काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले प्रतिशोध साध्न कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियामाथिको पक्राउ स्वीकार्य नभएको बताएका छन् ।
‘आफू दोहारो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीले सही र गलत छुट्टाउनेमा विश्वस्त छु ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो । गृहमन्त्री लामिछानेले गत आइतबार पनि प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गर्दै धम्क्याएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यसअघि पनि पटक-पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउने गरेका छन् ।
