२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पशु अभियानकर्मीको भिगन क्याफे

चितवनका सुराजन श्रेष्ठ, कल्याणपुञ्ज श्रेष्ठ र सुधा तिमल्सेनाले जिल्लाकै पहिलो भिगन क्याफे सञ्चालनमा ल्याएका छन्, क्याफेमा अन्न र वनस्पतिबाट बनाइने ८२ थरी परिकार पाइन्छन्

चितवन — सुराजन श्रेष्ठ चितवनका चिरपरिचित पशु अधिकारकर्मी हुन् । वन्यजन्तु तथा घरमा पालेका अन्य जीवजनावरको अधिकार र कल्याणका लागि १२ वर्षदेखि सक्रिय सुराजनका मिल्ने साथी हुन् कल्याणपुञ्ज श्रेष्ठ । नाताले सुराजनका मामाका छोरा कल्याण खानपानका सौखिन हुन् । तर खाने कुराले मान्छेको स्वास्थ्य बिगार्न हुँदैन भन्नेमा सजग रहन्छन् । वातावरण विषयमा स्नातक गरेकी सुधा तिमल्सेना पनि अभियानकर्मी हुन् ।

पशु अभियानकर्मीको भिगन क्याफे

उमेरले २६ देखि २९ भित्रका यी तीन युवाले गएको असारदेखि भरतपुरमा एउटा नौलो क्याफे चलाएका छन् । तीनै जनाले माछामासु अन्डा केही पनि खाँदैनन् । माछामासु मात्रै हैन जनावरबाट पैदा हुने दूध, दही, घिउ र मह पनि खाँदैनन् । ‘भेजेटेरियन’ अर्थात् शाकाहारीभन्दा पनि अझ माथिल्लो ‘भिगन’ जीवनशैली अपनाएका छन् तीनै जनाले । भोजनमा अन्न र वनस्पति मात्रै समावेश हुन्छ उनीहरूको ।

‘सेइटन’ हेर्दा मासुको टुक्रा जस्तै हुन्छ । मासु खानेहरू झुक्किन पनि सक्छन्, ‘सेइटन’को छोइला खाँदा । कतिपयलाई लाग्छ कतै ‘बफ छोइला’ त खाइएन भन्ने । ‘सेइटन चिल्ली’ले चिकन चिल्ली बिर्साउँछ । सुराजन, कल्याण र सुधाको ‘भिगन प्याराडाइज क्याफे’को विशेष परिकार नै सेइटनबाट तयार हुने स्न्याक्स आइटमहरू हुन् । भरतपुरमा रहेको यो क्याफेको मेनुमा ६ वर्गका ८२ थरी परिकार छन् । जसको मूल्य २० देखि तीन सय रुपैयाँसम्म छ ।

रत्ननगरका २९ वर्षीय सुराजनले एमबीए उत्तीर्ण गरेका छन् । २८ वर्षका कल्याणपुञ्ज भरतपुर–३ कमलनगरका हुन् । उनले आईटीमा स्नातक गरेका छन् । वातावरण विज्ञानमा स्नातक गरेकी सुधा २६ वर्षकी भइन् । उनी भरतपुर–११ की हुन् । ठाउँ अनि अध्ययन गरेको विषय र उमेर फरकफरक भए पनि उनीहरू तीनै जनालाई मानव स्वास्थ्य, पशु कल्याण र वातावरण संरक्षणको विषयले जोडेको हो ।

कुनै बेला रुचि वा बाध्यताले तीनै जनाले मासु खाए पनि । तर बिस्तारै उनीहरू शाकाहारी हुँदै विशुद्ध शाकाहारी अर्थात् भिगन भए । ‘हाम्रो घरमा त बाबाआमा शाकाहारी नै हुनुहुन्थ्यो । तर हामीलाई माछामासु खुवाउनुभयो । पोषणका लागि त्यसो गर्नुभएको थियो । ०६८ सालमा कक्षा ८ मा पढ्दा मैले खसी काटेको देखें,’ सुधाले भनिन्, ‘त्यसपछि मलाई साह्रै पीडा भयो अनि माछामासु खान छाडें ।’

पशु कल्याण र अधिकारका लागि आवाज उठाउँदै आएका सुराजनलाई भिगन हुन केही गाह्रो भएन । मामाका छोरा कल्याणले कुन खानाले मान्छेको स्वास्थ्य बिगार्दैन भनेर खानपान गर्ने हुँदा भिगन उनलाई पनि उत्तम लाग्यो । यसरी तीन जना ‘भिगन’हरू बेलामौकामा अभियानमा सँगै पनि रहे । तर खाजा खान कतै पस्दा ‘भिगन’ भनेको नबुझेर दूध, दही, घिउ मिसाएर खाना खाजा दिने चलन व्याप्त थियो ।

‘अनि यो अभियानमा हामी नै छौं हामीले नै भिगन क्याफे किन नचलाउने भन्ने सोच आयो,’ सुधाले सुनाइन् । तीन जनाले चार–चार लाख रुपैयाँ जुटाएर गएको असारदेखि क्याफे सुरु गरे । काठमाडौं र अन्य केही सहरहरूमा भिगन अभियान झाँगिइसकेको छ । क्याफे र रेस्टुरेन्ट मजाले चल्न थालेका छन् । तर चितवनमा यी तीन दौतरीको भिगन क्याफे नै पहिलो हो । अहिले बरु सौराहामा पनि केही खुलेका छन् ।

‘सुरुसुरुमा त गाह्रो नै भयो नि, परिकारका लागि सामग्रीहरू जुटाउनै समस्या । तयारी सामान सपिङ मलबाट किनौं महँगो पर्ने, आफैं बनाउँ मेसो ल्याउन समय लाग्यो,’ सुधाले भनिन् । दूधका लागि नरिबल र भटमास प्रयोग गर्दछन् । मासुको झल्को दिने ‘सेइटन’ गहुँको पिठो र गेडागुडीको पिठोको संयोजनबाट तयार हुन्छ । रङका लागि यसमा उनीहरूले चुकन्दर मिसाउँछन् ।

‘यी सामग्रीहरू हामीले तयार गरेर सेफलाई बुझाउनुपर्छ । सुरुसुरुमा हामीले दिन नसक्दा सेफ टिकाउन पनि गाह्रो भयो,’ सुधाले भनिन् । भिगन प्याराडाइज क्याफे खुलेदेखि अहिलेसम्म दुई जना सेफले छाडिसके । अहिले तेस्रो सेफले काम गरिरहेका छन् । तर परिकारका लागि चाहिने सामग्रीहरू तयार गर्न आफूहरू सक्षम भएका कारण अहिले समस्या नरहेको बताउँछन् सुराजन । सेफ र अन्य एक जना बाहिरी कर्मचारी छन् ।

‘हामी पनि टेबलदेखि काउन्टरसम्म सबै सम्हाल्छौं,’ सुराजनले भने । चितवनमा विशुद्ध भिगन साह्रै कम छन् । तर आफ्नो क्याफेमा आउनेमा अचेल अन्य मानिसहरू पनि आउने गरेका सुराजन बताउँछन् । सुधाका अनुसार अध्यात्म क्षेत्रमा लागेका तथा वैष्णव समुदायका व्यक्तिहरू परिवारसहित क्याफेमा आउँछन् । ‘हामी वातावरण, पशु अधिकार र संरक्षण क्षेत्रमा जोडिएका कारण जीवनशैली र खानपान पनि त्यहीअनुरूपको अँगालेका छौं,’ सुराजनले भने, ‘हामी जे खान्छौं, त्यो अरूका लागि पनि स्वास्थ्यवर्द्धक र पोषिलो छ । हामीले आयआर्जन मात्र नहेरी ग्राहकको स्वास्थ्यप्रति पनि सचेत छौं ।’

प्रकाशित : जेष्ठ २, २०८१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?