२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मेयर-उपमेयरले बजेट कब्जा गरेको वडाध्यक्षहरुको आरोप

डीबी बुढा

जुम्ला — जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कब्जा गरेको वडाध्यक्षहरुले आरोप लगाएका छन् ।

मेयर-उपमेयरले बजेट कब्जा गरेको वडाध्यक्षहरुको आरोप

चन्दननाथ-५ बिर्खबहादुर कार्की, ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर रावत र १० नम्बर वडाका वडाध्यक्ष नवराज शाहीले संयुक्त अपिल निकालेर अहिलेसम्म बजेट बाँडफाँट नगरी मेयर-उपमेयरले मनपरीरुपमा वडामा बजेट पठाउन थालेको प्रति विरोध जनाएका हुन् । 'कम स्रोत साधनका बाबजुद पनि अधिकतम जनताले लाभ लिने पाउने संयन्त्रको विकास गर्नु जनप्रतिनिधिको धर्म हो,' उनीहरुले अपिलमा भनेका छन्, 'जनताले दिएको मत फगत भोट मात्र होइन । इमान्दारीपूर्वक काम गर्नुपर्ने आदेश पनि हो । तर मेयर-उपमेयरका कारण जनताको मतको कदर गरेर अन्यायविरुद्ध उत्रर्नु पर्ने भयो । ’

चन्दननाथ नगरपालिकाका ४ वडाध्यक्षहरुले वडाको आवश्यकताको आधारमा नभई मेयर उपमेयरले मनपरीरुपमा बजेट दिएको उनीहरुले दुखेसो गरेका छन् । 'मेयर-उपमेयरले बजेटमा पार्टी राजनीति मिसाउन खोज्नु भएको छ,' चन्दननाथ-६ का वडाध्यक्ष महतले भने, ‘जसले उनीहरुको पार्टीइतरका जनप्रतिनिधिको हकअधिकार कुण्ठित भइराखेको छ । प्रजातन्त्रमा अल्पमतको कदर हुन्छ । तर अल्पमतको अस्तित्वलाई नकार्दै जबर्जस्ती आफूहरुको निर्णयमात्रै लाद्न खोज्नु निरंकुशता भएको हाम्रो ठहर छ । ’

उनीहरुले वडाको विकासमा मेयर-उपमेयर बाधक बनेको र जग्गा खरिददेखि अनेक बाहना बनाएर बजेट नै कब्जा गरेर वडाको विकास र वडावासीको समृद्धिको चाहना माथि कुठराघात गरिएको भन्दै आक्रोश पोखेका छन् । नगरको सबै बजेट पालिकामा राखेर वडामा जम्मा १६ लाखमात्र पठाउने निर्णय गरेको उनीहरुको आरोप छ । 'यो विषय स्थानीय सरकार सञ्चालन ऐन २०७४ विरुद्ध छ । यो कनिका छरेको जस्तो बजेटबाट वडाको विकास नभई वडावासीहरुबीच मनमुटाव हुने र जनप्रतितिको समेत गरिमा घट्ने निश्चित छ,' चन्दननाथ-१० का वडाध्यक्ष नवराज शाहीले भने,‘यो अपजसको भागिदार मेयर, उपमेयर नै हुनुपर्छ । स्थानीयस्तरमा विकासको मूल फुटाउनुपर्ने जनप्रतिनिधिले कलहको बीउ रोप्नु अत्यन्तै दुःखद् हो । मेयर-उपमेयरलाई आफ्नो स्वेच्छाचारी प्रवृत्ति त्यागेर वडाको विकासमा जुट्न अपिल गर्दछौं ।' नगरपालिकाले गरेको अन्यायविरुद्ध चुप लागेर नबस्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

चन्दननाथ-५ का वडाध्यक्ष बिर्खबहादुर कार्कीले बजेट निर्माण गर्दा मेयर-उपमेयरले कानुन नदेखेको र नियमसँग जान इच्छा नगरेको आरोप लगाए । उनले भने, ‘मेयर-उपमेयरले दम्भ देखाएर बजेटमा एकलौटी गरे । जसले जनताको विकासको चाहना निराशामा बदलियो ।’

उनले बजेट पास गर्न आयोजित गाउँसभाबाटै बदमासी सुरु भएको बताए । 'बन्दसत्रमा मेयर-उपमेयरले असार २४ गते सिस्टम बन्द हुने र अन्य रकमको हिसाबकिताब हुने भएकोले पछि डल्लो बजेट फुटाल्ने भनेका थिए,' उनले भने, 'यहाँ त भत्ताको प्रलोभन देखाएर धमाधम सदस्यहरुलाई हस्ताक्षर गर्न लगाएर एकलौटी कब्जामा लिइसकेका रहेछन् । २ करोड ४५ लाख बजेट डल्लो अवस्थामै थियो । ’

मेयर उपमेयरले वडाको विकास माथ धावा बोलेको समेत आरोप लगाएका छन् ।

प्रकाशित : आश्विन ११, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?