२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विकासका लागि वैदेशिक लगानीको वातावरण बनाउन सरकार लागेको छ : उपप्रधानमन्त्री खड्का

कान्तिपुर संवाददाता

सुर्खेत — उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालमा वैदेशिक लगानीको वातावरण बढाउन सरकार प्रयन्तरत रहेको बताएका छन् । नेपालका छिमेकीको उन्नतिलाई नेपालको विकास र त्यहाँको जनसंख्यालाई नेपालको उत्पादनको बजार बनाउनका लागि सरकारले प्रयत्न गरिरहेको उनको भनाइ थियो । 

विकासका लागि वैदेशिक लगानीको वातावरण बनाउन सरकार लागेको छ : उपप्रधानमन्त्री खड्का

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पनि सरकारले काम गरिरहेको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री खड्काले शनिबार उद्योग वाणिज्य संघ, सुर्खेतले आयोजना गरेको कार्यक्रममा सबै नेपालीको प्रतिनिधित्व गरी संविधान निर्माण गरिएको र त्यसको कार्यान्वयन गर्नुपर्ने पनि बताए ।

मुलुकको चालु आर्थिक वर्षको अर्थ नीति र मौद्रिक नीतिबीच समानता नरहेको भन्ने उद्योगीको गुनासो आएको भन्दै त्यसको समाधानका लागि सम्बन्धित निकायले काम गरिरहेको पनि खड्काको भनाइ थियो । 'अर्थ नीति र मौद्रीक नीतिको बीचमा जति तादाम्यता हुनुपर्थ्यो त्यति हुन सकेको छैन भन्ने गुनासो उद्योग वाणिज्य संघ र उद्योगीले उठाइरहेका छन् । यस विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकसँगै बसेर छलफल चलिरहेको छ,' उनले भने, 'थप के सुधार गर्न सकिन्छ, के सुधार गर्दा अर्थतन्त्रलाई माथि उठाउन सकिन्छ भन्ने किसिमले कुरा भइरहेको छ ।'

प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघ, भारत र चीन भ्रमणमा नेपालमा कसरी वैदेशिक लगानी बढाउन सकिन्छ भन्नेमा पनि केन्द्रित रहेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो । दाहालको चीन र भारत भ्रमणमा नेपालको विद्युत निर्यातको विषयमा सहमति भएको र त्यसले जलस्रोतमा लगानी गर्नेहरू आकर्षित बनेको खड्काले बताए ।

'सरकारले विभिन्न उपाय खोजी विदेशी लगानी कर्तालाई कसरी आकर्षित गर्न सकिन्छ भनेर लागेको छ । मित्र, छिमेकी राष्ट्रलाई मुलुकको विकास र उन्नतिमा कसरी जोड्न सकिन्छ भन्नेमा सरकार अघि बढेको छ,' उनले भने, 'वर्तमान सरकार गठन भइसकेपछि जलस्रोतको क्षेत्रमा ठूलो उपलब्धि भएको छ । भारत भ्रमणमा प्रधानमन्त्रीले नेपालको विद्युत् भारत बेच्ने सहमति भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्रशारण लाइन निर्माण गरेर चीन निर्यात गर्ने सहमति भएको छ ।'

खड्काले विकासका सम्भावना र प्राथमिकताका क्षेत्र के हुन् भन्ने यकिन गरेर अघि बढ्नुपर्ने पनि बताए । उनले विकाससँग जोडिएका संघीय ऐनहरू निर्माण गर्ने काममा सरकार लागेको पनि बताए ।

त्यस्तै, सिंगो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिका विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिए । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

प्रकाशित : आश्विन २७, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?