कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सल्यान जिल्ला अस्पतालमा ‍औषधि अभाव

विप्लव महर्जन
विप्लव महर्जन

सल्यान — जिल्ला अस्पताल सल्यानमा औषधिको अभाव भएको छ । औषधि खरिदका लागि कार्यालयले टेन्डरको आह्वान गरेपनि पछिल्लो समयमा कार्यालय प्रमुख नभएका कारण खरिद प्रक्रिया अघि बढ्न नसकेपछि औषधि अभाव भएको हो । 

सल्यान जिल्ला अस्पतालमा ‍औषधि अभाव

उपचारका लागि आएका विरामी अस्पतालबाट नि:शुल्क पाईने औषधि समेत मेडिकलबाट किन्न बाध्य हुँदै आएका छन । पछिल्लो समयमा जिल्लामा भाईरल ज्वरोका विरामी बढ्दै गएका छन् । जसले गर्दा जिल्ला अस्पताल सल्यानमा दैनिक सय देखि १ सय ५० सम्म विरामी हुने गरेका छन् ।

जिल्ला अस्पतालमा अत्यावस्यक औषधि नहुँदा आफ्ना विरामीको लागि श्रीनगरस्थित मेडिकलबाट किनेर ल्याउनु परेको छत्रेश्वरीका किरण बीसीले बताए । स्वास्थ्य संवेदनशील क्षेत्र भएपनि सम्बन्धित निकाय सर्वसाधारणको स्वास्थ्यका लागि जिम्मेवार नभएको उनले जानकारी गराए ।

‘सम्बन्धित निकाय जिम्मेवार भए हरेक किसिमका विरामीको उपचारका लागि औषधि श्रीनगरस्थित मेडिकलबाट किनेर ल्याउनु पर्थेन’ उनले भने ‘कडा ज्वरोका कारण मैले आफना विरामीलाई जिल्ला अस्पताल ल्याए थिए । कडा ज्वरोका लागि लगाउने ईन्जेक्सन नभएपछि श्रीनगरबाट ल्याउनु पर्‍यो । औषधि लिनका लागि आउजाउ गर्दा झन्डै एक घन्टा लाग्यो पैसाको त कुरै नगरौं’ ।

जिल्ला अस्पताल सल्यानका एमडिजिपी डाक्टर अभिषेक सिंहले कडा ज्वरो भएका विरामीलाई सुई मार्फत् लगाउने औषधि समेत नभएकाले बाहिरबाट किनेर ल्याउनुपर्ने बताए । पछिल्नो समयमा भाईरल ज्वरोका साथै कडा ज्वरोका विरामी बढेकाले तिनिहरुलाई उपचार गर्न कठिनाई भएको उनले जानकारी गराए । ‘अस्पतालका स्टोरमा थोरै औषधि बचेका छन् त्यसले दुई/तीन दिन पुग्ने देखिन्छ । समयमै औषधि नआए अझ समस्या हुने देखिन्छ’ उनले भने ‘अस्पतालले औषधी किन्नका लागि विरामीका आफन्तलाई बाहिर जान नपरोस भनि फार्मेसी समेत सञ्चालनमा ल्याएको छ । फार्मेसीमा समेत अहिले औषधि छैन’ ।

औषधि खरिद प्रक्रियामा ढिलाई भएपछि जिल्ला अस्पताल सल्यानमा आमा सुरक्षा कार्यक्रमका लागि चाहिने, ल्याबमा प्रयोग हुने फार्मेसीबाट बिक्रि गर्ने औषधिको अभाव भएको डा. अर्जुन बुढामगरले बताए । कार्यालय एक महिनादेखि प्रमुखविहिन भएपछि टेन्डर प्रक्रिया अगाडि बढाएपनि खरिद प्रक्रिया नभएकाले औषधिको अभाव भएको उनले जानकारी गराए । ‘पहिलाको कार्यालय प्रमुख पुर्जा आचार्य सरुवा भएर गएपछि म आएको थिएँ तर मैले अहिलेसम्म कार्यालय प्रमुखको जिम्मेवारी पाउन सकेको छैन । जिम्मेवारी पाउन नसकेका कारण मैले चाहेर पनि केही गर्न सकेको छैन’ उनले भने । जिल्ला अस्पतालबाट नि:शुल्क वितरण गरिने ९८ थरीका औषधि मध्ये अहिले स्टोरमा ५० थरिका रहेका उनको भनाई छ ।

प्रकाशित : आश्विन १४, २०८० १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×