । गाउँघरमा गुलेलीको प्रयोगले सिकार गरिनु पनि उल्लुका लागि खतरा हो । गण्डकी प्रदेशको एक तिहाइ भाग वन क्षेत्रले ओगटेको छ । आचार्यको परियोजनाले समुदायको सक्रिय सहभागिताको सदुपयोग गर्दै उल्लु संरक्षणमा सफलता पाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत पाँच स्थानमा गुलेली निषेधित क्षेत्र बनाएर उल्लुको सिकार गर्ने विद्यार्थीलाई गुलेलीको प्रयोगमा निरुत्साहित गर्ने, एक सयवटा संरक्षण शिविर बनाएर विद्यार्थी र सर्वसाधारणमा चेतना जगाउने कार्यक्रम रहेको उनले बताए ।
रूखहरू जोगाउन र कृत्रिम गुँडहरू स्थापना गर्न ‘उल्लु दूत’ लाई प्रशिक्षण दिइनेछ । परियोजनाले उल्लुबारे नकारात्मक धारणा कम गर्ने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत उल्लुको सिकार र व्यापार कम गर्न नियामक निकाय, नीति निर्माता र उल्लु दूतहरूको क्षमता वृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछन् । राजु भन्छन्, ‘यो पुरस्कारबाट गरिने कार्यले प्रकृतिलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
