सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–१३ नं. वडा कार्यालयले वैशाख १४ गते विभिन्न विदेशी भाषा पढाउन ५० प्रतिशत छुट दिने भन्दै सूचना प्रकाशित गर्यो । जसअनुसार वडाका झण्डै ५० युवा छनोट भएका छन् । उनीहरुले अब ५० प्रतिशत छुटमा कोरियन, जापानिज र अंग्रेजी भाषा सिक्नका लागि ३ र ६ महिने कक्षा लिनेछन् ।
लगत्तै १० नं. वडा कार्यालयले पनि १० दिने सूचना प्रकाशित गरेर युवा छनोटको काम गरिरहेको छ भने १६ नं. वडामा आइतबार प्रकाशित सूचनाअनुसार आवेदन संकलन थालिएको छ ।
एकपछि अर्को गर्दै वडा कार्यालयले विदेशी भाषा प्रशिक्षणका लागि प्रतिस्पर्धा गरिरहेका हुन् । जसका लागि एउटा वडाले ३ लाखदेखि १० लाख रुपैयाँसम्म बजेट छुट्याएका छन् । वडाहरुले आईईएलटीएस, पीटीई र टोफल अध्ययनका लागि पनि सूचना प्रकाशित गरेका हुन् ।
जसका लागि कोरियन भाषाअन्तर्गत आधारभूत र एड्भान्स गरी १० हजार, जापनिज भाषाका लागि ५ हजार, रोजगारीका लागि २० हजार रुपैयाँ वडाले व्यहोर्ने सूचनामा उल्लेख छ । त्यस्तै बेसिक र डिप्लोमा कम्प्युटर अध्ययनका लागि ४ हजार ५ सय, अंग्रेजी भाषा ३ हजार ५ सय, आइएलटीएस, पीटीई र टोफल कक्षाका लागि ५ हजार रुपैयाँ उपलव्ध गराउनेगरि सूचना जारी गरिएको छ ।
पछिल्लो समय युवाहरुमा रोजगारी र अध्ययनका लागि विदेश जाने क्रम बढिरहेकाले त्यसलाई सहयोग गर्न भाषा १० नं. वडाध्यक्ष डिलबहादुर रखालले बताए ।
‘युवाको आकर्षण विदेशतिरै छ, त्यसैले उनीहरुको आवश्यक्ता बुझ्न खाजिएको हो,’ उनले भने, ‘भाषाप्रति उनीहरुको कस्तो आकर्षण छ भन्ने बुझ्न पनि उनीहरुल् दिएको आवेदनबाटै प्रष्ट हुन्छ ।’ १३ नं. वडाध्यक्ष दिपेन्द्रराज कोइरालाले पनि युवाहरुलाई यही रोक्न विभिन्न योजना अघि सारिए पनि सफल नभएपछि विदेशी भाषा प्रशिक्षणमा सहभागी गराउन लागिएको बताए ।
तर स्थानीय अगुवाहरु भने त्यसको विरोधमा छन् । ‘वडा सरकारले आफ्नो काम के हो र प्राथमिकता के कुरालाई दिने भन्ने बुझ्नै सकेन,’ स्थानीय शिक्षक कमल शर्माले भने, ‘बरु विभिन्न व्यवसायमा सहयोग गरी युवालाई वडामै रोक्न प्रयास गर्नुपर्थ्यो ।’ यसबाट दीर्घकालीन रूपमा ठूलो असर पर्ने वीरेन्द्रनगर–१० का नरेन्द्र केसीले बताए ।
‘बरु युवालाई कृषि, पशुपालन र साना व्यवसायमा जोडेर एउटा वडामा वर्षमा कम्तीमा १ सय जनालाई रोजगारी दिन सकिन्छ,’ उनले भने, ‘तर हचुवा र इन्स्च्यिुटहरुले दिने कमिसनको लोभमा जनप्रतिनिधिहरुले जथाभावी निर्णय गर्न थाले ।’
भाषा परीषाभन्दा युवाहरुलाई लोकसेवा आयोगका तयारी कक्षामा सहभागी गराउन सकिने उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले विभिन्न सीपमूलक र आयमूलक कार्यक्रमका लागि वडा कार्यालयहरुले नै निर्णय गर्ने भएकाले यसबारे आफूलाई जानकारी नआएको बताइन् ।
प्रकाशित : जेष्ठ २, २०८१ १४:३५