२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मुन्दुमी संस्कृति अतिक्रमण भएको भन्दै चिन्ता

धनकुटा — किरात राई सांस्कृतिक कलाकार संघले पछिल्लो समय किराती राई समुदायको सांस्कृतिक मुन्दुमी मान्यता विपरीतका गतिविधि भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । 

मुन्दुमी संस्कृति अतिक्रमण भएको भन्दै चिन्ता

संघले मंगलबार धनकुटामा आयोजित कार्यक्रममा उक्त जानकारी गराएको हो । जीवन दर्शन मुन्दुम, भाषा, धर्म संस्कृतिलगायत पक्ष जोगाउने चिन्तामा आफूहरु रहेको भन्दै संस्कृतिमाथि विकृति भित्रन नहुने जनाएको छ । उक्त अवसरमा साकेला सिली तथा गीतजस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मूर्त र अमूर्त संस्कृतिको गलत प्रयोग भएको समेत वितरीत विज्ञप्तिमा उल्लेख गरिएको छ । 'मुन्दुम किरातीहरुको विश्व, जीवन र जगत बुझ्ने दृष्टिकोण हो,' विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो संस्कृतिसँग जोडिएका मौलिक बाजागाजा, भेषभुषा, फेटा, मौलिक चाड साकेला सिली, मुन्दुमी सामग्री तथा चिन्डो आदि मूर्त अमूर्त संस्कृतिको विधिअनुसार प्रयोग गर्न विज्ञप्तिमा जनाइएको छ । मुन्दुम पुर्खाहरुको अनुभवबाट आर्जित विकसित बौद्धिक बिरासत भएकोले यसको वास्तविक मान्यताको अनुशरण गर्न समेत उल्लेख छ ।

उक्त अवसरमा किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष सालिक सतासक राईले आधुनिकताको नाममा किरात समुदायको संस्कृतिमाथि विकृति निम्त्याउन नहुने बताए । पछिल्लो समय मौलिक संस्कृतिका गीत तथा नृत्यमा र्‍याप तथा अन्य प्रकारले प्रभावित बनाउने कार्य भएको उनको तर्क छ ।

'मुन्दुमी मान्यताविपरीत अन्य पोसाक प्रयोग गर्ने क्रमसमेत बढेकोले त्यसबाट मुक्त हुन हामी जुटेका हौं,' उनले भने, 'पगरीलाई समेत मुन्दुमी मान्यताभन्दा फरक हिसाबले प्रयोग गरिएकोले यस्ता कार्य बन्द गरौं ।'

कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राई, किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय सदस्य सुखाकला राई, जिल्ला अध्यक्ष साङगेन राईले समेत धारणा राखेका थिए ।

यसैबीच, किरात राई सांस्कृतिक कलाकार संघको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा साकेला सिली, मौलिक बाजाको प्रयोग तथा नृत्यबारे प्रशिक्षण दिएको छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?