काठमाडौँ — नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरी तत्कालीन राजा 'ज्ञानेन्द्रपथ' अनुसरण गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै अध्यक्ष सिरोहियाको गिरफ्तार गर्नु राम्रो नदेखिएको भन्दै आपत्ति जनाएका छन् ।
‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ उनले भनेका छन्, ‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौं । आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।’
