२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सल्यानमा भाइरल ज्वरोका बिरामी बढे

विप्लव महर्जन

सल्यान — सल्यानमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएका छन् । मौसम परिवर्तनसँगै जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरो, रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सल्यानमा भाइरल ज्वरोका बिरामी बढे

जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशमा टाइफाइड, निमोनिया लगायतका बिरामी स्वास्थ्य परीक्षणका लागि आउने क्रम बढेको हो । तीमध्ये धेरैजसो ज्येष्ठ नागरिक र बालबालिकाहरू रहेको बताइएको छ । बिरामीको भीड बढ्दा कतिपय स्वास्थ्य संस्थामा उपचारका लागि सय्या पनि अभाव हुन थालेको बताइएको छ ।

जिल्ला अस्पताल सल्यानमा मात्रै दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल इन्चार्ज डा. अभिषेक सिंहले बताए । उपचारका लागि आउने कतिपयको स्वास्थ्यमा भने जटिल समस्या देखिएको डा. सिंहले बताए ।

‘जटिल समस्या देखिएकालाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौं,’ उनले भने ‘१५ सय्याको अस्पतालमा ४० सय्या राखेर बिरामीको उपचार गर्दै आएका छौं । ज्वरोकै कारण अहिले अस्पतालका सबैजसो बेड भरिएका छन् ।’

कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालका अनुसार उक्त गाउँपालिकाका सबैजसो वडामा बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी परेका छन् । साथै विभिन्न वडाका स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीको भीड बढेको हमालले बताए ।

‘भाइरल ज्वरो र रुघाखोकीसँगै केही बालबालिकामा निमोनिया पनि देखिएको छ । जटिल समस्या भएकालाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गरिरहेका छौं,’ उनले भने । भाइरल ज्वरोको प्रकोप बढेपछि स्वास्थ्य संस्थामा जान नसक्ने वृद्धवृद्धाका लागि घरमै स्वास्थ्य टोली पुगेर सेवा दिने व्यवस्था मिलाउने तयारी गरिएको उनले बताए ।

दार्मा गाउँपालिकाका कतिपय वडामा भने कोरोना भाइरसको लक्षण भएका बिरामी पनि स्वास्थ्य संस्थामा आउन थालेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पहिले दैनिक १० देखि १२ जना बिरामी उपचारका लागि जाने गरेकोमा हाल दैनिक २० देखि २५ जनासम्म उपचारका लागि जाने गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । तर औषधि अभाव हुन नदिन पालिकाबाट पहल गरिएको पनि उनले बताए ।

प्रकाशित : आश्विन ७, २०८० १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?